इलाम । जिल्लको माङसेबुङ गाउँपालिकाले अब आफ्नै एम्बुलेन्समार्फत जनतालाई सेवा दिने भएको छ । नेपाल– भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय दूतावासले उपहारस्वरूप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो । भारतीय राजदूत विनय मोहन क्वात्राले सो एम्बुलेन्सको साँचो माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोलाई हस्तान्तरण गरेका थिए । एम्बुलेन्स माङसेबुङ गाउँपालिकाको नाममा नामसारीसमेत भइसकेको छ । प्रदेश नम्बर–१ ०१००१ झ २२५ नम्बर कायम भएको छ ।
गाउँपालिका अध्यक्ष इदिङ्गोले एम्बुलेन्स सञ्चालनसम्बन्धी कार्यविधि बनाएर गाउँपालिका आपैmँले सहुलियत दरमा सञ्चालन गर्ने बताए । ‘अब आफ्नै एम्बुलेन्स भएपछि गर्भवती महिला, ज्येष्ठ नागरिक अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सेवा दिन्छौँ । अन्यको हकमा समेत जिल्ला दररेटभन्दा सहुलियतमा सेवा दिन्छौँ’, अध्यक्ष इदिङ्गोले भने, ‘हामी माङसेबुङवासीसँगै छिमेकी फाकफोकथुम र चुलाचुली गाउँपालिकाका बिरामीलाई समेत सेवा दिनेछौं ।’
अध्यक्ष इदिङ्गोले कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीमा घण्टौ समय खर्चिनुपर्ने बाध्यता समेत अन्त्य भएको बताए । ६ वटा वडा रहेको माङसेबुङमा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान इलामको मंगलबारे, झापाको दमक, पाँचथरको रविबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो ।
प्रतिक्रिया