नापी कार्यालयको सुविधासम्पन्न भवन प्रयोगविहीन

म्याग्दी । बेनीमा करोडौँ खर्चेर निर्माण भएको जिल्ला नापी कार्यालय, म्याग्दीको भवन प्रयोगविहीन बनेको छ । नापी विभागले ठेक्कामार्फत बेनीको मंगलाघाटमा ०७७ मंसिरमा साढे तीन तले पक्की भवन निर्माण गरेको थियो । मासिक ४० हजार खर्चेर भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेको नापी कार्यालयको २ करोड ४० लाखमा निर्माण भएको भवन प्रयोगविहीन बनेको हो । ०७५ सालमा मसुद–बिएन–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको भवन निर्माण योजनाको अन्तिमपटक थपिएको म्याद गत मंसिर मसान्तमा सकिएको छ । नापी कार्यालय म्याग्दीका प्रमुख तुलसी पौडेलले बाटोको निकास नहुँदा भवन प्रयोगमा ल्याउन नसकेको बताए ।

‘बाटोमा राखिएका पोल हटाउन विद्युत् प्राधिकरण, पाइप व्यवस्थापन गर्न संघ र प्रदेशका खानेपानी कार्यालय तथा तुइन हटाउन बेनी नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरेका छौँ’, उनले भने, ‘बिजुलीका पोल, पाइप र तुइनको टावर नहटाउँदासम्म मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास हुँदैन ।’ बेनी–मंगलाघाट सडकदेखि नापी कार्यालयको भवनमा पुग्ने करिब २० मिटर बाटोको बीचमा विद्युत्का पोल, खानेपानीका पाइप र तुइनका टावर छन् ।

तीन वटा कार्यालयको बीचमा खोल्सामाथि ढलान गरेर बनाइएको बाटोमा खानेपानीको पाइप राखिएको छ । दुई वटा विद्युत्का पोल र वर्षौंदेखि प्रयोगविहीन तुइनको एक वटा टावर छ । निर्माण कम्पनीका प्रतिनिधि निराजन खतिवडाले मूल सडकदेखि भवनसम्म पुग्ने बाटोको निकास र प्राविधिक मूल्यांकन नभएको बताए । ‘मंसिरमै भवन निर्माण सकेर हस्तान्तरण गर्न खोजेको हो’, उनले भने, ‘नापी कार्यालयले अन्तिम मूल्यांकन गर्न र भवनसम्म पुग्ने बाटो बनाएर प्रयोगमा ल्याउन बेवास्ता गरेको छ ।’ तत्कालीन सहरी विकास तथा भवन कार्यालय बागलुङको प्राविधिक सहयोगमा निर्माण सुरु भएको भवनको प्राविधिक रेखदेख गर्ने जिम्मेवारी पूर्वाधार विकास कार्यालय म्याग्दीलाई हस्तान्तरण भएको छ ।

बागलुङको कार्यालय खारेज भएको र बेनीको कार्यालयमा भवनसँग सम्बन्धित प्राविधिक जनशक्ति नभएकाले नापजाँच र मूल्यांकन हुन नसकेको हो । भवनको ठेक्का प्रक्रियाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेकाले पनि जिम्मेवारी लिन प्राविधिकले नचाहेका हुन् । निर्माण कम्पनीका प्रतिनिधि खतिवडाले करिब ४० लाख भुक्तानी पाउन बाँकी रहेको बताए । बालमन्दिर चोकमा मासिक ४० हजार रुपैयाँ तिरेर १० वटा कोठा भाडामा लिई नापी कार्यालय सञ्चालन गरिएको छ । आगामी असारसम्मका लागि भाडा तिर्ने बजेट आएको छ । नापी अधिकृत पौडेलले प्राविधिक मूल्यांकन र बाटोको निकास दिएर भवन प्रयोगमा ल्याउन विभाग र प्रशासन कार्यालयमार्फत पनि पहल गरेको बताए ।

नापी कार्यालयसँगै निर्माणाधीन कोष तथा लेखा नियन्त्रकको कार्यालयको भवन पनि अन्तिम चरणमा पुगेको छ । १ करोड ७० लाखमा साढे तीन तले भवन बनाउन ०७६ भदौमा दावा–त्रिशक्ति जेभीसँग ठेक्का सम्झौता भएको थियो । यही महिनासम्म ठेक्काको म्याद भएको सो भवन रङरोगन भइरहेको छ । खानेपानीको कार्यालय भवन पनि आधाभन्दा बढी निर्माण सकिएको छ ।

प्रतिक्रिया