महोत्सवमा ‘जुलुङ्गो’ पुरस्कृत

काठमाडौं । चार दिनसम्म सञ्चालन भएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र ‘जुलुङ्गो’ (स्केरक्रो) पुरस्कृत भएको छ । राजेशप्रसाद खत्रीले निर्देशन गरेको यो चलचित्रलाई पुरस्कृत गर्दै भर्चुअल गरिएको महोत्सव सकिएको छ । यस चलचित्रले महोत्सवमा लघु चलचित्रतर्फको उत्कृष्ट जुरी अवार्ड हात पारेको हो । लघु चलचित्रतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ ले समेत अवार्ड जित्न सफल भएको छ ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा रामदास कदावल्लुरको चलचित्र ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको चलचित्र ‘सो ह्वाट इफ गोट्स डाइ’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएका छन् । यस्तै, लोरी फेल्करकको ‘स्पोटेनस’ ले उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले पाएको छ । लेमोह्याङ जेरिमाया मोसेजले निर्देशन गरेको यस चलचित्रले ग्रान्ड जुरी अवार्ड हात पारेको छ । सोसाइटीले महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र प्रदर्शन गरिएको जनाएको छ । महोत्सव अवधिभर निःशुल्क चलचित्र प्रदर्शन गरिएको थियो । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग बहससमेत गरिएको थियो ।

उक्त महोत्सवमा रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब निर्णायक मण्डलमा रहेका थिए । कोरोना कहरले गर्दा सने २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।

प्रतिक्रिया