पोर्चुगलमा नेपाली खाना र नेपाल चिनाउँदै शेर्पा

लिस्बन । दोलखा, गौरीशंकर– ७ का धनराज शेर्पा यतिबेला पोर्चुगलमा संघर्ष गर्दै छन् । उनको यो संघर्ष १० बिगत वर्षदेखि जारी छ । संघर्षमा उनलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्चुगलमा कामदारको रुपमा छिरेका थिए । ३३ महिनाको नोकरीपछि उनमा साझेदारीमा रेष्टुरेन्ट चलाउँने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने । साझेदारीमा चलाएको रेष्टुरेन्टबाट आफ्नो सीप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याए ।

शेर्पाले ‘माउन्ट एभरेष्ट’को नामबाट लिस्बनको कनाईमा रेष्टुरेन्टको सुरुआत गरे, जुन अहिलेसम्म पनि सञ्चालनमै छ । कामदारको रुपमा आएका शेर्पा अहिले मालिक बनेर नेपाली युवालाई रोजगारी दिएका छन् । उनि आफूलाई मालिक भन्न भने रुचाउँदैनन् । ‘कामदारको रुपमा पोर्चुगल छिरेर, परिश्रम गरेंँ, रेष्टुरेन्ट खोल्न सक्ने भएँ’, शेर्पाले भने, ‘गर्न नसक्ने भन्ने केही छैन । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’

छैन पछुतो

कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्चुगललाई नै दिन्छन् । ‘मलाई पोर्तुगल आएकोमा कुनै पछुतो छैन’, शेर्पा भो, ‘मलाई सिप र क्षमता विकासमा पोर्चुगलले सिकाएको छ ।’ कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बन्नुभएका शेर्पा पछिल्लो समय दलाललाई मोटो रकम बुझाएर पोर्चुगल छिर्ने नेपाली युवालाई सीप सिकेर आउन सल्लाह दिन्छन् । ‘लगनशील बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्चुगलबाट मालामाल बन्न समय लाग्दैन’, उनले भने, ‘काम गर्नुस्, भविष्य आफैंँ बन्छ ।’

सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । ‘नेपाल, भारत, चीन, बंगलादेश, ब्राजिललगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रवासीहरुको गन्तवय पोर्तुगल बनेको छ’, शेर्पाले भने, ‘विभिन्न देशका नागरिकमाझ नेपाली खाना र नेपाल चिनाएको छु, यसैमा रमाएको छु ।’ उनका अनुसार एभरेष्टमा कोदोको ढिंँडो, भटमास, गुन्द्रुकलगायत नेपाली परिकारलाई बढी प्राथमिकता दिइएको छ । नेपाली खाना खानका लागि रोजगारीको सिलसिलामा पोर्तुगल आएका नेपालीसँगै भारत, बंगलादेशलगायत अन्य मुलुकका आप्रवासीको आफ्नो रेष्टुरेन्टमा भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाइ छ ।

व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन् । ‘समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाइलाई सकेको सहयोग गर्छु’, उनि भन्छन्, ‘परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।’ नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ ।

प्रतिक्रिया