काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७८’ २ वैशाखबाट हुने भएको छ । ललितकला क्षेत्रको महोत्सवका रुपमा चिनिने यो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ । पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरेपछि हुन लागेको यो प्रदर्शनी यसपटक स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए ।
राष्ट्रिय ललितकला प्र्रदर्शनीलाई सफल र भव्य बनाउनका लागि कुलपति कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनाइएको छ । त्यस्तै, कार्यकारी समिति र उपसमितिसमेत गठन गरेर तयारी तीव्र पारिएको उनले जनाए । प्रतिष्ठानले नक्सालस्थित प्रतिष्ठान परिसरमा पत्रकार सम्मेलन गर्दै यस पटकको प्रदर्शनीमा ४ सय ४४ कलाकारका ५ सय ९६ कलाकृति समावेश हुने जानकारी दिएको छ । कुलपति कर्माचार्यले सहभागी कलाकारका केही कलाकृति छनोटमा नपरेको बताए ।
उनका अनुसार यस वर्ष प्रदर्शनीमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वाग्मती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट नौ र सुदूरपश्चिम प्रदेशबाट आठ कलाकारका सिर्जना समावेश गरिएको छ । गत वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरुपमा नभए पनि भर्चुअल माध्यमबाट प्रदर्शनी गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने प्रदर्शनी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने जनाइएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनीको अवसर पारेर प्रदान गरिँदै आएको यस वर्षको ‘राष्ट्रिय अरनिको प्रज्ञा सम्मान’ बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई सम्मान गरिने भएको छ । उक्त सम्मानको राशी जनही नगद एक÷एक लाख र ताम्रपत्र रहेको छ । यस्तै, राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकला÷शिल्पकला विधातर्फ अनुकुमार केसी, मूर्तिकलातर्फ भाजुरत्न शाक्य (परम्परागत) र तमबहादुर पुन (आधुनिक), परम्परागत चित्रकलातर्फ राजकुमार राना, आधुनिक चित्रकलातर्फ कृष्णप्रकाश शाह, लोककलातर्फ हरेराम यादव र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रकाश पुनमगरलाई पुरस्कार प्रदान गरिने भएको छ ।
उक्त पुरस्कारको राशि जनही ६० हजार रहेको छ । प्रतिष्ठानले जनही नगद २५ हजार राशि रहेको विशेष पुरस्कारतर्फ विधागतरुपमा १७ कलाकारको नामसमेत सार्वजनिक गरेको छ । जसमा हस्तकलामा राजेन्द्र देशार र मिना थारु, परम्परागत मूर्तिकलामा रामसुन्दर त्वाटी र कृष्णगोपाल गारु, आधुनिक मूर्तिकलामा राजु पिठाकोटे र राजेश बराल, परम्परागत चित्रकलामा सुन्दर श्रेष्ठ र छेवाङ तामाङ, आधुनिक चित्रकलामा राजु लामा योञ्जन, मन गुरुङ, राजनकुमार पन्त, लोककलामा नम्रता सिंह, रुवी कर्ण, वास्तुकलातर्फ सुशिला सिंह, इरिक नकर्मी, सुजन श्रेष्ठ र सौरभ कोइराला रहेका छन् ।
त्यस्तै, प्रादेशिकतर्फ प्रदेश १ बाट शक्तिमान राई, प्रदेश २ बाट गीताकुमारी ठाकुर, वागमतीबाट मानबहादुर बल, गण्डकीबाट विश्वराज पराजुली, लुम्बिनीबाट विश्व थापा मगर, कर्णालीबाट गुर्मे तेन्जिङ लामा र सुदूरपश्चिमबाट जीतबहादुर आउजीले २५ हजार राशिसहितको पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी, राष्ट्रिय ललितकला लेखक पुरस्कार नवीन्द्रमान राजभण्डारी र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार दीपक श्रेष्ठ विहिनलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
प्रतिक्रिया