ताक्रु खोलामा पक्की पुल निर्माण कार्य सुरु

हुम्ला । कर्णाली करिडोर अन्तर्गतको हिल्सा–सिमकोट खण्डको ताक्रु खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ । निर्माण कम्पनी पक्षले चार वर्षपछि निर्माण सामग्री र मेसिन निर्माण स्थलमा पु¥याएपछि काम सुरु भएको हो । हिल्सा–सिमकोट सडक आयोजनासँग ०७४ साल साउन ६ बा सम्झौता भएको भए पनि अहिले आएर ताक्रु खोलाको पक्की पुलको निर्माणकार्य सुरु भएको आयोजना निमित्त योजना प्रमुख दीपकबहादुर शाहीले बताए । पुलको फाउन्डेसन खन्ने कार्य अन्तिम चरण पुगेको, छड र सिमेन्ट निर्माण स्थलमा पुगेको उनले बताए । यसअघि सडक सञ्जाल पुल निर्माणस्थलमा नजोडिएको कारण काम गर्न ढिलाइ भएको आयोजनाले जनाएको छ ।

अहिले हेक्पा खोलाबाट ताक्रु खोलासम्म सडक सञ्जाल जोडिएपछि काम सुरु भएको उनले बताए । पुल निर्माणको जिम्मा पाएको सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेजबहादुर महतले पुलको निर्माणकार्य ढिलो हुनुमा माटो परीक्षण कार्यले गर्दा भएको बताए । अहिले पुल निर्माणका लागि आबश्यक निर्माण सामग्री र मेसिन निर्माणस्थलमा पुगेको कारण काम धमाधम भइरहेको र आगामी असार मसान्तसम्म पुलको निर्माणकार्य सम्पन्न गर्ने उनले बताए । स्थानीय निर्माण सामग्री बालुवा संकलन गर्ने गिट्टी फुटाउने र ढुंगा जम्मा गर्ने कार्य तीव्र रूपमा भइरहेको उनले बताए । पुलका लागि आवश्यक सामग्री तयार गर्ने र बाहिरबाट आयात गर्नुपर्ने सामग्री निर्माणस्थलमा पुगेको कारण समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । पुल ७० मिटर लम्बाइको हुनेछ । यसका लागि १० करोड ५७ लाख बजेटमा निर्माण कम्पनीले आयोजनासँग सम्झौता गरेको छ ।

प्रतिक्रिया