दैलेख । कारितास जर्मनी र कारितास नेपालको सहयोग र एकता फाउन्डेसन नेपालको आयोजनामा नेपालमा (कोभिड–१९) आर्थिक पुनर्लाभ परियोजना २०२० को गाउँपालिका स्तरीय परियोजना प्रारम्भ बैठक बिहीबार भगवतीमाई गाँउपालिका–५ र ६ को वडा कार्यालयमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रत्यक्ष मारमा परी बिदेशबाट फर्केकाहरूको अवस्था सुधार, दैनिक ज्याला मजदुरी गरिरहेका नागरिकको अवस्था सुधार र अति विपन्न अवस्थामा रहेका करिब दुई सय घरधुरीलाई सहयोगको कार्यक्रम रहेको कार्यक्रम निर्देशक दुर्गा घर्तीले बताइन् ।
भगवतीमाई गाउँपालिका–५ र ६ मा लागू भएको परियोजनाबाट एकल महिला, फरक क्षमता भएका व्यक्ति, कोरोनाबाट प्रभावितहरूलाई जीविकोपार्जन, कामका लागि नगद, पशुपालन व्यवसाय, कृषिमा नगदेबालीको बिस्तार, खाद्यान्न तथा खुद्रा पसल गर्नका लागि सहयोग कार्यक्रम रहेको छ । वडावासी नागरिकका लागि क्षमता विकासका, जनचेतनामूलक कार्यक्रम, तालिम गोष्ठी, उत्पादन बस्तुको भण्डारण तथा बजारीकरणमा सहजीकरण गर्ने, मनोसामाजिक परामर्श दिने, रेडियो तथा पत्रपत्रिकामा सन्देश प्रसारण प्रकाशन गर्ने भएको छ । व्यवसाय गर्नका लागि सहुलियतरूपमा ऋणको व्यवस्थापन गर्ने, आइसोलेसनमा बसेका संक्रमितहरूलाई परामर्श दिने परियोजनाको कार्यक्रम रहेको एकता फाउन्डेसन नेपाल दैलेखका कार्यक्रम अधिकृत जनक अधिकारीले जानकारी दिएका छन् ।
६ महिनासम्म सञ्चालन हुने कामका लागि नगद कार्यक्रमअन्तर्गत वडाहरूमा गोरेटो बाटो, विद्यालयमा खानेपानी मर्मत विद्यालयमा घेराबार निर्माण गर्ने काम भइरहेको छ । बिहीबार भएको प्रारम्भ गोष्ठीमा बोल्दै वडा–५ का वडाध्यक्ष कृष्णबहादुर शाहीले भने परियोजनाले लक्ष्य हासिल गर्न नीतिअनुसार उद्देश्यमा रहेर काम गर्नुपर्ने नागरिकमा चेतनाको कमी रहेको भन्दै जनचेतनालाई जोड दिनुपर्ने, नागरिकहरूले अधिकार मात्र नखोजेर कर्तव्य पालना गर्नुपर्ने भन्दै संस्थाले गरेका कामको प्रशंसा गरे ।
यता वडा–६ का अध्यक्ष वीरशंकर रोकायले कोरोना जोखिमको समयमा एकताले गरेको सहयोग सकारात्मक बताउँदै गाँउपालिकाको तर्फबाट हुने सहयोग भइरहने र साझेदारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । लैंगिक हिंसाको बारेमा जनचेताना दिने उद्देश्यले प्रहरीको समुदायमा प्रहरी साझेदारीले पनि कार्यक्रममा सहयोग गरेको छ । एकताले गरेको कार्यक्रममा लैंगिक हिंसाको प्रकृति अपराधको प्रकृति, घटनाको अवस्था पहिचान, अपराध नियन्तरण उजुरी र ठाडो निवेदन दिने तरिकाको बारेमा बताउँदै लागुपदार्थ दुव्र्यसनी तथा बालविवाह न्यूनीकरण गर्न सबै नागरिकको दाहित्व भएकोले यसको न्यूनीकरण गर्न सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने प्रहरीचौकी बेस्तडाका प्रहरी सहायक निरीक्षक थलप्रसाद ढकालले बताए ।
दैलेख
प्रतिक्रिया