अव्यवस्थित तारले जोखिम बढ्दै

भोजपुर । अव्यवस्थित तारका कारण भोजपुर सदरमुकाम कुरुप र संवेदनशील बन्दै गएपछि सरोकारवाला निकायले चासो नदिँदा जोखिम बढेको छ । तार व्यवस्थापन ध्यान नपु¥याउँदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने अवस्था भएको हो । बैंकरोड, डाँडागाउँ, चारभञ्ज्याङ, पानीट्यांकीलगायत भोजपुर सदरमुकामका मुख्य बजारक्षेत्रभित्रका हरेक गल्ली र चोकमा रहेका जोखिमपूर्ण अवस्थाका विजुली, इन्टरनेट र टेलिफोनका तारहरूले जोखिम बढेको छ । विशेषगरी भूकम्प, आगालागी, हावाहुरी जस्ता प्राकृतिक विपत्मा झनै जोखिम हुने गरेको छ । तार व्यवस्थापनमा सम्बन्धित निकायकै वेवास्ताका कारण जोखिम धेरै भएको हो । विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने पनि छुट्याउन मुस्किल हुने गरेको स्थानीयबासिन्दा बताउँछन् ।

यता स्थानीयबासीबाट तार व्यवस्थापनमा चासो नदिएको प्राधिकरणले जनाएको छ । बजारका विद्युत् विस्तार लाइनहरू अन्य इन्टरनेट कम्पनी र नेपाल टेलिकमले एकै स्थानमा तार व्यवस्थापन गर्दा यो समस्या आएको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले बताए । साँघुरिएको बजारक्षेत्रका सडकमा टाँगिएका होचा तारहरू ठूला मालबाहक सवारीसाधनले चुँडाउने, बिगार्ने हुँदा लाइन सर्ट हुने जोखिम उत्तिकै मात्रामा देखिन्छ । तार व्यवस्थापनमा प्राधिकरण, टेलिकम र इन्टरनेट कम्पनीले बेवास्ता गर्दा सम्भावित दुर्घटनाको जोखिम मोल्न बाध्य रहेको स्थानीय सरोकारवालाहरूको गुनासो छ ।

प्रतिक्रिया