चुनावको नयाँ मिति तोक्न वार्ता टोली

काठमाडौं, १८ साउन । निर्वाचन आयोगले ७ मंसिरमा तोकिएको संविधानसभाको चुनाव गर्न नसक्ने घोषणा गरेपछि दलहरूसँगको सल्लाहमा चुनावको नयाँ तिथि तय गर्न सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको बैठकले उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिका सदस्यमा भूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशी र पर्यटनमन्त्री पोष्टबहादुर बोगटी छन् । गठित समितिले बिहीबारबाटै दलहरूबीच संवाद थाल्न पनि बैठकले निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकमा दलहरूबीच छलफलबाट मात्र चुनावको नयाँ मिति घोषणा गर्ने वा त्यत्तिकै गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको थियो । छलफल नगरी चुनावको मिति तय गर्दा दलहरूले फेरि बखेडा झिक्न सक्ने भएकाले वार्ता समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले ७ मंसिरमै चुनाव गर्ने भन्दै निर्वाचनसम्बन्धी दुई अध्यादेश पारितका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर, राष्ट्रपतिले दलहरूसँग आवश्यक परामर्श गरेर मात्र अध्यादेशबारे निर्णय गर्ने भन्दै त्यत्तिकै थन्क्याएका छन् ।
कांग्रेस–एमालेलगायत दलले कामचलाउ सरकारले असंवैधानिक तरिकाबाट चुनाव घोषणा गरेको जिकिर गर्दै ७ मंसिरमा चुनाव हुन नसक्ने बताउँदै आएका थिए । उनीहरूले राष्ट्रिय सहमतिको सरकारले मात्र चुनावको मिति घोषणा गर्न सक्ने बताएका थिए । उनीहरूले त्यसका लागि भट्टराई नेतृत्वको सरकारलाई राजीनामा दिएर सहमतीय सरकार निर्माणका लागि मैदान खाली गर्न दबाब दिँदै आएका छन् ।
राणा कामु सेनापति

मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति छत्रमानसिंह गुरुङको बिदा स्वीकृत गरेको छ । उनले नियमित अवकाश लिनुअघि २६ साउनबाट बिदामा बस्ने निर्णय गरेका थिए । बैठकले गुरुङ बिदामा बस्ने भएपछि सोही दिनदेखि बलाधिकृत गौरवशमशेर राणालाई कायममुकायम प्रधानसेनापतिको कार्यभार दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले पाँच सचिवको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया