झाँक्रीको भर पर्दा ज्यान गयो

सप्तरी । धामी–झांक्रीको चक्करमा पर्दा सप्तरीको शम्भुनाथ गाविसमा सर्पदंशबाट एक युवकको मृत्यु भएको छ । सर्पले डसेको थाहा पाएर पनि चिकित्सककहाँ लैजानुको साटो धामीझााक्रीको चक्करमा पर्दा शम्भुनाथ गाविस–४ निवासी भनिलाल सदाका १८ वर्षीय छोरा अमेरिकन सदाको मृत्यु भएको हो ।
गत शनिबार आफ्नै घरमा सुतिरहेका बेला सदालाई विषालु गोमन सर्पले डसेको थियो । उनका परिवारजनले चिकित्सककहाँ लैजानुको साटो स्थानीय धामीझाँक्रीलाई बोलाएर टुनामुनामा समय बिताएकाले उनको मृत्यु भएको स्थानीय गोसाई पासवानले बताए । धामी–झााक्रीको टुनामुनाबाट निको नभएपछि त्यसको भोलिपल्ट अर्थात् आइतबार उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज पुर्‍याइएको थियो । तर, चिकित्सकले उपचार सम्भव नभएको बताएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । प्रतिष्ठानका चिकित्सकले आइतबार मृत घोषित गरेका थिए ।
चिकित्सकले मृत घोषित गरेका सदालाई धामीझााक्रीले पुन: बचाउन सक्छन् भन्ने अन्धविश्वासमा परिवारजनले पुन: सदालाई घरमा ल्याएर धामीझाँक्रीलाई टुनामुना गर्न लगाएका थिए । धामीझाँक्रीको भरमा परेर मृतक सदालाई तीन दिनसम्म घरमै राखेर सोमबार दाहसंस्कार गरिएको स्थानीय रामपृत पासवानले बताए । (सौस)

प्रतिक्रिया