भट्टराईलाई अनुवाद पुरस्कार

काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रा.डा. गोविन्दप्रसाद भट्टराई अन्तर्राष्ट्रिय स्तरको अनुवाद पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिलगढी (भारत) च्याप्टरले पहिलोपटक प्रदान गर्न लागेको ‘युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार’ अनुवादक प्रा.डा. भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको हो । भारु २१ हजार राशीसहित अंगवस्त्र तथा स्मृतिचिन्ह प्रदान गरिनेछ । सो निर्णय च्याप्टरकी अध्यक्ष लतिका जोशीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सो पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा सूचना संवाद सञ्जालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गरेकी हुन् । यस पुरस्कारको जुरी संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार साहित्यकार राधेश्याम लेकालीले सो पुरस्कारका लागि डा. गोविन्दराज भट्टराईको नाम सिफारिस गरेका थिए ।

वि.सं. २०१० साउन १२ गते च्याङ्थापु, पाँचथरमा जन्मिएका डा. भट्टराईका उपन्यास, कथासंग्रह, निबन्धसंग्रह, समालोचना गरी दर्जनौं कृति प्रकाशित छन । यस्तै, उनका अनुवाद र सम्पादनका दर्जनौं कृति पनि प्रकाशित छन । डा. भट्टराईका उपन्यास मुगलान (२०३१), मणिपुरको चिठ्ठि (२०३४), सुकरातका पाइला (२०६३) सुकरातको डायरी (२०६८) रहेका छन । यसैगरी यात्रा–निबन्धमा एक्लै एक्लै एक्लै (२०६०), विश्वविद्यालयमा अग्निपूजा (२०६१), सँगै बसौँ यो रात (२०६४), गोधूलीमा दश पाइला (२०६६), मिर्मिरेमा दश पाइला (२०७०), आराधना (२०७६) अंग्रेजी निबन्धसंग्रह पिल्मिग्रेजिजबाट (अनुदित) मेरो पहिलो बेलायत यात्रा (२०७६) प्रकाशित छन् ।

यसैगरी कविताकृतिमा एक कल्प (२०७१) र भूकम्प प्रार्थना (२०७७) तथा समालोचना ः सिद्धान्त विधामा काव्यिक आन्दोलनको परिचय (२०४९), पश्चिमी बलेँसीका बाछिटा (२०६१), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१), उत्तरआधुनिक ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समयबोध र उत्तरआधुनिकता (२०६९), डायास्पोरा सिद्धान्त र समालोचना भइसकेका छन । यस्तै, जीवनी, आत्मसंस्मरणमा सम्झनाको सागरमा केही दिन (२०७७) प्रकाशित छ ।

डा. भट्टराईका अंग्रेजीमा प्रकाशित कृतिमा एन इन्टरडक्सन अफ लिंगुस्टिक १९८५, मेथोड अफ टिचिङ इंगलिस १९८६, एन इन्टरडक्सन अफ लिटरेचर १९८७, एन इन्टरडक्सन टु ट्रान्सलेसन स्टडिज २०००, पिलग्रिमेजेज –कलेक्सन अफ एस्सेज २०१६ आदि प्रकाशित छन् । यस्तै, डा. भट्टराईका नेपालीबाट अंग्रेजीमा अनुवाद भएका कृतिमा सेलेक्टेड नेपाली एस्से २००३, सेलेक्टेड स्टोरी फर्म नेपाल २००४, स्टोरिज अफ कन्फिक्टि एन्ड वार २००७, डिक्लियरेन्स अफ न्यु गड २००८, कन्टेम्पोरेरी नेपाली पोएमस् २०१३ र भानुभक्तज् नेपाली रामायण आदि रहेका छन् ।

यसैगरी डा. भट्टराईका अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएका कृतिहरु हानी नगरौँ (२०६०), मेरी वी एन्डरसनको (डू नो हार्म १९९९), गान्धी (२०६६) र पूर्वीय सभ्यताः विश्वविख्यात विद्वानहरूको दृष्टिमा (२०६९) रहेका छन । डा. भट्टराईका अरुद्वारा नेपालीमा पनि आधा दर्जन बढी कृतिमा अनुवाद गरेका छन् । डा. भट्टराईले सम्पादन गरेका नेपाली कृति द्वन्द्व र युद्धका कथा (२०६३), पच्चीस नेपाली स्रष्टाका कथा विष्णुविभु घिमिरेसित सह–सम्पादन, पूर्वीय चिन्तन परम्परा (२०६४), आरम्भ अघिका शब्दहरू (२०६४) कृष्णचन्द्रसिंह प्रधानका भूमिका संकलन, निबन्धमा उत्तरवर्ती कालखण्ड (२०६५ प्रा. अभि सुवेदीका निबन्ध), सिमसारका राजदूत (२०६५), मोहन कोइरालाको काव्य प्रकाशक, लेखक (मोहन कोइराला विशेषांक २०६६), झापा दिग्दर्शन (२०६७), कमलराज रेग्मीः विविध आयाम (२०६९), कृष्णभूषण बलका बाँकी रचना (२०७०), पं. कृष्णप्रसाद शर्मा वस्ती स्मृतिग्रन्थ (२०७३), पं. चिदानन्द भट्टराईकृत संक्षिप्त आत्मवृत्तान्त (२०७२ पौष), दमक दर्पण (२०७३) नेपाली वाङ्मय प्रतिष्ठान, समालोचक गणेशबहादुर प्रसाईं स्मृतिग्रन्थ (२०७५), अनुवादक परिचय कोश (२०७५), अनुवाद सन्दर्भ ग्रन्थ (२०७७) आदि रहेका छन । उनले करिब एक दर्जन कृतिमा अंग्रेजीमा सम्पादन गरेका छन् । डा. भट्टराईले यसअघि महेन्द्र विद्याभूषण प्रथम श्रेणी (२०५८), सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीबाट अभिनन्दन (२०६१), अनेसास सर्वाेत्कृष्ट कृति पुरस्कार (२००७), नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान (२०६५) र खेमलाल हरिकला लामिछाने डायास्पोरा पुरस्कार (२०६६ मस्को, रुस) लगायत दर्जनौं पुरस्कर र सम्मान पाएका छन् । डा. भट्टराई अनेसास केन्द्रीय समिति (२०१०–२०१२) को सल्लाहकार समेत थिए ।

च्याप्टरले यसअघि लक्ष्मीकान्त जोशी अनुवाद राष्ट्रिय पुरस्कारको लागि अनुवादक एवं समालोचक डा. जीवन नामदुङलाई प्रदान गर्ने निर्णय गरिसकेको छ । दुवै पुरस्कार आगामी २४ अक्टोबरमा सिलगढीस्थित बर्षाना भवनमा प्रदान गरिने अनेसास सिलगढी च्याप्टर अध्यक्ष लतिका जोशीले जानकारी दिइन् ।

प्रतिक्रिया