एपिएफ र जनकपुर विजयी

काठमाडौं : पोखरामा बुधबारदेखि सुरु भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र क्षेत्र नम्बर–७ जनकपुरधामले विजयी सुरुआत गरेका छन् । एपिएफले घरेलु टोली क्षेत्र नम्बर–८ पोखरालाई १० विकेटले पराजित गर्‍यो भने यु–१९ राष्ट्रिय च्याम्पियन जनकपुरधामले क्षेत्र नम्बर–१ विराटनगरलाई ३४ रनले पराजित गर्‍यो ।
पहिलोपटक राष्ट्रिय च्याम्पियनसिप खेलिरहेको एपिएफका लागि राष्ट्रिय टिमकी सदस्य सरिता मगरले हयाट्रिक गरिन् । समूह ‘बी’ अन्तर्गत टस जिती पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ३१ रन जोडेको थियो । एपिएफले २.५ ओभरमा विनाविकेटक्षति लक्ष्य पूरा गर्‍यो । एपिएफका लागि सीता रानामगरले १३ र मधु थापाले ९ रन जोडे ।
यसअघि पोखराका कुनै पनि खेलाडीले दोहोरो अंक छुन नसक्दा एपिएफका लागि क्षेत्र नम्बर–३ काठमाडौंकी पूर्वखेलाडी सरिताले हयाट्रिकसहित चार विकेट लिइन् भने रुविना क्षत्री र करुणा भण्डारीले समान दुई विकेट लिए । सोनु खड्काको नाममा एक विकेट रहयो । १९आँै ओभरको चौथो बलदेखि लगातार तीन बलमा बोल्डआउट गरी सरिताले हयाट्रिक पूरा गरेकी थिइन् । पोखराका लागि यु–१९ राष्ट्रिय टिमकी सदस्य आरती विडारीले सर्वाधिक ८ रन जोडिन् । सरिता वुमन अफ द म्याच भइन् । राष्ट्रिय टिमका अधिकांश सदस्यलाई अनुबन्धन गरेको एपिएफ महिला क्रिकेटमा दोस्रो प्रतियोगिता खेलिरहेको छ । यसअघि छैटौँ राष्ट्रिय खेलकुदमा सहभागी भएको एपिएफ विजेता भएको थियो ।
समूह ‘बी’ कै अर्को खेलमा जित हात पार्ने क्रममा जनकपुरधामले सानदार बलिङ प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गर्ने क्रममा जनकपुरधामले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७५ रन जोडेको थियो । विराटनगरले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४१ रनमा सीमित भयो । बलिङतर्फ जनकपुरधामका लागि कृतु दाहालले दुई विकेट लिइन् भने सन्तोषी चौधरी, कविता चौधरी र अनुराधा चौधरीले समान एक विकेट लिए । विराटनगरका लागि दोहोरो अंक छुन सफल एक मात्र खेलाडी रश्मी चौलागार्इंले सर्वाधिक १४ रन बनाइन् । रश्मी राष्ट्रिय टिमकी सदस्यसमेत हुन् । पराजित टोलीका अन्तिम पाँच खेलाडीले खाता खोल्न सकेनन् । जनकपुरधामको इनिङमा यु–१९ राष्ट्रिय टिमकी सदस्य ममता चौधरीले १९ रन जोडिन् । शान्ति चौधरी र सरस्वती चौधरीले समान ८ रन जोडे । ममता वुमन अफ द म्याच भइन् । प्रतियोगिताअन्तर्गत बिहीबार विराटनगर र पोखरा तथा एपिएफ र क्षेत्र नम्बर–५ नेपालगन्जबीच प्रतिस्पर्धा हुनेछ । (सौस)

प्रतिक्रिया