माओवादी पार्टी यतिबेला विभाजित नभएर पुनर्गठन भएको छ । यो हिजोको एमाले र मालेको जस्तो विभाजन होइन । २०३१ सालको चौथो महाविशेनको केन्द्रीय न्युक्लियसदेखि नै वैचारिक संघर्षलाई वर्गसंघर्षको कोणबाट पुनर्गठन गर्दै अन्तत: क. किरणले पछिल्लोपटक युद्धकालीन मुलधारलाई लिएर पार्टी पुनर्गठन गरेका छन् । ०४० सालपछि क्रमश: मोहनविक्रम सिंह र निर्मल लामाको दक्षिणपन्थी दिशासँग असहमति राख्दै पुनर्गठन गरेका वैद्यले यतिबेला आफूले विश्वासका साथ अघि सारेर स्थापित गर्दै ल्याएका आफ्नै चेला दाहालसँग सम्बन्धविच्छेद गरेका छन् । ‘रअ’ सँगको दाहाल–भट्टराई सम्बन्ध टि हर्मिज र एसडी मुनिले नै सार्वजनिक गरे । माओवादीको पुनर्गठनपछि वैद्यले मोहन विक्रमसँग सम्बन्ध विच्छेद गर्दाका दाहाल र पोस्टबहादुर बोगटी छुटेका छन् । समग्र वैचारिक आधारमा पुनर्गठित माओवादीसँग रहेकाले दाहाल–भट्टराई, नारायणकाजी गुट निर्मल लामा र मोहन विक्रमकै अवस्थामा विघटन हुने देखिन्छ । किनकि चुनावी मोर्चाका लागि नेकपा (एमाले) सशक्त रहेको अवस्थामा अर्को एमालेको खाँचो छैन । यसकारण एमाओवादी इतिहासमा सीमित बन्नेमा कुनै शंका छैन ।
किन पुनर्गठन भयो माओवादी : योजनाबद्ध रूपमा दाहाल र भट्टराईले इन्डो, पश्चिमा रणनीतिमा किरणलाई सिलगुढीमा र गौरवलाई चेन्नईमा गिरफ्तार गराएर १२ बुँदे सम्झौता गरे । अन्तरिम संविधान र राष्ट्रघाती नागरिकता ऐन ‘रअ’ को रणनीतिअनुसार पारित गराइसकेपछि मात्र किरण र गौरवलाई छोडियो । धूर्त र छट्टूस्यालको कथाको भूमिकामा दाहालले पार्टी एकीकरणका नाममा ०५२ सालको एकता केन्द्र पुनर्गठन हुँदा युद्धमा जान डराएर बाहिर रहेको निर्मल लामा समूहको नारायणकाजी गुटलाई भित्र्याए । त्यतिले मात्र नपुगेपछि मसाल, माले र साना समूह भित्र्याउँदै केन्द्रीय समितिमा प्राविधिक बहुमत पुर्याए । यसपछि इन्डो पश्चिमा रणनीतिअनुसार चुनावी मोर्चा बनाउने अभ्यास र विस्तारसहित वैद्यलाई मोहनचन्द्र, नेत्रविक्रम चन्दलाई रवीन्द्र श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङलाई प्रेमसिंह धामी, सिपी गजुरेललाई पुष्पलालजस्तै बनाउने कार्य थाले । पूर्वमालेका देशभक्त क्रान्तिकारीहरूलाई घेराबन्दी गर्दै एमाले चुनावी मोर्चामा परिणत भएजस्तै अवस्था निर्माणमा दाहाल–भट्टराई–श्रेष्ठ गठबन्धन लाग्यो ।
खुला रूपमा आएपछि वैद्य, सिपी या चन्दहरूसँग पुनर्गठनको विकल्प थिएन । तथापि यतिबेला पुनर्गठित माओवादीभित्र १२ बुँदे पनि ठीक, चुनवाङको कार्यदिशा पनि ठीक, पुनर्गठन पनि ठीक भन्ने अवधारणा रहेको पाइन्छ । यसको जातीय महासंघको घेरा पनि अत्यन्त खतरनाक रणनीतिमा छ । यसबाट पुनर्गठित नेकपा–माओवादीले पार्टीलाई कसरी बचाएर लैजान्छन् त्यो भविष्यका दिनहरूले स्पष्ट गर्नेछ । जातीय महासंघको घेरा (क्रिस्चियन घेरा) तोड्न नसके यो पनि समाप्त हुनेछ । अन्तर्राष्ट्रिय रूपमा ‘रअ’को घेरा तोड्न नसके आफैँलाई संकट पर्नेछ । समग्रमा माओवादी पुनर्गठनले इन्डोपरिचयमा गुप्तचर टेन्डेन्सीको केन्द्रमा भूकम्प गएको छ । वामआवरणका बौद्धिक गुप्तचरहरू अत्तालिएका छन् । क्रान्ति भनेको युद्धबाहेक अन्य मोर्चा हुनै सक्दैन भनेजस्तो गरी वैद्यमाथि प्रहार केन्द्रित गरिरहेका छन् । दाहालमार्फत इन्डो–पश्चिमा रणनीतिमा सिंगो माओवादी कब्जा गर्ने र नेपाललाई भुटानीकरणको केन्द्रमार्फत पश्चिमा रणनीतिमा तिब्बतविरोधी केन्द्र निर्माणसाथ सत्ता कब्जा गर्न दाहाल–भट्टराई योजना हावा भरेको बेलुन फुटेसरी नष्ट भएको छ । यस कारण तथाकथित प्रगतिशील आवरणका बौद्धिक पात्रहरू पागलजस्तै सर्वांग नांगो भएर दाहालको रक्षार्थ उभिएका छन् । अब यी भीरबाट लडिसकेकालाई रामराम भन्नुको विकल्प छैन ।
एमाओवादीका तीन गुट : यो दल अब पार्टी नभएर फरक टेन्डेन्सीका गुप्तचरहरूको मोर्चा बनेको छ । किनभने, यतिबेला दाहालसँग आर्थिक रूपमा भ्रष्टहरूको जन्जाल छ । चाहे त्यो पश्चिमा रणनीतिमा चीनलाई बदनाम गराउने ५० करोड प्रकरणको टेप संवादमा मुछिएका कृष्णबहादुर महरा हुन् या रक्तचन्दनसँग जोडिएका अग्नि सापकोटा अथवा यार्सागुम्बा प्रकरणसँग जोडिएका वर्षमान पुन हुन् वा लडाकुको नक्कली संख्या देखाएर घोषित तीन अर्ब र अघोषित नौ अर्ब भ्रष्टाचारसँग जोडिएका दाहाल हुन् । आर्थिक रूपमा बदनाम र राजनीतिक रूपमा स्खलित कालिबहादुर खाम हुन् । अहिले दाहालका विश्वासपात्र यिनै हुन् । दाहालको सुविधा–त्याग यौनकर्मी महिला या पुरुषले उमेर ढल्केपछि वेश्यावृत्ति त्याग्ने भनेजस्तै हो । दाहालसँग ऋषिकेश साहको डक्ट्रिनलाई रणनीति बनाएका डा. भट्टराईसँग स्वतन्त्र तिब्बतका पक्षधरदेखि सांस्कृतिक रूपमा पतन र मुखै हेर्न लाज लाग्ने पात्रबाहेक कोही छैन ।
नारायणकाजीसँग निर्मल लामा समूहका केही अनुहार देखाउन लायक भए पनि अमिक शेरचन, सोनाम साथी या लीलामणि पोख्रेलहरूसँग युद्ध या संघर्षको न विरासत छ न धरातल । यसकारण एमाओवादी किरणको नेतृत्वमा नेकपा–माओवादीको पुनर्गठनपछि विभिन्न स्वार्थबीच गठबन्धनजस्तो भएको छ । काठमाडौंका चर्चित डनहरूको गठजोडजस्तै रहेको छ दाहालको पार्टी । जसरी दक्षिण अफ्रिकी एउटा कम्युनिस्ट घटक लुटेराहरूको रूपमा पतन भयो, त्यो भन्दा भिन्न दाहाल–भट्टराई समूह छैन । यो अवस्थामा एमाओवादीलाई परिवर्तनकारी देख्ने इन्डोपश्चिमा रणनीतिका पक्षधर तथाकथित वामबौद्धिकहरूको प्रहसन साउनमा आँखा फुटेको गोरुजस्तै भन्दा फरक पर्दैन ।
बदलिएको शक्ति केन्द्र : संविधानसभा विघटनपछि बदलिएको वैधानिक शक्तिकेन्द्रका रूपमा सेना, अदालत र राष्ट्रपति छन् । दायाँ केन्द्रमा नेपाली कांग्रेससहितको २७ दलीय मोर्चा र बायाँ केन्द्रमा पुनर्गठित नेकपा
(माओवादी) सहित सिपी गजुरेलले नेतृत्व गरेको संयुक्त मोर्चा छ । मधेसवादीहरूको विभाजनपछि एमाओवादी सत्ताधारी मधेसी मोर्चाको राजनीतिक धरातल समाप्त भइसकेको अवस्था छ । यो अवस्थामा राजनीतिक ध्रुवीकरण अझै तीव्र बनेर जानेछ । अन्तत: गुप्तचरमार्फत राजनीति कब्जा गर्न खोज्नेहरू समाप्त हुनाको विकल्प रहनेछैन । समाजमा भ्रम दिने तथाकथित गुप्तचर टेन्डेन्सीसँग जोडिएको बौद्धिक प्रहसन पानीको फोकाजस्तै बिलाउनुको विकल्प छैन । संविधानसभा विघटनपछि अन्तरिम संविधानको विघटन अनिवार्य पाटो हो । प्रतिनिधिसभाको निर्वाचन, संविधान निमार्ण आयोग र निर्वाचित प्रतिनिधिमार्फत संविधानको अनुमोदनसहित घोषणा निकासको राजनीतिक पाटो हो । संविधानसभाको विघटनपछि घायल बनेका इन्डोपश्चिमा केन्द्रत्वबाट फरक–फरक आवरणमा उठाइएका संविधानसभा पुन:स्थापना, ताजा निर्वाचन या जनमतसंग्रहजस्ता एजेन्डा मुलुकलाई गृहयुद्धमा फसाएर पश्चिमाहरूको रणनीतिक केन्द्र बनाउने नयाँ चालबाजीदेखि सबै सचेत रहनु जरुरी छ ।
माओवादीको पुनर्गठनलाई रिम र दरबारको आरोप एमाओवादीले लगाएको छ । हिजो सांस्कृतिक राजा भन्ने बाबुराम र सिंहानुकको परिकल्पना गर्ने दाहालका गोयबल्सहरूको प्रपोगन्डामा कुनै आधार छैन । जहाँसम्म राष्ट्रवादी मोर्चा हो, त्यो हिजो सिआइए रणनीतिमा पश्चिमाहरूको निर्माण र सञ्चालन गरेको माले, एमाले, मसाल र मण्डलेजस्तो त्यो हुनै सक्दैन । राप्रपाका कमल थापाहरू महाकाली सन्धि, ०५९ मा राजाको प्रत्यक्ष शासनमा सूर्यबहादुर नेतृत्वको सरकारमार्फत वीरगन्जमा महावाणिज्य दूतावास, सोल्जरबोर्ड विस्तार, भारतीय राजदूतलाई पाँच करोड बाँड्न छुट दिने खलनायकहरू हुन् । त्यतिमात्र होइन, संविधानसभापछि सिक्किममा सन् १९७४ अप्रिल १४ को जनमत संग्रहजस्तो पश्चिमा एजेन्डालाई जनमत संग्रहमार्फत लागू गराउने सुनियोजित चालबाजी हो । यसकारण पुष्पकमल दाहालले भनेजस्तो राजाका वरिपरि देशभक्त होइन, इन्डो सिआईए गुप्तचरको घेराबन्दी छ । देशभक्तहरू रिङबाहिर छन् । जोसँग मात्र मोर्चा सम्भव छ । वैद्यहरू यस विषयमा प्रस्ट हुन जरुरी छ । चिनियाँ प्रतिनिधिका रूपमा नेपाल आएका आइपिङले वैद्यलाई निमन्त्रणा दिएर जानु सामान्य होइन, यसले पुनर्गठनको औचित्यलाई सिद्ध गरेको मात्र छैन, वैद्यलाई शक्तिकै रूपमा उभ्याएको छ । तर, उनीहरूले कतिपय सैद्धान्तिक ऐजेन्डामा सँच्चिन जरुरी छ । सांस्कृतिक राजा भन्ने बाबुराम र राजाका वरिपरी देशभक्त छन् भन्ने दाहालजस्ता इन्डो सिआइए एजेन्डाका पक्षघरले क्रान्तिकारीलाई राजावादी भन्नु कुनै ठूलो कुरा होइन । दाहाल भट्टराईले आफ्नो अनुहार आफ्नै कर्तुतहरूको ऐनाअगाडि उभिएर हेरे हुन्छ ।
प्रतिक्रिया