मरिण गाउँपालिकाको भवन उद्घाटन

सिन्धुली । जिल्लाको मरिण गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन गरिएको छ । आज जनयुद्ध दिवसको अवसरमा एक औपचारिक कार्यक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले थोरै समयमा मजबुत तथा लिफ्ट सहितको भवन निर्माण भएको भन्दै मरिण गाउँपलिकालाई बधाई दिए । यस्तै उनले जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई श्रद्धाञ्जली व्यक्त गरे । अध्यक्ष प्रचण्डले सरकारले चालेको प्रतिगमन कदम परास्थ हुने विश्वास रहेको बताए ।

मरिण गाउँपालिकाको ४ करोड ९९ लाख ९६ हजार ६ सय १९ रुपैयाँ ६३ पैसा लागतमा तीन तलाको लिफ्ट सहितको भवन निर्माण सम्पन्न भएको जनाइएको छ । जिल्लाको सबैभन्दा ठूलो तथा सुविधा सम्पन्न उक्त भवन रहेको छ । गत ०७५ साल असार २६ गते अनक कन्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरी भवन निर्माण कार्य सुरु गरिएको थियो । ०७७ साल पुस २६ गते भवन निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । कोभिड–१९ र लक डाउनको समस्या झेल्दै समयमै भवन निर्माण सम्पन्न गरिएको निर्माण व्यवसायी दीपक माझीले बताए ।

मरिण गाउँपालिकाका अध्यक्ष पानिराज वन्जनको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यतामा बागमती प्रदेश सांसद राजन दाहाल, गणेश पहाडी, जनप्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया