मजदुरसम्म पुग्न नसकेको मे दिवस

बुधबार विभिन्न कार्यक्रमका साथ एक सय ३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईको छ । इस्वी संवत्को मे १ तारिकका दिन विश्वभरका श्रमिक वर्गद्धारा मनाइने यो पर्वलाई मे दिवस पनि भनिन्छ । संयुक्त राज्य अमेरिकाको सिकागो सहरका मजदुरहरूले आन्दोलनको माध्यमबाट आफ्ना हक अधिकार प्राप्त गरेको सम्झनामा मे दिवस मनाउन थालिएको हो । त्यतिवेला अमेरिका सामन्तवादी युगबाट भरखर प“ुजीवादी युगमा प्रवेश गरेको थियो । तर दिनमा २०–२२ घण्टा काम गरेर पनि पेट भर्न र परिवारको पालनपोषण गर्न मजदुरहरू असमर्थ हुन्थे । उनीहरूको जीवन नारकीय थियो । नरकीय जीवनबाट मुक्तिका लागि उनीहरूले सन् १८८६ को मे १ मा संघर्षको पहिलो बिगुल फुके । करिव १५ दिन चलेको यो संघर्षमा मजदुरहरूको धेरै ठूलो बलिदानी भयो । यो बलिदानले मजदुरहरूको हक अधिकार स्थापित गरायो । यही बलिदान र उपलव्धिको सम्झनामा मे दिवस मनाउने गरिएको हो । विश्वका करिब २ सय देशमध्ये नेपाललगायत ८० देशमा सरकारी विदा दिएरै मे दिवस मनाउने गरिन्छ । नेपालका सन्दर्भमा ०४६ सालको जनआन्दोलन सफल भएपछि सरकारी स्तरबाटै मे दिवस मनाउन सुरु गरिएको हो । त्यसभन्दा अघि मे दिवसलाई सरकारले खासै मान्यता दिएको थिएन ।

विश्वका विकसित मुलुकहरूको उदाहरण हेर्ने हो भने मजदुरहरूले आफ्नो बर्गिय हकहितका लागि मात्रै आन्दोलन उठाएका छैनन् । समग्र जनताकै मुक्तिमा मजदुरहरूको निर्णायक भुमिका रहेको पाइन्छ । कम्युनिस्ट पार्टीहरूले मजदुर वर्गकै सहयोगमा जनवादी राज्य सत्ता कायम गरेको इतिहास एकातिर छ भने लोकतान्तिक कित्ताका पार्टीहरू पनि मजदुरकै जगमा निर्माण भएको देखिन्छ । नेपालका सन्दर्भमा पनि धेरै हद सम्म यही कुरा लागु भएको छ । आजभन्दा ७४ वर्ष अघि राणाशासन विरुद्ध खुलेआम सार्वजनिक संघर्षको पहिलो उद्घोष विराटनगरका मजदुरहरूले गरेका थिए । त्यही आन्दोलनको जगमा नेपालमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो भन्दा फरक पर्दैन । गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले उक्त मजदुर आन्दोलनको नेतृत्व गरेका थिए । अहिले पनि मुलुकको राजनीति नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको सेरोफेरोमा नै घुमिरहेको छ । ३० वर्षको पञ्चायती शासन बाहेक प्राय सबै समय नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले नै शासन सत्ता संहालेको अवस्था छ । केही अपवादलाई छाडेर मजदुरको पृष्ठभूमी भएका नेताहरूले नै सरकारको वागडोर संहालेका छन् । तर नेपाली आममजदुरको अवस्था ७४ वर्ष अघिको भन्दा भिन्न छैन । जुन वर्गको सहयोगमा सत्तामा पुगेको हो त्यही वर्गमाथि शोषण गर्ने सिलसिला जारी छ । मजदुरको आडमा शासन सत्तामा पुगेका नेताहरूको मात्रै कुरा होइन , मजदुर संगठनको नेतृत्वमा रहनेहरूको जीवन शैली पनि कुनै ठूला उद्योगी व्यापारी भन्दा कम तामझामपूर्ण छैन । नेपालका मुख्य मजदुर संगठन भनेका ट्रेड युनियन कांग्रेस र जिफण्ट हुन् । यी दुवै संगठनको नेतृत्वमा रहनेहरूको जीवन शैली उद्योगपति विनोद चौधरीको भन्दा कम छैन । ट्रेड युनियनको नेतृत्वमा पुग्नु अघिसम्म चप्पल लगाउन समेत धौधौ भएकाहरू आज अलिसान महलमा बस्छन् करोडौंका गाडी चढ्छन् । यिनै नेताहरूले तामझामका साथ मे दिवस मनाए । तर, वास्तविक मजुरहरूले भने मे दिवसको मनाउने फुर्सद पाएनन् । मजदुर नेताहरूले पाँचतारे होटलमा स्याम्पेन फोर्दै मे दिवस मनाई रहेका बेला बास्तविक मजदुरहरूले गिटी कुटी रहेको, बालुवा चालिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । नेपालका लागि यहाँ भन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्ला ?

नेपालको मजदुर समस्या श्रमिक र रोजगारदताबीचको मामिला हो या मजदुरका नाममा राजनीति गर्नेहरू र वास्तविक मजदुरबीचको मामिला हो ? यो प्रश्नको सही उत्तर नखोज्ने हो भने मुलुकको न त भौतिक विकास संभव छ न त आर्थिक समृद्धि सम्भव छ । नेपाल औद्योगिक तथा व्यवसायिक युगका प्रवेश गरेको २०४६ सालको परिवर्तन पछि हो । तर उद्योग तथा व्यवसाय फस्टाउन सकेको छैन । यो फष्टाउन नसक्नुमा रोजगारदाताहरूले मजदुरलाई दोष दिएका छन् , मजदुरले रोजगारदाताहरूलाई दोष दिएका छन् । सरकार तमासे बनिरहेको छ । जबसम्म रोजगारदाताले मुनाफा आर्जन गर्न सक्दैनन् तबसम्म मजदुरको हित हुन्छ भन्ने सोच्नु अत्यान्त गलत हो । यसैगरी, रोजगारदाताको मुनाफा मजदुरको श्रम तथा इमान्दारितासँग गाँसिएको हुन्छ । जहा इमान्दार तथा जाँगरिला मजदुर छन्, श्रमको मूल्य बुझेका मालिक छन्, ती प्रतिष्ठानहरू फस्टाएका छन् । मजदुरको अवस्था पनि राम्रो छ । जहा“ कामचोर र ठग मजदुर छन्, श्रम शोषणमा दत्तचित्त मालिक छन्, ती प्रतिष्ठान ओरालो लागेका छन् । मजदुरको अवस्था पनि गएगुज्रेको छ ।

प्रतिक्रिया