दैलेख । जिल्लाको दुल्लू नगरपालिका कृषि विकास शाखा तथा पशुपंक्षी शाखाले नगरका १३ वटै वडाहरूमा वडास्तरीय कृषि तथा पशुपंक्षी कृषक समन्वय समिति गठन गरेको छ । नगरपालिकाको कृषि विकास तथा पशुपंक्षी विकास शाखाले आर्थिक वर्ष ०७७÷७८ मा प्रत्येक वडाहरूमा १३÷१३ वटा वडास्तरीय कृषि तथा पशुपंक्षी समन्वय समिति गठन गरेको हो । दुल्लु नगरपालिका भित्रका १३ वटै वडाहरूमा गठित समितिले अब दुल्लु नगरपालिका कृषि विकास शाखा तथा पशुपंक्षी शाखाले दिने सेवा सुविधालाई प्रत्यक्ष कृषकहरूका बीचमा राख्नेछन् । कृषकलाई हुने समस्यालार्ई मध्यनजर गर्दै कस्ता कृषकलाई कस्ता खालका समस्या आउँछन् त्यसको निगरानी राख्दै कृषि शाखालाई त्यसको रिपोर्टिङ गर्नेछन् । कृषकका समस्यालाई पहिचान गरी यस्ता समस्याको सामाधान गर्न हरेक कृषकलाई सघाउ पु¥याउने उद्देश्यले दुल्लुका १ देखि १३ वटै वडामा समिति गठन गरिएको र एउटा समितिमा वडामा १३ जनालाई समेटिएको नगरपालिका पशुपंक्षी विकास शाखाले जनाएको छ ।
वडा स्तरका समितिले किसानका तथ्यांक संकलन गर्ने, कृषि विकास तथा पशुपंक्षी शाखाबाट सञ्चालित कार्यक्रमको सूचना प्रवाह गर्ने, कृषक र कृषि शाखासँग समन्वयको भूमिका निर्वाह गर्नेछ ।गाउँमा छरिएर रहेका कृषकका समस्या, गुनासो तथा उनीहरूका अधिकारसँग प्रत्यक्ष निगरानी कृषि विकास तथा पशुपंक्षी शाखाबाट मात्र नसकिने भएकाले वडास्तरमै वडा समिति गठन गरिएको दुल्लु नगरपालिकाका कृषि विकास शाखाका प्राविधिक राजनकुमार विष्ट जानकारी दिए ।
उनका अनुसार किसानका समस्या वडास्तरबाट आइसकेपछि नगरपालिकामा समाधान गर्ने यदि नगरपालिकामा सामधान हुन नसके कृषि विकास कार्यालय दैलेखमा पठाइनेछ । १३ वटै वडामा समिति गठन गर्ने करिब एक महिना लागेको छ । ७ माघबाट सुरु गरिएको समिति गठन मंगलबार सकिएको छ । यसैगरी दुल्लू नगरपालिका–११ ले कृषकलाई अनुदानमा आलुको बिउ बितरण गरेको छ । सोमबार आफ्नो वडा भित्रका ४३ जना कृषकलाई २६ क्विन्टल आलुको बिउ बितरण गरेको हो । दुल्लु नगरपालिकालाई आलु पकेट क्षेत्र बनाउने उद्देश्ले दुल्लु नगरपालिका–११ कालभैरवका कृषकलाई ‘काडिनल’ आलुको बिउ वितरण गरिएको वडाध्यक्ष खगेन्द्रबहादुर थापाले जानकारी दिए ।
कृषि क्षेत्रलाई प्राथमिकता दिएको दुल्लु नगरपालिकाले दुल्लुका १३ वटै वडाहरूका कृषि विशेष कार्यक्रम लागू गरेको छ । जसअनुसार विभिन्न वडाहरूमा कृषि उत्पादन बढ्दै गएको र कृषकलाई आत्मनिर्भर बनाउनसके वडा तथा नगरपालिका नै समृद्ध हुने भएकाले कृषिलाई प्राथभिकता दिएको दुल्लु नगरपालिकाले जनाएको छ ।
वडा कार्यालयको ६० प्रतिशत बजेट र कृषकको ४० प्रतिशत साझेदारीमा २ लाख ५५ हजार रकम बराबरको आलुको बिउ वितरण गरिएको छ ।
दैलेख
प्रतिक्रिया