जनसंख्याले मात्र पदक दिँदैन

लन्डन : १५ करोड २० लाख जनसंख्या भएको बंग्लादेशले विश्वको सबैभन्दा ठूलो खेलकुद महोत्सव ‘ओलम्पिक’मा अहिलेसम्म पदक जित्न सकेको छैन । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देशहरूको सूचीमा बंगलादेश आठौँ स्थानमा छ । बंगलादेश खेलकुदका नाममा विश्वमाझ चर्चित नभएको भने होइन तर उसको प्रभाव रहेको क्रिकेट लामो समयदेखि ओलम्पिक खेलकुदमा समावेश गरिएको छैन ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका दुई सय चारवटा सदस्यमध्ये ८४ ले अहिलेसम्म ओलम्पिक खेलकुदमा एउटा पनि पदक जित्न सकेका छैनन् । यसमा जनसंख्याका हिसाबले विश्वमा २५औँ ठूलो राष्ट्र म्यानमार र ४५औँ स्थानमा रहेको नेपाल पनि पर्दछन् । सन् १९८८ को सिउल ओलम्पिक खेलकुदमा नेपालले प्रदर्शनी खेलका रूपमा राखिएको तेक्वान्दोमा विधान लामाको नाममा कास्य पदक जितेको थियो ।
ठूला अन्तर्राष्ट्रिय खेलकुदमा पदक जित्न धेरै जनसंख्या मात्र भएर हुन्न भन्ने तथ्यसामु यी गतिला प्रमाण हुन् । यसलाई अझ बलियो बनाउन टोंगा, बार्वाडोस, आइसल्यान्ड र बहामासको ओलम्पिक सफलताले ठूलो सहयोग पुर्‍याउँछ जुन देशहरू जनसंख्याका हिसाबले विश्वमा धेरै पछिल्ला स्थानमा पर्दछन् । एक सय ९५औँ स्थानमा रहेको टोंगाले एउटा रजत, एक सय ८१औँ स्थानमा रहेको बार्वाडोसले एउटा कास्य, एक सय ७८औँ स्थानको आइसल्यान्डले एउटा रजत र एउटा कास्य पदक जितेको छ । त्यसैगरी, एक सय ७७ औँ स्थानमा रहेको बहामासले चार स्वर्णसहित १० पदक जितेको छ अहिलसम्म । (एजेन्सी)

ओलम्पिकमा बिकिनी विवाद
लन्डन : बिकिनी अर्थात् टु–पिसमा खेलिने बिच भलिभल आसन्न लन्डन ओलम्पिक खेलकुदमा चिसो मौसमका कारण के लगाउन दिने भन्नेबारे विवाद देखिएको छ । खेलाडीहरूले प्रतिकूल मौसमका कारण बिकिनीको सट्टा ‘लङ स्लिभ्स’ लगाउन दिनुपर्ने प्रस्ताव गरेका छन् । अस्ट्रेलियन टिमकी तम्सिन हिन्च्लेले राति खेल भएको र चिसो मौसम भएकाले बिकिनीको विकल्प दिनुपर्ने बताइन् । ‘हामीले आफ्नो मांसपेसीलाई न्यानो राख्नुपर्छ,’ हिन्च्लेले कारण खुलाउँदै माग अघि सारिन् । सन २००० को ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेकी नाटालिए कुकसँग जोडी भएर हिन्च्ले लन्डन ओलम्पिकमा महिला बिच भलिभलमा प्रतिस्पर्धा गर्नेछिन् । (एजेन्सी)

प्रतिक्रिया