३१ वर्षपछि सडक पाउँदा स्थानीयवासी दंग

प्युठान । प्युठान नगरपालिका–३ विजयनगरवासीले करिब ३१ वर्षको पर्खाइपछि सडक पाएका छन् । प्युठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि ओखरकोट जाने सडक निर्माण भएको हो । बर्सेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन ।  आव ०७५/७६ र आव ०७६/७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव ०७५/७६ मा करिब ८० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । त्यस्तै आव ०७६/७७ मा पहिरो व्यवस्थापन, सडक चौडा, सवारीसाधन जानका लागि सिलिप निर्माण र होम पाइप राखिएको श्रेष्ठले बताए । सडक निर्माणका लागि नगरपालिकाबाट आव ०७५/७६ मा २१ लाख ३१ हजार र आव ०७६/७७ मा वडा कार्यालयबाट विनियोजित २ लाख ८५ हजार बजेटमा सडक निर्माण सम्पन्न भएको हो । धेरैपटक सडक बनाउनका लागि बजेट विनियोजन भए पनि सही ढंगले काम नभएपछि आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी दिगोरूपमा सञ्चालन हुने मनसायका साथ सडक निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

लामो समयदेखि सडकको पर्खाइमा रहेका विजयनगरका स्थानीयवासी हाल सडकको पहुँचमा पुगेका छन् । सडक निर्माण भएसँगै यस क्षेत्रका करिब तीन हजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष श्रेष्ठले बताए । सडक निर्माणले विजयनगरसँगै विजुवार क्षेत्रका केही जनता र दाखाक्वाडी क्षेत्रका केही जनता पनि प्रत्यक्ष लाभान्वित भएको उनले बताए । विकास निर्माणका कामले यस ठाउँसम्म निरन्तररूपमा सवारी साधन चल्ने हुँदा स्थानीयवासीलाई थप सहजता मिलेको उनको भनाइ छ । लामो समयदेखि सडकको समस्या भोग्दै आएका यहाँका नागरिकले सडक निर्माणको काम सम्पन्नपश्चात् राहत मिलेको उनले बताए ।

यस क्षेत्रमा सडक नहुनु र भए पनि साँघुरो हुँदा बर्सेनि मोटरसाइकल दुर्घटना हुनाका साथै कैयौँ व्यक्तिको ज्यानसमेत गएको थियो । नगरपालिका क्षेत्र भए पनि बजार क्षेत्रकै छेउमा रहेको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयवासी चिन्तित भएका थिए । ‘सडक नहुँदा स्थानीयवासीलाई आवातजावत गर्नसमेत समस्या थियो’, स्थानीयवासी तिलबहादुर घर्तीले भने, ‘लामो प्रतीक्षापछि सडक बन्यो अब समस्या हल हुने विश्वास लिएको छु ।’ सडक बनेसँगै स्थानीयवासी खुसी भएको उनले बताए । सडक सम्पन्न भएसँगै पढ्नका लागि आवतजावत गर्ने विद्यार्थीसँगै विजय नगरवासीलाई फाइदा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया