गिरी र पटेल लोसपामा प्रवेश

वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित जसपाका सांसदद्वय डिम्पल झा, प्रदेश सांसद प्रल्हाद गिरी ‘गोस्वामी’ र पकहा मैनपुर गाउँपालिकाकी उपप्रमुख कुसुमीदेवी पटेलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उपेन्द्र यादव मधेसको मुद्दा नै छाडेकाले लोसपा रोज्न बाध्य भएको सांसद गिरीले बताएका छन् । उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरमबाट २९ जना निर्वाचित भएका थिए । जसमध्ये गिरी लोसपा रोज्ने पहिलो सांसद हुन् ।

महन्थ ठाकुरनिकट सांसद जितेन्द्र सोनलले दुवै सांसद र उपप्रमुखलाई जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय लगेर सनाखत गराएका हुन् । गिरी र पटेलले तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद र उपप्रमुख हुन् भने झा तत्कालीन राजपाको समानुपातिकतर्फका सांसद हुन् ।

महन्थ ठाकुर पक्षमा रहेको भन्दै मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट उनलाई बर्खास्त गरेका थिए । उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरमबाट यस प्रदेशमा २९ जना निर्वाचित भएका थिए । राजपाका २५ सांसद थिए । यसअघि हिजो जसपाका १० सांसदले लोसपाको पक्षमा सनाखत गराएका थिए । आज झा र गिरी पटेलको सनाखतपछि लोसपामा १२ सांसद पुगेका छन् ।

प्रतिक्रिया