सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ । संकलन गरिएको स्वाब सुर्खेतसम्म पु¥याउन अर्थाभावका कारण पठाउन नसकिएपछि अस्पतालमै थन्किएको हो । कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म संकलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनुपर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको पुनको भनाइ छ ।
‘एउटा गाडीले सुर्खेतसम्म पुगेको ७ हजार ५ सय लिन्छ तर संस्थाले सात हजार मात्र पठाउने गर्छ । थप पैसा उपलब्ध हुन नसकेपछि एक हप्ता अगाडिदेखि संकलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ’, पुनले भने । स्वाब संकलन गरेर पनि पिसिआर रिपोर्ट नआउँदा स्थानीयवासी समस्यामा पर्न थालेका छन् । ‘स्वाब दिएको एक हप्ता भइसक्यो, होमआइसोलेसनमा छु, स्वाब दिएको लामो समय बितिसक्दा पनि रिपोर्ट नआउँदा कामकाज गर्न समस्या भयो’, पत्रकार सरिता चलाउनेले बताइन् ।
कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएर स्वाब दिएको एक हप्ता बितिसक्दा पनि रिपोर्ट नआउँदा मानसिक तनावसमेत हुन थालेको स्वाब दिएकाहरूले बताउन थालेका छन् । ‘कोरोना संक्रमण भएको १४ दिनमा निको हुन्छ भन्नेछ तर स्वाब दिएको १४ दिनसम्म पनि रिपोर्ट नआएपछि किन परीक्षण गराउने’, स्वाब दिएका एक स्थानीयवासीले भने ।
संकलन गरिएको स्वाब कहिलेसम्म पठाउने भन्ने यकिन नभएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा समेत गाडी भएको तर निकै पुरानो भएकाले समस्या भएको छ । कतिपय स्थानीय तहहरूसँग समन्वय गरेर स्वाब पठाउने गरे पनि सरकारले नै लक्षण देखिएमा मात्र स्वाब संकलन गर्नु भनेपछि स्थानीय तहहरूले समेत स्वाब संकलन गर्न छाडेका छन् ।
प्रतिक्रिया