ऋषिङमा बल्यो बत्ती

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिराले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिंगो गाउँपालिका अन्धकारमय बनेको थियो । सो गाउँपालिकामा मंगलबारदेखि बत्ती बलेको छ । गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा जीवन बिताउन बाध्य थिए । गाउँपालिकाको आठ वटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

अविरल वर्षाले श्रंगपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अघिल्लो महिनाको वर्षात्ले जस्तै गरी क्षति पुगेको उनले बताए । वर्षाका कारण गाउँपालिकाका आठ घरमा पूर्ण क्षति भएको छ । उनले भने, ‘आंशिक क्षति भएका घरको तथ्यांक लिने काम भइरहेको छ ।’ ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भाँसिएर क्षति भएको गाउँपालिकाले जनाएको छ । श्रृंगपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आवतजावतमा कठिनाइ भएको छ । यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएसँगै मानिसको आवतजावतमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब सय मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । त्यस्तै पहिराका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिए । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग जोडदार माग गरिएको उनले बताए ।

प्रतिक्रिया