आयल निगम फेरि घाटामा

काठमाडौं, १९ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावटले ४ वर्षपछि नाफामा आएको नेपाल आयल निगम फेरि घाटामा गएको छ । करिब एक महिनाअघि १३ करोड ११ लाख रुपियाँ नाफामा आएको नेपाल आयल निगम अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धिले नयाँ आर्थिक वर्षको सुरुमै १६ करोड ४७ लाख रुपियाँ मासिक घाटामा पुगेको हो ।
आर्थिक वर्ष २०६५/०६६ पछि निगम गत जुलाईमा नाफामा आएको थियो । एक जुलाईको बजार मूल्यअनुसार निगम एक महिनाअघि १३ करोड रुपियाँभन्दा बढी मासिक नाफामा देखिए पनि अहिले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार साढे १६ करोड रुपियाँबराबरको मासिक घाटामा देखिएको हो ।
करिब १५ दिनअघि मात्र निगम एक करोड ३२ लाख रुपियाँ मासिक नाफामा थियो । तर, पछिल्लो मूल्य वृद्धिसँगै भारतीय आयल निगमले एक अगस्टमा पठाएको मूल्य सूचीले फेरि पुरानै स्थितिमा निगम पुगेको हो । नेपाली बजारमा भएको मूल्य वृद्धि र विदेशी बबजारमा कच्चा तेलको मूल्य गिरावटले आशालाग्दो नाफामा देखिएको निगम १ अगस्टमा भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटामा देखिएपछि नेपाली बजारमा फेरि पेट्रोलियम संकट देखिन सक्ने खतरा बढेको छ ।
विगतमा ठूलो घाटाले गर्दा मागअनुसार पेट्रोलियम आपूर्ति गर्न नसकेको निगम पुन: घाटामा देखिनुले नेपाली उपभोक्ताले अझै पेट्रोलियम संकट भोग्नुपर्ने निगम अधिकारीको बुझाइ छ । यो घाटा आगामी महिना बढ्दै गएमा करिब ३ महिनापहिले जस्तै निगम तेल आपूर्ति गर्न नसक्ने अवस्थामा पुग्ने उनीहरूको तर्क छ ।
नेपाल आयल निगमका अनुसार १५ दिन बीचमै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नाफाको स्थिति घाटामा पुगेको हो । निगम प्रवक्ता मुकुन्द ढुंगेलका अनुसार १५ दिन बीचमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै बढेको छ । उनका अनुसार अहिले प्रतिब्यारेल एक सय डलरभन्दा बढी महंगो भएपछि घाटा भएको छ ।
भारतीय आयल निगमले पठाएको १ अगस्टको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ ३५ पैसा मात्र नाफा छ । करिब १५ दिनअघि पेट्रोलमा प्रतिलिटर १३ रुपियाँ ९ पैसा नाफा थियो । यससँगै पेट्रोलको कुल नाफा १२ करोड ५६ लाख रुपियाँमा झरेको निगमले जनाएको छ । १ जुलाईमा निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ ३५ पैसा तथा २६ करोड १० लाख रुपियाँ कुल नाफा थियो । यस्तै, नयाँ मूल्यसूचीअनुसार डिजेलमा प्रतिलिटर ५ रुपियाँ ४१ पैसा घाटा छ । १५ दिनअघि डिजेलमा समेत प्रतिलिटर एक रुपियाँ ८६ पैसा घाटा रहेको थियो । एक महिनाअघि डिजेलमा प्रतिलिटर ६४ पैसा मात्र घाटा थियो । यससँगै डिजेलमा ३५ करोड १७ लाख रुपियाँ कुल घाटा पुगेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अहिले मट्टीतेलमा प्रतिलिटर १० रुपियाँ ६२ पैसा नाफा छ भने आन्तरिक हवाई इन्धनमा १६ रुपियाँ ५० पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा २७ रुपियाँ ८९ पैसा नाफा छ । यस्तै, एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ५ रुपियाँ ९७ पैसा घाटा छ । गत १ जुलाईको मूल्यअनुसार मट्टीतेलमा १२ रुपियाँ ८० पैसा, आन्तरिक हवाई इन्धनमा १८ रुपियाँ ६६ पैसा र हवाईकर छुटसहित अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३० रुपियाँ ५ पैसा नाफा थियो ।
अहिले एलपी ग्यासको कुल घाटा २४ करोड रुपियाँ ७२ पैसा पुगेको निगमले जनाएको छ । यसअघि एलपी ग्यासमा कुल घाटा ४३ करोड १६ लाख र डिजेलमा ४ करोड १६ लाख रुपियाँ कुल घाटा थियो ।
अन्तर्राष्ट्रिय बजारमूल्य गिरावट र आपूर्ति कटौतीले दुई महिनाअघि निगम ७० करोड ४२ लाख रुपियाँ घाटामा थियो । नेपाल आयल निगमका अनुसार आइओसीले १ जुनमा पठाएको मूल्यसूचीअनुसार निगमको मासिक घाटा ७० करोड ४२ लाख रुपियाँमा झरेको थियो भने भारतीय आयल निगमले १६ जुनमा पठाएको मूल्यसूचीअनुसार मासिक घाटा १३ करोड ९ लाख रुपियाँमा सीमित रहेको थियो ।
अघिल्लो महिना अर्थात् १ मेको मूल्यसूचीअनुसार निगमको घाटा एक अर्ब १४ करोड ४७ लाख रुपियाँ थियो । यस्तै, अघिल्लो महिना अर्थात् अप्रिलमा निगमको मासिक घाटा १ अर्ब ५६ करोड रुपियाँ पुगेको थियो । आर्थिक वर्ष २०६८/०६९ मा निगम करिब २ अर्ब रुपियाँसम्म मासिक घाटामा पुगेको थियो ।

 

प्रतिक्रिया