सुक्खा पहिराले १२ घर जोखिममा

दमौली । तनहुँको भानु नगरपालिका–११ राम्चेमा सुक्खा पहिरो जाँदा १२ घर जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर परेको झरी रोकिएर चर्को घाम लागेसँगै बुधबार बिहानदेखि यहाँ सुक्खा पहिरो जाँदा घर उच्च जोखिममा परेका छन् । बस्तीभन्दा माथिबाट सुक्खा पहिरो खस्दा घरहरू जोखिममा परेको र अझै ठूलो पहिरो जान सक्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘दुर्घटनाको जोखिम रहेकाले ती घरका मानिसलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ’, तिमिल्सिनाले भने ।

यसैगरी केही दिनदेखि परेको निरन्तर झरीका कारण पहिरो जाँदा घिरिङ गाउँपालिका–१ अत्रौलीमा घर जोखिममा परेका छन् । अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घर जोखिममा परेका हुन् । टीकाराम दर्जीको घर पूर्व र रामबहादुर विकको घर पश्चिमतर्फ मोटरबाटो माथिको करिब सय मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा (एमाले) का जिल्ला उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिए । जोखिम बढेपछि स्थानीयवासी रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन् भने टीकाराम र रामबहादुरका घर पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बमबहादुर थापाको घरको पश्चिम तर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ ।

प्रतिक्रिया