मेहनत गर्ने हो भने बाँच्न कठिन छैन

दोलखा जिल्ला साविकको मेलुङ गाविस–७ मा जन्मिएकी कल्पना भण्डारीलाई बाल्यकालमा अरूले जस्तै किताब बोकेर स्कुल जाने रहर थियो । पढने जीवनमा केही गर्न सकिएल भन्ने उनलाई नलागेको होइन । तर, घरको आर्थिक अवस्था कमजोर भएकाले उनले शिक्षाको अबसर पाउन सकिनन । घास, दाउरा र घरको काम धन्दामा नै बित्यो बाल्यकाल र किशोर अवस्था ।

जीवन के हो ? भविष्य कसरी बनाउने भन्ने सोच्न नभ्याउँदै १७ बर्षको कलिलै उमेरमा विवाह भयो उनको । कल्पनाको श्रीमान् काठमाडौंमा बसेर होटलमा मजदुरीको काम गर्थे । विवाहपश्चात् कल्पना श्रीमानसँगै काठमाडौं आएर बस्न थालिन् । करिब ७ वर्ष अघि हो उनले पहिलोपटक काठमाडौंको कोलाहकल पूर्ण वातावरण देखेकी ।

सुरुका दिनमा उनलाई यो काठमाडौंको भिड र कोलाहाल आफूले गाउँमा हुर्के खेलेको ठूला ठूला पहाडभन्दा पनि गह्रौं र भयानक लाग्न थाल्यो । कसरी बस्दा हुन् यस्तो भिडभाडमा मान्छे ? भन्ने सोच्थिन् उनी । सुरुका दिन त्यसै बिते । समय बित्दै जाँदा उनलाई एक्लै दिनभरी कोठामा धुम्धुम्ती बस्नुपर्दा झनै अत्यास लागेर आउन थाल्यो । बिहान ५ बजे कोठाबाट काममा गएका श्रीमान राती ११ बजे फर्कन्थे । श्रीमानले त्यसरी मिहनत गर्दा पनि उनको दुई जनाको परिवारलाई गुजारा टार्न मुस्किल पथ्र्यो ।

कल्पना दिन कोठा एक्लै बसेर बित्थें । एक्लै बस्न पर्दा मनमा अनेक कुराहरू आउनु स्वभाविकै हो । उनी एक्लै जाउन पनि कहाँ ? कसैलाई चिनेको छैन, न त यहाँको वातावरण थाहा छ । उनका अघि अरू विकल्प पनि थिएन । यसरी बसेर दिन बिताउन भन्दा उनलाई श्रीमानसँगै काम गर्न उचित लाग्न थाल्यो । श्रीमान सँगै आफूले पनि काम गर्दा एकातिर समयको सदुपयोग हुने र अर्को तर्फ दुई चार पैसा कमाएर श्रीमानलाई सहयोग हुने ठानिन् उनले ।

उनले एक दिन श्रीमानलाई प्रस्ताव गरिन्, ‘म पनि तपाइसँगै काममा जान्छु कति घरमा एक्लै बसेर समय बिताउनु, ? काम गरे केही कमाइ पनि होला र समय पनि बित्छ । उनको प्रस्तावमा सुरुमा श्रीमानले सहमति जनाएनन्, आनाकानी गरे । ‘मैले काम गरेकै छु, तिमिले किन गर्नुप¥यो फेरि तिम्ले के काम गर्न सक्छौं ?’ भने । कल्पनाले निकै कर गरिपछि उनलाई श्रीमानले आफैँले काम गर्ने होटलमा लिएर गए ।
होटलमा कल्पनाको काम ग्राहकले खाएको जुठो भाडा सफा गर्नु थियो । उनीसँग अरू सिप पनि थिएन ।

यसबापत उनले दैनिक एक सय रूपैयाँ पाउँथिन् । ‘श्रीमान्लाई निकै कर गरेर सुरु गरेको काम त्यो पनि अरूका जुठा भाडा माझ्ने ! मलाई त्यो काम गर्दा कता कता दुख पनि लागेको थियो , तरु अरू काम गर्न न मसँग पढाइ थियो न कुनै सीप,’ उनले भनिन् । उनलाई त्यो काम राम्रो लागेको थिएन । तर, अरू केही गर्न उनले शैक्षिक योग्यता र सिप थिएन । त्यसैले नचाहदाँ नचाहँदै उनी त्यो काम गर्न बाध्य थिइन् । त्यो पनि छाडे श्रीमानले फेरी अरू काम गर्न नदेलान भन्ने चिन्ता थियो उनलाई ।

