समीर र आश्रितीको ‘करण र कार्टुन’

काठमाडौं । बालकलाकार आश्रिती श्रेष्ठ र बाललेखक समिर कोजूको बालचित्र कथा ‘करण र कार्टुन’ बजारमा आएको छ । शनिबार नेपाल आर्ट काउन्सिल बबरमहलमा आयोजित कार्यक्रममा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले उक्त पुस्तकको विमोचन गरे । कार्यक्रममा जोशीले कला र संस्कृतिको प्रवद्र्धन गरेर मात्रै देश समृद्ध हुने विचार व्यक्त गरे । उनले सिर्जनशीलता हरेक बालबालिकामा हुने धारणा राख्दै भने, ‘पढाइमा ध्यान

नदिने भन्दैमा उनीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउन रोक्नु हुँदैन ।’ शताब्दी पुरुष जोशीले ज्ञान विज्ञान मात्रै होइन कलाबाट विश्वमा नै नयाँ सन्देश दिन सकिने विचार व्यक्त गरे । उनले बालकलाकार आश्रितीको प्रतिभालाई उजागर गर्ने मौका दिएर राम्रो काम गरेको जनाउँदै बाल सुलभ प्रतिभा फुलोस्, फलोस् र देश विदेशमा फैलिन सकोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक विशेष लागेको बताउँदै चित्रकार, लेखक र समीक्षक पनि बालप्रतिभा भएकैले विशेष रहेको बताए । उनले बाललेखक कोजुले समसामयिक, चेतनामूलक विषयलाई लिएर कथा लेखेको र बालकलाकार आश्रितीले निकै राम्रा चित्र बनाएको जनाए । उनले ‘बालसाहित्यकार पनि सानो उमेरको चित्रकार पनि सानो उमेरको भए पनि समसामयिक विषयलाई निकै आकर्षक रुपमा प्रकाशमा ल्याएको पाएँ ।’ कुलपति कर्माचार्यले बाल प्रतिभालाई सबैले फल्ने र फुल्ने अवसर दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बाल समीक्षक सोइना दाहालले किताबका बारेमा चर्चा गर्दै बालबालिकामा मौलाउँदै गएको मोवाइल संस्कृतिले विकृतिको रुप लिएको सुनाइन् । उनले पुस्तकका माध्यमबाट बालबालिकामा हुने प्रविधिको लतलाई निकै आकर्षक रुपमा उधिनेको विचार व्यक्त गरिन् । उनले चित्रका कारणले कथा राम्रो बनेको बताउँदै भनिन्, ‘कथा पनि सान्दर्भिक र सामयिक रहेको छ । साथै पुस्तकमा मनोरञ्जन र शिक्षा पनि पाइन्छ ।’ यस्तै, पुस्तकका लेखक समीर कोजुले आफूले सोच्दै नसोचेको उपहार पुस्तक प्रकाशनपछि पाएको बताए । उनले आगामी दिनमा अझ सक्रिय भएर लेखनक्षेत्रमा लाग्ने जिकिर गरे । बालकलाकार आश्रितीले सबैलाई धन्यवाद दिँदै हौसलाले काम गर्न आफूलाई प्रेरणा मिलेको बताइन् ।

कार्यक्रममा कार्टुनिस्ट अविन श्रेष्ठले कथा समसामयिक र सन्देशमूलक रहेको बताउँदै आश्रितीका चित्रका बारेमा चर्चा गरे । उनले बालबालिकालाई माहोल दिन सकिए उनीहरुमा रहेको प्रतिभा प्रस्फूटन हुने बताए । मोहन कार्की, मेरिडियन स्कुलका प्राचार्य दिनेश न्यौपाने, सुशिला देउजाले शुभकामना मन्तव्य व्यक्त गरे । सो अवसर पारेर बालकलाकार आश्रितीको एक दिवसीय चित्रकला प्रदर्शनीसमेत गरिएको छ । प्रदर्शनीमा आश्रितीले दुई वर्षको उमेरदेखि बनाएका चित्र राखिएको छ । महाराजगञ्जस्थित मेरिडियन स्कुलमा कक्षा ३ मा अध्ययनरत् नौ वर्षीया आश्रितीले धार्मिक, सांस्कृतिक, प्राकृतिक विषयमा केन्द्रित रही सिर्जनात्मक ढंगले चित्र तयार पारेकी छन् । ‘करण र कार्टुन’ चित्रकथालाई बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।

प्रतिक्रिया