शिशु फाल्ने आमा पक्राउ

विराटनगर, २२ फागुन । ‘इज्जत जाने डरले हल्ला गरिनँ, गर्भपतनबारे थाहा पनि भएन’, प्रहरी हिरासतमा बच्चालाई दूध चुसाउँदै दिलमाया लिम्बू (नाम परिवर्तन) ले भनिन्, ‘काका ससुराले बलात्कार गर्दाको पीडा भोग्दैछु ।’
मोरङको बारङ्गी– ७ की दिलमाया काका ससुरासँग भएको सम्बन्धबाट जन्मिएको शिशुका कारण प्रहरीमा पुगेकी छिन् । शिशु जन्मिएपछि सालनाल सहित फालेकी दिलमायालाई प्रहरीले पक्राउ गरेर कारबाही अगाडि बढाएको छ । कोठामै जन्मेको शिशुलाई शनिबार उनले त्रिशूलीचोकको पैनी डिलमा सालनाल सहित फालेकी हुन् ।
वैदेशिक रोजगारीका लागि पति चार वर्षदेखि कतारमा छन् । गत जेठमा नातामा काका ससुरा पर्ने मणिराज राईले मार्ने धम्की दिँदै बलात्कार गर्दा गर्भ रहेको र गर्भपतनबारे थाहा नहुँदा शिशु जन्माएको उनले बताइन् । काका ससुरा भने तीन महिनादेखि फरार छन् ।
उनले फालेको नवजात इलाका प्रहरी कार्यालय लेटाङकी जवान रेनुका सोनामले फेला पारेकी हुन् । आफैँ प्रहरी भएकाले उनले इलाका प्रहरी कार्यालय लेटाङमा उजुरी गरिन् । अनुसन्धानका क्रममा दिलमाया समातिइन् । शिशुको रेखदेख जवान रेनुकाले गर्दै आएकी छिन् भने फालेको शिशु जिउँदै फेला परेपछि महिला सेलमा दिलमाया आफ्नै शिशुलाई दूध चुसाएर अभागी आमाको नियतिमा रुन्छिन् पनि ।
प्रहरीले दिलमायालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको सालनाल सहितको शिशु फाल्ने कानुनमा मुद्दा चलाएको छ । ‘कसुर प्रमाणित भए दिलमायाले चार वर्षसम्म कैद सजाय पाउनेछिन्’, मोरङका डिएसपी उमाप्रसाद चतुर्वेदीले भने । विसं २०५८ मा विवाह गरेकी दिलमायाका दुई छोरी छन् ।

प्रतिक्रिया