उनको दैनिकी जसो तसो चल्दै थियो । एक दिन उनले काम गर्ने होटलमा महिला अधिकार तथा विकास केन्द्रका कर्मचारीहरू खाजा खाँदै लघुवित्त सम्बन्धी काम कर्जा तथा बचतका बारेमा एक आपसमा छलफल गरेको उनले सुनिन् । उनीहरू भन्दै थिए, ‘फलानो ऋणी असल छ समयमा नै कर्जा तिर्ने, उद्यम पनि कति राम्री गरेको छोटै समयमा राम्रो प्रगति गरिन् ।’ उनीहरू महिलाले गरेको प्रगति र उनीहरूका अवस्थाका बारेमा कुरा गर्ने थिए ।

‘सरहरूको कुरा सुन्दा दुःख पाउने अरू पनि रहेछन्, मिनत गर्ने हो भने प्रगति गर्न सकिने रहेछ भन्ने लाग्यो । मलाई पनि लगानी गरि दिने कोही पाए आफू पनि केही गर्न सक्थें भन्ने लाग्यो’ उनले भनिन, ‘जेसुकै होस यहि सरहरूसँग कुरा गर्छु भन्ने आँट गरे, होटलबाट बाहिर जाँदै गर्नुभएको उहाँँहरूलाई भने, ‘मैले तपार्इंहरूका कुरा सुने, मलाई पनि लगानी गर्ने कोही पाए केही गरी खान मन छ कति दिन यसरी अरूको भाँडा माझ्नु बरु आफैँ केही गरुँ भन्ने सोचेको थिए, तपाईंहरूका कुरा सुनेर अझ मन बढ्यो ।’

महिला अधिकार तथा विकास केन्द्रका कर्मचारीले उनलाई संस्थाको लघुवित्त कार्याक्रम र आबद्ध हुनको लागि सहयोग गरे, उनले गर्नुपर्ने प्रक्रियाका बारेमा बताइदिए । संस्थाले दिने सेवा वर्गभित्र उनी परेकी थिइन् । उनले श्रीमानसँग सो बारेमा सल्लाह गरिन् । श्रीमानको सहमतिमा आफू बसेको घरभेटी सहितको सहयोगमा आफूजस्तै १० जना महिलाको समूह बनाइन् । पुख्र्यौली घर एकै ठाउँ भएकाले पनि उनलाई घरभेटीले पूर्ण सहयोग गरेको थिइन् ।

कल्पनाले सुरुमा १० जनाको समूह बनाएर उनले महिला अधिकार तथा विकास केन्द्रमा लघुवित्त तालिमको लागि सम्पर्क गरिन् । कल्पनालाई कहिले कर्जा पाइएला र आफ्नो व्यवसाय चलाउला भन्ने हतारो थियो । आजै भोली नै काम गरु भन्ने हुटहुटी थियो उनको मनमा । तालिम लिएपछि कारखाना चोक महिला केन्द्रबाट ०६७÷११÷१७ मा संस्थाले उनलाई बिना धितो २०,००० रूपैयाँ कर्जा दियो । उनले उक्त कर्जाबाट एउटा ठेलागाढा, भाँडाकुडा र आवश्यक सर सापन किनिन् । त्यसपछि सुरु भयो कल्पनाको ‘ठेलामा होटल व्यवसाय’ । अब उनी अरूका जुठा भाँडा माझ्नेबाट साहुनी भएकी थिइन् ।

