ती मनमोहन र यी ओली

नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनका धरोहर मनमोहन अधिकारीको निधन भएको २० वर्ष पुगेको छ । २०५६ साल बैशाख १३ गते मनमोहनको निधन भएको थियो । उनको २० औं स्मृति दिवसका अवशरमा शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरियो । मनमोहन अधिकारी स्मृति प्रतिष्ठानद्धारा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मनमोहनद्धारा आरम्भ गरिएको आर्थिक संवृद्धि तथा विकासको अभियानलाई पुरा गर्न आफु कटिवद्ध भएको बताए । प्रधानमन्त्री ओलीले मात्रै होइन समारोहका सबै बक्ताहरुले मनमोहनको मार्गदर्शन अनुसार अघिबढ्न आफुहरु कटिवद्ध रहेको बताए । कुनै व्याक्ति विशेषको स्मृतिमा आयोजना हुने सभामा बक्ताहरुले बढाई चढाई बोल्ने प्रचलन छ । मनमोहनको स्मृति सभामा पनि सहभागीहरुले त्यसरी नै बोले । बोल्न , घोषणा गर्न सजिलो छ तर कार्यान्वयन पक्ष जटिल छ । नेपालको राजनीतिमा मनमोहनको अतुलनीय योगदान छ भन्ने होइन । उनी इमान्दारिताको मामिलामा भने अतुलनीय नै हुन् । उनले आफ्नो जीवनदर्शनबाट दिएको शिक्षाको एउटै मात्रै पक्षलाई बर्तमान नेताहरुले अनुकरण गरे भने पनि मुलुकका लागि काफी हुन्छ । त्यो हो–‘ इमान्दारिताका साथ अघि बढ्यो भने जस्तो सुकै जटिलताको गाँठो पनि फुकाउन सकिन्छ ।’ मनमोहनले इमान्दारिताको प्रकट बोली , भाषण तथा घोषणाद्धारा मात्रै गरेनन्, उनको जीवन शैली नै त्यही खालको रह्यो । अन्यन्त सरल , भद्र र इमान्दार नेताका रुपमा मनमोहनको छवी रह्यो । उनी कुशल संगठक थिएनन् । तर उनको व्याक्तिगत छविले जनतालाई कम्युनिष्ट बन्न प्रेरित गर्यो ।

जसरी नेपाली कांग्रेसले आफ्नो पार्टीको औचित्य सिद्ध गर्नु पर्दा विपि कोइराला नेतृत्वको २०१६ सालको १८ महिने सरकारले गरेका उपलव्धीलाई आज भोलि पनि पस्कने गर्छ , त्यसरीनै नेकपाले पनि मनमोहन नेतृत्वको २०५१ सालको ९ महिने अल्पमतको सरकारले गरेका उपलव्धिलाई भजाउँदै आफ्नो औचित्य सावित गर्दै आएको छ । जबकी नेपाली कांग्रेसले विपि कोइराला नेतृत्वको सरकार बाहेक २ पटक बहुमतको सरकार चलाई सक्यो भने ८ पटक संयुक्त सरकारको नेतृत्व ग¥यो । त्यसरी नै नेकपा (तत्कालिन एमाले–माओवादी) ले पनि धेरै पटक सरकार चलाई सकेका छन् । मनमोहन बाहेक पनि नेपालमा पुष्पमकल दाहल प्रचण्ड , माधवकुमार नेपाल , झलनाथ खनाल , डा. बाबुराम भट्टराई र केपी ओली गरी ५ जना कम्युनिष्ट प्रधानमन्त्री बनिसकेका छन् । प्रचण्ड र ओली त २ पटक प्रधानमन्त्री बनिसके । तर उनीहरु अहिले पनि आफ्नो पार्टीको औचित्य सावित गर्नु पर्दा मनमोहनकै उदाहरण दिने गर्छन् । यो मुलुकका लागि ठूलो दुर्भाग्य हो । तर मनमोहनको व्याक्तित्व र योगदानबारे भावि पुस्तले थाह पाउने मौका पनि हो यो ।

मनमोहनले करिव ९ महीना मुलुकको शासन सत्ताको बागडोर संहाले , त्यो पनि अल्पमतको । संसदमा बहुमत नभएको सरकारको हात खुट्टा बाँधिएको हुन्छ । विधेयक पास गर्न समेत प्रतिपक्षसँग गुहार माग्नु पर्ने अवस्थाको सरकारको नेतृत्व मनमोहनले गरेका थिए । तर विपि कोइरालालाई छाडेर अहिले सम्म नेपालमा जो जति प्रधानमन्त्री बने तीमध्ये सबै भन्दा सकारात्मक छाप मनमोहनले छाडे । राज्यको मुख्य दायित्व बृद्ध , अपांग , गरिव तथा निमुखाहरु प्रति हो भन्ने मान्यता नेपालको इतिहासमा सर्वप्रथम मनमोहनले स्थापित गराए । यसैगरी मुलुकको विकासको प्रारम्भ गाउँबाट सुरु गर्नुपर्छ भन्ने मार्गचित्र पनि नेपालको इतिहासमा सर्वप्रथम मनमोहनले कोरे । यी मान्यता तथा मार्गदर्शन मुलुकका सबै पार्टीका निम्ती अनुकरण योग्य हुनुको मुख्य कारण भनेको मनमोहनको इमान्दारिता नै हो । उनले व्याक्तिगत स्वार्थ तथा महत्वकाक्षा राखेर कहिल्यै पनि निर्णय गरेनन् । चर्का भाषण कहिल्यै गरेनन् । कार्यन्वयन हुन नसक्ने घोषणा कहिल्यै गरेनन् , फोस्रा आश्वसन र झुठा कुरा गरेर जनतालाई कहिल्यै ढाँटेनन् । यदी वर्तमान प्रधानमन्त्री ओलीले पनि मनमोहनको सच्चा कार्यकर्ताका रुपमा भावि पुस्ताले आफुलाई संझोस भन्ने चाहने हो भने व्याक्तिगत स्वार्थ तथा महत्वकाक्षा अहिलेदेखि नै त्यागुन । चर्का भाषण गर्न अहिले देखि नै छाडुन , कार्यन्वयन हुन नसक्ने घोषणा अब नगरुन , फोस्रा आश्वसन र झुठा कुरामा जनता अलमल्याउने चेष्टा बन्द गरुन् ।

प्रतिक्रिया