दार्चुला । बहुूुल्य यार्सा टिप्नका लागि गैरकानुनी रूपमा व्यक्तिहरू पाटन छिर्ने गरेका छन् । स्थानीय प्रशासनले यार्सा संकलनका लागि विभिन्न नियम बनाएपनि संकलनकर्ताले पैसा कमाउने दाउमा त्यसलाई उल्लघंन गरिरहेका हुन् ।
पाटनहरू ठुलो हुने र सुरक्षाकर्मी न्यून हुने भएका कारण गैरकानुनी धन्दा बढिरहेको छ । यार्सा संकलनका लागि १६ वर्षमुनिका बालबालिकालाई लैजान नपाउने, सञ्चारका सेटहरू प्रयोग गर्न नपाउने, अन्य जडिबुटीलाई क्षति गर्न नहुने जस्ता नियम बनाएपनि त्यो कार्यन्वयन हुन सकेको छैन । यार्सा पाटनमा १६ वर्ष मुनिका बालबालिकाहरूलाई जान नदिने भन्ने व्यवस्था यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा स्पष्ट उल्लेख छ । तर, दार्चुलाका यार्सा पाटनहरूमा दुधे बालकदेखि १६ वर्षमुनिका सयौँ बालबालिकाहरू यार्सा पाटनमा गएका छन् ।
मुख्यगरीे लेकाली भेगका स्थानीयहरू घरमा ताला लगाएर पशुचौपाया सबै लगी लेकतिर जाने चलन छ । मुख्य गरी दार्चुलाका व्याँस, राप्ला, खण्डेश्वरी, घुषा क्षेत्रका स्थानीयहरू अहिले यार्सा संकलन गर्ने सिजनमा पशुचौपायासहित घरमा ताला लगाएर लेक अर्थात् यार्सा पाटनमा पुगेका छन् । पछिल्लो समय यार्सा पाटनमा अनुमति पत्र लिएर मात्रै प्रवेश गर्न पाउने व्यवस्थाअनुसार यार्सा पाटनमा प्रवेशका लागि १६ वर्ष नाघेकालाई मात्रै अनुमति पत्र दिनुपर्ने व्यवस्था निर्देशिका स्पष्ट व्यवस्था गरिएको छ ।
यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा जेठको दोस्रो हप्तादेखि असार मसान्तसम्म यार्सा संकलन गर्नका लागि यार्सा पाटन खुल्ला गरिने र १६ वर्ष नाघेका व्यक्तिलाई मात्र स्वीकृत दिने व्यवस्था छ । तर, दार्चुलाका विभिन्न यार्सा पाटनमा १६ वर्ष मुनिका मात्रै नभई दुधे बालकहरू लिएर समेत उनीहरूका आमा यार्सा टिप्न पुगेका छन् ।
केही दिनअघि एक दुधेबालकको मृत्यु भएको खबर समेत सार्वजनिक भएको छ । यस्तै, यार्सा टिप्न गएका १२ वर्षीय बालकको हिउँमा चिप्लेर ज्यान गएको छ । व्याँस गाउँपालिका–२ दुम्लिङ गोठान बस्ने दिलिपसिँह विष्टका १२ वर्षीय छोरा अनिश विष्टको दुधिवन क्षेत्रमा यार्सा टिप्ने क्रममा हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए ।
हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूको मुख्य आम्दानी यार्सा गुम्बा भएकाले पनि हिमाली क्षेत्रका नागरिकहरू घरमा ताला लगाएर लेकतिर जाने गरेका छन् । एक÷डेढ महिनाको यो अवधिमा यार्सा संकलन गरी वर्षभरिको खाद्यन्नको जोहो गर्न समेत हिमाली क्षेत्रका नागरिकहरू बालबालिकाहरू लगेर यार्सा पाटनमा जाने गरेका छन् ।
निर्देशिकामा बालबालिकाहरूलाई यार्सा पाटनमा जान रोक लगाएको भएपनि बालबालिकाहरूले नै बढी यार्सा संकलन गर्न सक्ने भएकाले अभिभावकहरूले निर्देशिका विपरीत बालबालिकाहरू लगेर जाने गरेका हुन् । एकातिर निर्देशिका, अर्काेतिर वर्षभरीको खाद्यन्नको जोहो गर्न आम्दानी गर्नुपर्ने बाध्यता हिमाली क्षेत्रका नागरिकहरूको रहेको छ । यार्सा सिजनाका वेला हिमाली क्षेत्रमा सञ्चालित अधिकांश विद्यालयहरू नै बन्द गर्ने गरिएको छ । बढी जसो बालबालिकाहरू लेकतिर जाने गर्दछन् ।
मृतकको बिमा सुविधा अन्यौलमा
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यो वर्षदेखि पहिलो पटक यार्सा पाटनमा बिमा सुविधा लागु गरेको छ । यार्सा पाटनमा अनुमति पत्र लिएकाहरूमध्ये २० जनालाई १० लाखका दरले दुर्घटना बमा उपलब्ध गराउने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।
तर व्याँस गाउँपालिका–२ स्थित दुधिवन क्षेत्रमा ज्यान गुमाएका अनिशलाई बिमा सुविधा उपलब्ध गराउने कार्यमा अन्यौलता देखिएको छ ।
मृतक अनिशसँग अनुमति पत्र भए बिमा सुविधा दिइने अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यष चक्रसिँह ह्याकीले बताए । यता, यार्सा पाटनमा गएका बालकलाई पनि बिमा सुविधा दिइनुपर्ने स्थानीयहरूको भनाइ छ । १६ वर्ष मुनिका बालबालिकाहरू यार्सा पाटनमा प्रवेश दिइएपछि बिमा सुविधा पनि दिइनुपर्ने उनीहरूको तर्क छ ।
प्रतिक्रिया