सतीप्रथाको विम्ब : ‘झोला’

मेरो मामाघरको हजुरआमा ‘सतीप्रथा’बारे कुरा गरिरहनुहुन्थ्यो । सती चिताबाट भागेका कुरा गर्नुहुन्थ्यो । अनि, कुटीकुटी चितामा राखेर पतिसँगै जलाएको कुरा पनि मैले थाहा उहाँकै मुखबाट थाहा पाएको थिएँ । यी कुरा सुन्दा अरू बेला मलाई सामान्यजस्तै लाग्थ्यो । तर, ०५७ सालको फागुन महिनामा मेरो मन सतीप्रथाको कथाले नराम्ररी चिमोट्यो ।
विराटनगरमा नेपाल र भारतका लेखकहरूको सम्मेलन थियो । मैले पनि सम्मेलनमा सहभागी हुने अवसर पाएँ । अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा भाग लिन पाउनु मेरा लागि खुसीको कुरा थियो । सम्मेलनबाट फर्किंदा बस यात्राभरि सम्मेलनमा भाग लिन पाएको अवसरको नालिबेली आफँैसँग खोतल्न मन लाग्यो । म बाल्यकालमा साह्रै दु:ख पाएको मान्छे † बुबा ०३३ सालमा बित्नुभो । ओहो, मैले आमाको संरक्षण नपाएको भए † आमाको संरक्षण नपाउने अवस्था केलाउन लागेँ, आमाको मृत्यु भएमा, कि आमाले अर्कोसँग बिहे गरेमा † अनि, मेरो मनमा झल्याँस्स सतीप्रथाको सम्झना आयो । बुबाको मृत्युसँगै मेरो आमालाई सती जानुपरेको भए † आफैँसँग विचलित भएँ । आमाको न्यानो काख सम्झिएँ । चन्द्रशमशेरका पालामा सतीप्रथा नहटेको भए † सतीप्रथाको अवस्थासँगै मेरो मस्तिष्कले आमाको संरक्षणबाट विमुख बालबालिकाको भविष्य सम्झियो । श्रीमान् मरेकै कारण जीवन बर्बाद पार्नुपर्ने नेपाली महिलाका त्यो बाध्यताले मनमा विद्रोह जन्मायो । अनि, योजना बनाएँ–मातृ स्नेहबाट वञ्चित ती बालबालिका र अनाहकमा जीवन समाप्त गरिएका ती अवला आमाहरूबारे मैले केही लेख्नै पर्छ ।
बसकै यात्राभरमा मैले सतीप्रथाको नालीबेली मनमनै गुनेँ । त्यही यात्रामा सतीप्रथाबारे केही लेख्ने अठोट गरेँ । साँझ घर पुगेपछि मलाई यात्राका क्रममा मनमा उठेको सतीप्रथाबारे छालले हुत्याइरह्यो । यसबारे लेख्नै पर्छ अठोट गरेँ । घर फर्किएर खाना खाएपछि सम्मेलनको अनुभव बाँड्नतर्फ लागिनँ । बसेर लेख्न थालँे । सतीप्रथालाई पुष्टि गर्ने सामग्री संकलनमा पनि लागिनँ । मैले गरुड पुराण सुनेको थिएँ । धार्मिक पुस्तकहरू पढ्ने त मेरो बाल्यकालदेखिकै बानी थियो । केही इतिसका कुरामा पनि जानकार थिएँ । मैले मेरा पूर्वज्ञानलाई नै मनबाट निकालेँ र कथा बनाएर व्यक्त गरेँ । मेरो लेखन यथार्थ कल्पनाको संरचना शैलीबाट अघि बढ्यो । आफँैलाई सम्झिएर लेखेँ । एकै बसाइमा कथा तयार भयो । भोलिपल्ट साँझमा सीताजीलाई सुनाएँ । उहाँ बोल्न सक्नु भएन । अनि, आमालाई पनि सुनाएँ, त्यतिबेला आफँैले पढ्न सकिनँ । पढ्दै जाँदा बीच–बीचमा भक्कानो छुट्थ्यो । आमा त सम्हालिनै सक्नुभएन । पछि त्यो कथा ‘समकालीन साहित्य’को मैनाली विशेषांकमा छापियो । लाग्छ, मेरो साहित्ययात्रामा लेखिएका कथामध्ये ‘झोला’को विशेष स्थान छ । झोला अहिले धेरैका मोबाइलमा बज्छन् । झोला उपन्यासमा आधारित सिनेमा पनि निर्माण हुँदै छ ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया