कालिकोट । पानीको अभावले सिचाइँ गर्न नपाएका पचाभलझरना गाउँपालिका–४ का १ सय ९१ घरधुरीका करिब १२ सय जनालाई सिचाइँ गर्नका लागि क्याप्स कर्णाली परियोजनाले कुलो बनाइदिएको छ । सिँचाइको अभावले पचालझरना गाउँपालिका–४ का स्थानीयले सोचेजस्तो खेती गर्न पाएका थिएनन् । हाल साल्ते मर्म सिँचाइ कुलो निर्माण सम्पन्नपछि नागरिकहरू सिँचाइतिर आकर्षित भएका छन् । विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित कर्णाली क्याप्स परियोजनाअन्तर्गत सञ्चालनमा रहेको कुलोको काम सम्पन्नपछि नागरिकहरूले पानीको सदुपयोग गर्न पाएका छन् । मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरुन्डेक नेपालको सहयोग÷सहजीकरणमा पचालझरना–४ मा कुल ८५ लाख ७६ हजार ६ सय ६४ रकममा कुलोको काम सम्पन्न भएको हो ।
यसैगरी पचालझरना गाउँपालिकाको खार्दुमा क्याफ्स(कर्णाली परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा रस्टिक स्टोर बनेको छ । हुरेन्डेक नेपाल कालिकोटको सहयोग सहजीकरणमा भवनको काम थालिएको थियो । यो आयोजनाले उत्पादन भएको आलुलाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुगेको छ । विद्युत्को उपलब्धता नहुँदा पनि सञ्चालन गर्न सकिने रस्टिक स्टोर स्थानीय प्रविधिको प्रयोग गरी कम लागतमा निर्माण गरिएको क्याप्स कर्णाली परियोजनाका जिल्ला संयोजक नरेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘खार्दुमा कुल ६ हेक्टर क्षेत्रफल जमिनमा वार्षिक ४० टन आलु उत्पादन भइरहेको छ । ३५ लाख ३८ हजार ८ सय २१ रुपैयाँ ५१ पैसाको लागतमा आलु भण्डार बनेको हो ।’ शाहीका अनुसार क्याप्स कर्णाली परियोजनाको २८ लाख २९ हजार ७ सय ७३ रुपैयाँ र स्थानीय जनश्रमदान ७ लाख ९ हजार ४८ रुपैयाँ ९४ पैसामा आलु भण्डार भवन बनेको हो । भवनमा धारा, शौचालय समेतको व्यवस्था रहेको छ । पछिल्लो समय क्याप्स कर्णाली परियोजना सञ्चालनपछि जिल्लाको पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाका विभिन्न स्थानमा खेतीतिर किसान अग्रसर देखिएका छन् ।
प्रतिक्रिया