प्रज्ञा समालोचना प्रकाशित

काठमाडौं । समकालीन नेपाली समालोचनाका प्रवृत्ति, चिन्तन र धारका विषयमा केन्द्रित पुस्तक ‘प्रज्ञा समकालीन नेपाली समालोचना’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा आठ जना समालोचकका विचारलाई समेटिएको छ । प्रा.डा. गोपिन्द्र पौडेल र डा. धनप्रसाद सुवेदीले सम्पादन गरेको उक्त कृतिमा निनु चापागाईं, डा.ऋषिराज बराल, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. ताराकान्त पाण्डेय, डा. अमर गिरी, डा. मधुसूदन गिरी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र डा. गीता त्रिपाठीका समालोचना समावेश गरिएको छ ।

पुस्तकका बारेमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, संस्कृति, धर्म, दर्शन आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालका प्राज्ञिक जगत्का समग्र विज्ञहरुलाई समेट्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । उनले मन्तव्यमा लेखेका छन्, ‘देशभित्र र बाहिर रहेका समग्र नेपाली स्रष्टाको छाता भई उनीहरुको ज्ञान र सिपलाई अधिकतम प्रयोग गर्दै उनीहरुलाई प्राज्ञिक स्थान प्रदान गर्न प्रज्ञा प्रतिष्ठान कटिबद्ध छ ।’

यस्तै, उपकुलपति डा. जगमान गुरुङले समकालीन नेपाली समालोचनाको अवस्था, समालोचनालेखनका प्रवृत्ति र यसका आयामलाई बुझ्न पुस्तकले भरपुर सहयोग मिल्ने जनाएका छन् । उनले प्रकाशकीयमा लेखेका छन्, ‘अनुसन्धान र प्रकाशनको प्रक्रियालाई निरन्तरता दिँदै साहित्य (समालोचना र निबन्ध) विभागद्वारा तयार गरिएको प्रज्ञा समाकालीन नेपाली समालोचना नामक ग्रन्थ प्रकाशन गर्न पाउँदा हामीलाई खुसी लागेको छ । नेपाली समालोचनामा सक्रिय रहेका आठ जना विद्वान विदूषीहरुबाट विभिन्न विषयक्षेत्रका बारेमा गरिएको अध्ययन अनुसन्धानमा आधारित प्रस्तुत ग्रन्थबाट समकालीन नेपाली समालोचनाको अवस्था, समालोचनलेखनका प्रवृत्ति र यसका आयामलाई बुझ्न भरपुर सहयोग मिल्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।’

‘यस ग्रन्थमा नेपाली समालोचनाका क्षेत्रका विभिन्न धारबाट अध्ययन गरिरहनु भएका वरिष्ठ समालोचकका रचना समेटिएको छ’

सम्पादक तथा साहित्य (समालोचना र निबन्ध) विभागका प्रमुख प्रा.डा. गोपिन्द्र पौडेलले प्रस्तुत ग्रन्थमा समाकालीन समालोचना देखनका खासखास विषयक्षेत्र र प्रवृत्तिको प्रतिनिधित्व हुने गरी तत्तत् विषयक्षेत्रमा क्रियाशील समालोचकका अनुसन्धानात्मक लेखहरु समावेश गरिएको बताए । उनले भने, ‘समाकालीन नेपाली समालोचना लेखनमा प्रतिबिम्बित भइरहेका विभिन्न धारको प्रतिनिधित्वसमेत यसमा हुनुले प्रस्तुत ग्रन्थ आमपाठकका लागि अध्ययनीय एवम् संग्रहणीय बन्ने छ भन्नेमा हामी विश्वस्त छौं ।’ उनले पुस्तकमा समावेश भएका लेखमा समकालीनताका बारेमा समान धारणा प्रस्तुत हुनुले पाठकीय जिज्ञासाको समेत शमन हुन सक्ने अपेक्षा गर्न सकिने बताए ।