कल्पनाले होटलमा मजदुरी गर्दा सिकेका सिप र श्रीमानको सहयोगमा ठेलामा होटल व्यवसाय थालिन् । सुरुका दिनमा उनले पनि केही अप्ठ्यारो क्षणहरूको सामना गर्नुप¥यो । तर, उनले आफ्नो कामलाई मेहनतका साथ अघि बढाउँदै लगिन् । काम गर्दै जाँदा उनलाई खर्च पनि बढाउनु पर्नेभयो । त्यसैले उनले संस्थासँगको कारोबार पनि इमान्दारिताका साथ नियमित गर्दै गइन् । एक वर्षसम्म ठेलामा व्यापार गर्ने र कर्जा तथा बचतको कारोबार महिला अधिकार तथा विकास केन्द्रसँग गर्दै केही रकम बचतसमेत गरिन् ।

होटल व्यावसायका बारेमा जानकार उनका श्रीमानले श्रीमतीको मेहनत र काम गर्ने क्षमता देखेर उक्त व्यवसायलाई अलिक ठूलो बनाउने सुर गरे । त्यसका लागि लगानी बढाउनु आवश्यक थियो । उनका अगाडि जाने ठाउँ त्यही महिला अधिकारबाहेक अरू थिएन । त्यहाँ गए धितो पनि नचाहिने र पहिले पनि कारोबार गरेको भएकोले पुनः त्यही गइन् । उनले संस्थासँग छलफल गरिन संस्थाले पनि उनको इमान्दारिता र परिश्रम हेरेर दोस्रो पटक ४०,००० रूपैयाँ कर्जा दियो । आफ्नो बचत र संस्थाको कर्जा गरी जम्मा ७०,००० पुँजीलगानी गरी श्रीमान श्रीमती दुवै मिलेर सानो होटल चलाउने निधो गरे । मान्छेमा काम गर्ने चाहना भयो र साथ दिने ठाउँ भयो भने गरी खान सहज छ भन्ने उदाहरण पनि हुन उनी । ‘परिश्रमको कमाइ मिठो हुन्छ आज मलाई घर कसरी चलाउने दुई चार पैसाको जोहो कसरी गर्ने चिन्ता छैन ।’ उनले आत्मविश्वासका साथ भनिन् ।

उनीहरूले पनि स्वयम्भुमा मासिक ३ हजार भाडा तिर्ने गरी कोठा लिएर होटल सञ्चालन गरे । दुवै जनाले मिहनत गरी होटलाई अझ बढाउन लागे । अहिले उनका एउटा छोरी काठमाडौंकै एक निजी स्कूलमा पढछिन् । होटलमा चाप बढदै जाँदा एक जना काम गर्ने मान्छेसमेत राखेका छन् । आफ्नो सफलताको श्रेय महिला अधिकार तथा विकास केन्द्रलाई दिने कल्पना अहिले उक्त केन्द्रको केन्द्र प्रमुख भई केन्द्र सञ्चालन गर्ने भएकी छन् । केही महिना अघि मात्रै उनले सो संस्थाबाट १ लाख ७५ हजार रूपैयाँ कर्जा लिएकी छन् । २० हजार बाट सुरु भएको उनको व्यवसाय अहिले करिब पाँच लाख ५० हजार को भएको उनले बताइन् । कुनै वेला एक सयमा मजदुरी गर्ने उनको कमाइ अहिले दैनिक ४ हजारसम्म पुगेको छ । यही व्यवसाय र संस्थाको सहयोगमा एक ट्याक्सी र काठमाडौंमा घडेरीसमेत जोडिसकेकी छन् । अब ट्याक्सी र होटलको कमाइले घर बनाउने सोचमा रहेको उनले बताइन् ।

अहिले कल्पना कुशल गृहणी, सफल व्यवसायी र इमान्दार संस्था सञ्चालक भएकी छन् । काम गर्न पैसा कमाउन शैक्षिक योग्यताको फाइल मात्रै चाहिन्छ भन्ने होइन । आफूमा इच्छा शक्ति हुने हो र इमान्दारिता पूर्वक काम गर्ने हो भने जीवन चलाउन कष्ट भने छैन । काठमाडौं आएका सुरुका दिनमा उनलाई आजको अवस्थामा पुगिएला भन्ने लागकै थिएन । कुनै दिन अरूका भाडा माझेर गुजारा गर्ने उनले आज अरूलाई समेत रोजगारी दिन सक्ने भएकी छन् ।

प्रतिक्रिया