भारतमा भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु

एजेन्सी । भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार उक्त दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए ।

सुरुमा १७ जनाको मृत्युको खबर आएपनि घाइते मध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १८ पुगेको हो । मृतक मध्ये एक जना बाहेक अन्य सवैको शव चिन्न नसकिनेगरी जलेर नष्ट भएको पनि घटनास्थलमा पुगेकाहरुले जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

घटनामा परी विमान चालक दीपक साथै र उनका सह चालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्याइएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउदै गरेको विमान दुर्घटनामा परेको हो ।

युएइको दुवईबाट शुक्रबार राती भारत आउदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्ग चिप्लो भएकाले धावनमार्गमा चिप्लीएर दुर्घटना भएको प्रारम्भीक विवरण छ । वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयानुसार शुक्रबार बेलुका ७.४० मा भएको हो ।

सरकारी अधिकारीहरुले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा जनाएका छन् । दर्दनाक दुर्घटना भएको थाहा पाउने वित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले छानविन गर्ने जानकारी दिएका छन् । भारतमा बर्षायाममा धेरै विमान दुर्घटनामा पर्ने र सयौँको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया