पानी प्रयोगशालाको सामग्री ‘डेट एक्स्पायर्ड’

नेपालगन्ज, २९ भदौ । पानीको एउटै नमुना परीक्षण नगरी नेपालगन्जमा रहेको क्षेत्रीय पानी परीक्षण प्रयोगशालाले रासायनिक सामग्रीको म्याद गुजारेको छ । ६ लाख रुपियाँ मूल्य पर्ने रासायनिक सामग्रीको म्याद गुज्रिएको छ भने २० लाख रुपियाँबराबर मूल्यका मेसिनरी सामग्री पनि प्रयोगविहीन अवस्थामा अलपत्र छन् ।
प्रयोगशालाभित्र एसिडका बोतल छन् तर एसिड छैन । प्रयोग नै नगरी लामो समयसम्म थन्क्याएर राख्दा एसिड उडेर गएको हो । पानी परीक्षणका लागि आवश्यक किट पनि हराएको छ । ‘हामीसँग भएमध्ये आधाजसो रासायनिक सामग्रीको म्याद गुज्रिएको छ,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख रामकृष्ण भट्टराईले भने, ‘तीन वर्षको म्याद दिँदो रहेछ । हामीले किनेकै पाँच वर्ष भइसक्यो ।’
भट्टराईका अनुसार, लाखौँ मूल्यका पानीको मिटर नाप्ने मेसिन पनि मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । ‘किनेर ल्याएदेखि थन्क्याएर राख्नुपरिरहेको छ । कति त बिग्रिसकेका छन्,’ भट्टराईले भने । खानेपानी तथा सरसफाइ डिभिजनअन्तर्गत रहेको पानी प्रयोगशालाबाट पानीमा हुने हरेक प्रकारका रासायनिक तत्त्व ठीक भए/नभएको पत्ता लाग्छ ।
मध्यपश्चिमका लाखौँ उपभोक्तालाई शुद्ध पानी पिलाउने उद्देश्यले पाँच वर्षअघि प्रयोगशाला स्थापना भएको थियो । स्थापना गर्दा प्रयोगशालामा २८ लाख रुपियाँको लागतमा रासायनिक र मेसिनरी सामग्री ल्याइएका थिए । तर अहिले आधाजसो सामग्री काम नलाग्ने भएपछि फेरि खरिद गर्नुपर्ने अवस्था रहेको डिभिजन प्रमुख भट्टराईले बताए ।
प्रयोगशालाका सिनियर मेकानिक्स नीतेश्वर यादवले पानी परीक्षण नै नगरी प्रयोगशालाका सामग्रीको म्याद गुज्रिएको बताए । ‘सामान्य अवस्थाबाहेक धेरै पानीको नमुना परीक्षण गर्नका लागि हामीसँग सामग्री छैन,’ उनले भने । उनले पानी तान्ने मिटर जाँच्ने झन्डै ७ लाख रुपियाँ मूल्यका मेसिन पनि प्रयोगविहीन अवस्थामा रहेको बताए ।
‘धेरै समय मेसिन थन्क्याएर राख्दा खिया लागेको छ  र जाम भएर खराब भइरहेको छ,’ उनले भने । पानी परीक्षण प्रयोगशाला सञ्चालन नहुँदा सर्वसाधारण आफूले प्रयोग गरिरहेको पानी ठीक भए/नभएको जाँच्न काठमाडौं धाइरहेका छन् । खानेपानी तथा सरसफाइ डिभिजनले स्थानीयस्तरमै पानी जाँच्ने व्यवस्था गर्न प्रयोगशाला स्थापना गरेको हो ।
तर केन्द्रबाट स्पष्ट निर्देशन नआउँदा पानी परीक्षण गर्न नसकेको डिभिजन प्रमुख भट्टराईले बताए । ‘यसको सञ्चालनका लागि केन्द्र र क्षेत्रस्तरमा सञ्चालक समिति बनाउनुपर्छ । त्यो अहिले नबनाएकाले सञ्चालन हुन नसकेको हो,’ उनले भने ।
प्रयोगशाला सञ्चालनका लागि तीन केमिस्ट र एक सिनियर मेकानिक्सको पदपूर्ति गरिएको छ । कामै नभएपछि उनीहरू दिनभर कार्यालयमा बसेर त्यत्तिकै दिन कटाउने गर्छन् । प्रयोगशाला सञ्चालनका लागि क्षेत्र र केन्द्रमा सञ्चालक समिति तत्काल गठन हुनुपर्ने र बजेट पनि दिनुपर्ने डिभिजन प्रमुख भट्टराईले बताए । ‘अहिले भएका रासायनिक सामग्री प्रयोगमा ल्याउन मिल्नेछैनन् । फेरि खरिद गर्नका लागि स्थानीयस्तरमा हामीसँग बजेट छैन,’ डिभिजन प्रमुख भट्टराईले भने ।

प्रतिक्रिया