खेलाडी सहभागी गराउन भारतको दबाब !

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक सुरुआत हुन चार दिन मात्र बाँकी रहँदा भारतले तीन खेलमा आफ्ना खेलाडी सहभागी गराउन दबाब दिएको छ । आन्तरिक विवादका कारण सुरुमा दर्ता नगरेको भारतले तेक्वान्दो, कराँते र आर्चरीमा खेलाडी सहभागिताका लागि ओलम्पिक काउन्सिल अफ (ओसिए) मार्फत दबाब दिएपछि एनओसी बैठक बस्ने तयारीमा छ । ओसिएको दबाबपछि भारतीय खेलाडीलाई सहभागिता दिने नदिने विषयमा छलफल गर्न अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी) बैठक हुने श्रोतले जानकारी दियो । यी तीनै खेल नेपालले सर्वाधिक पदक आशा गरेको खेल हुन् ।

‘भारतीय खेलाडीले देशको नभई ओसिएको झण्डामा साग खेल्ने सम्भावना रहेको बताइन्छ । अन्तिम समयमा ओसिएबाट दबाब आएपछि आज यही विषयमा बैठक बोलाइएको छ’, श्रोतले भन्यो, ‘सम्भवत सहभागिता हुन्छ ।’ नोभेम्बर २० सम्ममा खेलाडी दर्ताका लागि अन्तिम मिति तय गरिएको थियो । भारतका सम्बद्ध संघहरू विवादमा रहेका कारण खेलाडी दर्ता हुन सकेको थिएन । दक्षिण एसियामा भारत तेक्वान्दो, कराँते र आर्चरीमा बलियो प्रतिस्पर्धी राष्ट्र हो । सागमा आर्चरीमा १०, तेक्वान्दोमा २९ र कराँतेमा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । नेपालसहित ७ राष्ट्रका ३ हजार बढी खेलाडीले २६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । सागमा समान ३ सय १७ स्वर्ण र रजत पदक तथा ४ सय ८१ कस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले मात्र सबै २६ खेलमा भाग लिएको छ ।

प्रतिक्रिया