काठमाडौं : संगीतकार, गायक तथा गीतकार शम्भुजित बाँस्कोटा ‘हरिभक्त कटुवाल स्मृति मितेरी प्रतिभा सम्मान’ र डा.ओमवीरसिंह बस्न्यात ‘पारिजात स्मृति मितेरी साहित्य सम्मान’ बाट सम्मानित भएका छन् । दुवैजनालाई मितेरी नेपालको आयोजनामा शनिबार आयोजित आदिकवि भानुभक्त आचार्यको १९९औँ जन्मजयन्तीको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य–सचिव एवं साहित्यकार डा. ध्रुवचन्द्र गौतमले प्रमुख अतिथिको आसनबाट उक्त सम्मान अर्पण गर्दै दुवै प्रतिभाले आआफ्ना क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गरे । मितेरी नेपालका उपाध्यक्ष इ. महेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न सोही कार्यक्रममा ‘मितेरी’ वार्षिक साहित्यिक पत्रिकाको चौथो अंकको विमोचन पनि गरिएको थियो ।
त्यस अवसरमा प्रा. रामप्रसाद दाहाल, महेन्द्र गुरुङ, यादव भट्टराई, ललिता दोषी, शम्भु गुरागार्इंलगायतले आदिकवि भानुभक्त र सम्मानित व्यक्तित्वको योगदानको चर्चा गरेका थिए भने कविहरू डा. रामप्रसाद ज्ञवाली, भुवनहरि सिग्देल, प्रियंवदा काफ्ले, देवी नेपाल, शान्ति रिसाल, संगीता शर्मा, सविता श्रेष्ठ ‘बेहोसी’ लगायतले कविता वाचन गरेका थिए । (सौस)
प्रतिक्रिया