उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ । उपप्रधानमन्त्री यादव नेतृत्वको फोरम मुलुकको तेस्रो ठूलो राजनीतिक शक्ति हो । पूर्वप्रधानमन्त्री डा. भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले गत स्थानीय, प्रदेश र संघीय निर्वाचनमा राम्रो नतिजा प्रदर्शन गर्न सकेन अर्थात् मत तथा सिट संख्यामा हिसाबले राष्ट्रिय मान्यतासमेत प्राप्त गर्न सकेन । तर, यादव नेतृत्वको फोरमको भने संघीय संसद् र प्रदेश २ को संसद्मा उल्लेखनीय उपस्थिति छ । प्रदेश ५, प्रदेश–१ र र सुदुरपश्चिम प्रदेशमा पनि फोरमको उपस्थिति छ । यी दुई पार्टीले उठाउँदै आएका मुद्दा तथा एजेन्डा करिब करिब समान छन् । पहिचानका आधारमा संघीयता हुनुपर्ने मुद्दा यी दुवै पार्टीले उठाउँदै आएका छन् । साथै यी दुवै पार्टीका अधिकांश नेताहरूको पृष्ठभूमि वामपन्थी राजनीति हो । डा. भट्टराई त माओवादी जनयुद्धको नेतृत्व तहमै थिए भने उपेन्द्र यादव पनि केही वर्ष माओवादीमा आबद्ध थिए । माओवादीले मधेसीलाई हेर्ने दृष्टिकोण फरक परेको भन्दै उनले माओवादी छाडेर मधेसी नजाधिकार फोरम गठन गरेका थिए । त्यही फोरमले नै पहिलो मधेस आन्दोलन गरेको हो । अन्तरिम संविधानमा संघीयताको सुनिश्चित गर्न प्रमुखदलहरूलाई बाध्य पारेको यादव नेतृत्वको फोरमले नै हो । वर्तमान शासन व्यवस्था भनेको संघीयता र गणतन्त्रसहितको लोकतन्त्र हो । जसमध्ये गणतन्त्र स्थापनाका लागि डा. भट्टराईको ठूलो योगदान रहेको छ भने संघीयताका लागि यादवको ठूलो योगदान रहेको छ । यी दुई पार्टीको एकीकरण सबै हिसाबले स्वागतयोग्य हो ।
फोरम र नया“ शक्तिबीचको एकीकरणपछि मुलुकको राजनीतिक कोर्ष कतातिर जाला ? भन्ने सन्दर्भमा धेरैले चासो दिएका छैनन् । धेरैले यो घटनालाई महत्व दिएका छैनन् । किनकी, यी दुई पार्टीको एकीकरणले तत्काल निर्णायक नतिजा दिने अवस्था छैन । पार्टी एकीकरणका सन्दर्भमा कहिलेकाहीँ २ मा २ जोड्दा ५ हुन्छ । तर, कहिलेकाहीँ तीन मात्रै हुन्छ । यो एकीकरणले कस्तो नतिजा देला ? यसै भन्न सकिने अवस्था छैन । तत्कालको सम्भावना भनेको उपेन्द्र यादव नेतृत्वको समूह सत्ताबाट बाहिरने हो । तर, यो समूह बाहिरिँदैमा सत्ता समीकरणमा कुनै परिवर्तन हुनु सम्भावना छैन । सत्तारूढ पार्टी नेकपाको करिब करिब दुईतिहाइ बहुमत छ । बरू प्रदेश २ को सरकारको नेतृत्वबाट फोरमले हात धुनुपर्ने स्थिति आउन सक्छ । पहिलो दल नेकपा र तेस्रो दल राजापा मिल्दा प्रदेश २ मा बहुमत पुग्ने अवस्था छ ।
डा. भट्टराई र यादव चतुर राजनीतिक खेलाडी हुन् भन्ने कुरा उनीहरूको विगतले नै प्रष्ट गरिसकेको छ । त्यसैले यो एकीकरणको पृष्ठभूमिमा केही न केही खिचडी पाकेको हुनुपर्ने विश्लेषण राजनीतिक विश्लेषकहरूले गरेका छन् । अर्को मधेसीदल राजपा पनि केही साताभित्र यो एकीकरणमा सामेल हुने समाचार सार्वजनिक भएको छ । यो समाचारलाई दुवै पक्षले पुष्टि गरेका छन् । यदि, यो एकीकरण सम्भव भयो भने संसद्मा नेपाली कांग्रेसकै हाराहारीको अर्को सशक्त प्रतिपक्षीदल बन्न सक्छ र आगामी निर्वाचनमा वर्तमान सत्ताविरूद्ध सबै प्रतिपक्षीहरूको गठबन्धन बन्ने सम्भावना रहन्छ । त्यो दिशातिर मुलुकको राजनीति गइरहेको हो कि ? भन्ने संकेत देखिएको छ । यो संकेतलाई नजर अन्दाज गर्न मिल्दैन । नेपाली राजनीतिको चरित्र यस्तो छ कि ? आकार ठूलो हुने र सत्तामा पुग्ने सम्भावना जुन पार्टीको देखिन्छ त्यही पार्टीतिर एकोहोरिने जमात पनि नेपाली राजनीतिमा कम छैन । त्यसैले अंक गणितमा २ मा २ जोड्दा ४ हुन्छ तर राजनीतिमा ३ पनि हुनसक्छ, ५ पनि हुनसक्छ भनिएको हो ।
प्रतिक्रिया