यस्तै, अर्का सम्पादक डा. धनप्रसाद सुवेदीले ग्रन्थमा समावेश गरिएका लेखहरुबाट समकालीन विश्वसाहित्य–समालेचनाका पृष्ठभूमिमा समकालीन नेपाली समालोचनाका मुख्य मुख्य प्रवृत्तिका बारेमा जानकारी प्राप्त हुने बताए । उनले भने, ‘यी समालोचनात्मक लेखहरुमा सम्बन्धित विषयको सैद्धान्तिक आधार, नेपाली समालोचनामा त्यसको प्रारम्भ र विकासको सामान्य पृष्ठभूमि उल्लेख गर्दै समकालीन नेपाली समालोचनामा त्यसको प्रयोग र प्रभावका बारेमा चर्चा गरिएको छ ।’

डा. सुवेदीका अनुसार यस कृतिमा समकालीन नेपाली तथा विश्वव्यापी अवस्था र त्यसले नेपाली समालोचनामा पारेका प्रभाव, समालोचनाका मुख्य सिद्धान्तका सन्दर्भमा समकालीन नेपाली समालोचना, नेपाली समालोचनाको समकालीन प्रवृत्ति, नेपाली समालोचनाको भविष्यको चुनौती र सम्भावना आदिका बारेमा खोजमूलक सामग्री समावेश गरिएको छ । उनले भने, ‘यस ग्रन्थमा नेपाली समालोचनाका क्षेत्रका विभिन्न धारबाट अध्ययन गरिरहनु भएका वरिष्ठ समालोचकका रचना समेटिएको छ ।’ उनले समकालीन नेपाली समालोचनामाथि गरिएको समालोचना कृति भएको बताए । उनले थपे, ‘यस कृतिबाट नेपाली समालोचनाको समकालीन अवस्था स्पष्ट हुन्छ भन्ने मलाई लाग्छ ।’

साहित्य (समालोचना र निबन्ध) विभागको अनुसन्धान परियोजनाअन्तर्गत उक्त पुस्तक तयार भएको हो । विभागीय प्रमुख प्रा.डा. पौडेल र डा. सुवेदीद्वारा सम्पादित उक्त पुस्तकभित्र निनु चापागाईंको ‘माक्र्सवादी सौन्दर्यचिन्तन र मूल्य निरूपणका सन्दर्भ समकालीन नेपाली समालोचना’, डा. ऋषिराज बरालको ‘भूमण्डलीकरण र सांस्कृतिक अतिक्रमणका सन्दर्भमा समकालीन नेपाली समालोचना’, प्रा.डा. कुमारप्रसाद कोइरालाको ‘उत्तरआधुनिकतावादी चिन्तनको प्रभाव र प्रयोगका दृष्टिमा समकालीन नेपाली समालोचना’ शीर्षक समालोचनात्मक लेख समावेश छन् ।

यस्तै, उक्त ग्रन्थमा प्रा.डा ताराकान्त पाण्डेयको ‘समकालीन नेपाली समालोचनाका मूल प्रवृत्ति’, डा. अमर गिरीको ‘बजार अतिवाद र साहित्यमा त्यसको प्रभावका सन्दर्भमा समकालीन नेपाली समालोचना’, डा. मदुसूदन गिरीको ‘समकालीन नेपाली समालोचनाको मौलिक स्वरूप र मूल्य निरूपणका प्रवृत्ति’, प्रा.डा. लक्ष्मणप्रसाद गौतमको ‘प्राज्ञिक उत्तरदायित्वबोधका सन्दर्भमा समकालीन नेपाली समालोचना’ र डा. गीता त्रिपाठीको ‘समकालीन नेपाली समालोचनाका चुनौती र सम्भावनाहरू’ शीर्षकका समालोचनात्मक लेख समेटिएका छन् । ४०० सय पृष्ठको पुस्तकको मूल्य ४१५ रहेको छ ।

प्रतिक्रिया