सोभिनियरमा पाँच कलाकार

काठमाडौं । कोरोना कहरले शिथिल बनेको कला क्षेत्र जगमगाउन थालेको छ । यसैबीच पाँचजना कलाकारका कलाकृतिको यतिवेला लसतामार्ग सोल्टीमोडस्थित सोभिनियर ग्यालरी क्याफेमा प्रदर्शनी चलिरहेको छ । हास्यकलाकार हरिवंश आचार्यले उद्घाटन गरेको उक्त प्रदर्शनीमा अग्रज कलाकार कृष्ण मानन्धर, प्राज्ञ सुषमा राजभण्डारी, मुकेश श्रेष्ठ, कृष्णप्रकाश शाह र नेमबहादुर तामाङका कलाकृति राखिएको छ ।

‘इमर्जिङ लाइट फ्रम डार्कनेसः अ प्रोमाइज अफ प्रोस्पर्टी एण्ड जोय’ प्रदर्शनीको आयोजना रोटरी क्लब अफ स्वयम्भू, सुषमा आर्ट कन्सर्न र सोभिनियर ग्यालरी क्याफेले गरेका हुन् । हाँस्यकलाकार आचार्यले प्रदर्शनीमा राखिएका कलाकृति निकै आकर्षक र मनछुने खालको रहेको बताए । उनले आफू पनि चित्रकार भएको रहस्य उद्घाटन गर्दै गाईको चित्र बनाउँदा कुकुरको चित्र बनेको प्रसंग उल्लेख गरे । उनले भने, ‘पृथ्वी नै एउटा कलाको गुरु हो । यहाँका हिमालहरु आफैमा चित्रकला हुन् ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले कलाले मानिसको जीवनलाई सुन्दर र आनन्दित बनाउने विचार व्यक्त गरे ।

चैत मसान्तसम्म चल्ने प्रदर्शनीमा राखिएका कलाकृति बिक्री भएमा ६० प्रतिशत सम्बन्धित कलाकार, २० प्रतिशत रोटरी क्लबका बालबालिकालाई र बाँकी २० प्रतिशत ग्यालरी सञ्चालकलाई उपलब्ध गराउने आयोजक संस्थाका सञ्चालक सतीन्द्र श्रेष्ठ जानकारी दिए । प्रदर्शनीले कलाक्षेत्रलाई सक्रिय बनाउँदै कोरोना कहरबाट माथि उठाउने लक्ष्य राखिएको प्रदर्शनीमा सहभागी कलाकार तथा प्राज्ञ सुषमा राजभण्डारीले बताइन् । उनले भनिन्, ‘वैश्विक कहरको रुपमा आएको कोरोनाले कलाक्षेत्रलाई शिथिल बनाएकाले यसमा केही भए पनि गतिविधि होस् भन्ने उद्देश्य राखेर प्रदर्शनीको आयोजना गरेका हौं ।’

उनले प्रदर्शनीमा उत्साहजनक रुपमा कलापारखी, दर्शक तथा प्राज्ञिक व्यक्तित्व पुगेको सुनाइन् । प्रदर्शनीमा राखिएका कलाकृति नेपालको समकालीन कलाको प्रतिनिधित्व गर्ने खालको रहेको सहभागी अर्का कलाकार मुकेश श्रेष्ठले बताए । उनले भने, ‘कलाले समाज र मानिसको मनोविज्ञानलाई कलात्मक रुपमा चित्रण गर्ने भएकाले यो एउटा सिर्जनशील कर्म हो । मैले पनि सामाजिक मनोविज्ञानका विषयलाई क्यानभासमा उन्ने कोशिस गरेको छु ।’

प्रतिक्रिया