भने अनुसारको गीत नबजाउँदा झडप

ताप्लेजुङ । बिहेमा आफूले चाहे अनुसारको गीत नबजाएको विषयमा विवाद हुँदा ताप्लेजुङमा तीन जना घाइते भएका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ सिमलबोटेमा आइतवार राती आफूले भनेजस्तो गीत नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

राती साढे २ बजे स्थानीय दिलबहादुर तामाङको छोरीको विवाहमा भने जस्तो गीत नबजाएको विषयमा युवाहरूबीच विवाद भएको थियो । विवादका क्रममा सोही स्थानका चार-पाँच जनाको समूहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना गएका फुङलिङ नगरपालिका–८ दोखुका ३८ वर्षीय कर्णबहादुर सुनुवार, ३० वर्षका पेम्बा शेर्पा र ३२ वर्षका पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागि घाइते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया