काठमाडौं । २९ मंसिरमा राजधानीमा उद्घाटन भएको नेपाली कांग्रेस महासमिति बैठकको उद्घाटन सत्रमा रोचक दृश्य देखिएको थियो, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडलबीच नेताहरूले जबरजस्ती हात मिलाइदिएका थिए । कांग्रेसका पुराना तथा पछिल्लो समय विभिन्न पार्टीमा रहेर कांग्रेसमै आएका उपसभापति विजयकुमार गच्छदारको आग्रहमा अर्का उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले दुवैको हात मिलाइदिएका थिए ।
महासमिति अगाडि दुवै नेताबीच त्यो अवस्थामा पुगेको थियो सम्बन्ध । तर, पुस ८ गते महासमिति बैठकको समापन हुँदा पुनः दुवै नेताले आपूmहरूको डिप लभ प¥यो भनेर कार्यकर्तामाझ घोषणा गरे । महासमितिमा केन्द्रीय सभापति र जिल्ला सभापतिहरूबीच एक प्रकारको द्वन्द्व नै चर्कियो । बैठक हात हालहाल सम्मको अवस्थामा पुगेको थियो । त्यसको विषय थियो, केन्द्रीयस्तरका वा केन्द्रीय सदस्य पनि तल्लो तहबाटै चुनिएर आउनुपर्ने । जिल्ला सभापतिहरूको यो निर्णय नमान्दा विधान नै नबनाई महासमिति बैठक सकिने भय नेता कार्यकर्तामा थियो ।
जतिबेला हामीले सभापतिहरूलाई जे आश्वासन दिएका थियौँ, त्यो पूरा गरौँ भनेर अहिले पनि भनिरहेको छु । तलैबाट चुनिएर आउँदा हुन्छ भनेर मैले भने पनि सभापति भैगो भन्नुहुन्छ, विधान कार्यान्वयनका लागि १४औँ महाधिवेशनको कार्यतालिका ल्याउँदापनि सिधै इन्कार गरिदिनुभयो । यस्तो पाराले कसरी चल्छ ?– नेता पौडेल
जिल्ला सभापतिहरूले अवरोध गर्ने भएपछि सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरूका मागलाई केन्द्रीय समिति बैठकबाट समावेश गर्दै पास गर्ने आश्वासन दिए । त्यसपछि जिल्ला सभापतिहरू पनि विधान पारित गर्न सहमत भए । त्यसपछि पनि देउवाले चियापानका लागि भन्दै बूढानीलकण्ठस्थित निवासमा जिल्ला सभापतिहरूलाई बोलाएर माग केन्द्रीय समितिबाट सम्बोधन गर्ने बताएका थिए । तर, महासमिति बैठक सकिएको दुई महिना नपुग्दै सभापति देउवाले भने बोली फेरेका छन् । उनले बुधबार बसेको केन्द्रीय समिति बैठकमा आफूले यो विषयमा कुनै पनि आश्वासन नदिएको दाबी गरेपछि नेताहरू चिढिएका छन् ।
नेता पौडेलले महासमिति बैठकमा जिल्ला सभापतिहरूलाई दिएको बचनबाट पनि सभापति देउवा पछि हटेको आरोप लगाए । उनले भने, ‘जतिबेला हामीले सभापतिहरूलाई जे आश्वासन दिएका थियौँ, त्यो पूरा गरौँ भनेर अहिले पनि भनिरहेको छु । तलैबाट चुनिएर आउँदा हुन्छ भनेर मैले भने पनि सभापति भैगो भन्नुहुन्छ ।’ नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका बनाउँदा पनि ठाडै इन्कार गरिएको जानकारी दिए ।
‘पछिल्लो समय मैले लगातार विधान कार्यान्वयनका लागि १४औँ महाधिवेशनको कार्यतालिका ल्याउँदा सभापतिज्यूले सिधै इन्कार गरिदिनुभयो । यो ठीक छ पनि भन्नुभएन, यसमा यो गल्ती छ भनेर पनि भन्नुभएन । यस्तो पाराले कसरी चल्छ ?’ पौडेलको प्रश्न थियो । नेता कृष्णप्रसाद सिटौलाले पनि सभापति र वरिष्ठ नेताले नै जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने आश्वासन दिएको भन्दै यसको विपरीत निर्णय गर्न नहुने बताएका छन् ।
‘जिल्ला सभापतिहरूको माग धेरै राम्रो छ’, उनले भने, ‘यो मागमा वरिष्ठ नेता र सभापतिले जिल्ला सभापतिलाई आश्वासन दिनुभएको छ । त्यसकारण हामीले यस निणर्यको विपरीत जान हुँदैन ।’ यता, जिल्ला सभापतिहरूले महासमिति बैठकबाट पारित भएका विषय नचलाउन पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको भेलाले पार्टी नेतृत्वले जिल्ला सभापतिको सुझावअनुसार नै विधानलाई महासमितिबाट पारित गरेको भन्दै सो विषयलाई नचलाउन नेतृत्वलाई चेतावनी दिएका हुन् ।
जिल्ला कार्यसमिति नुवाकोटका सभापति जगदीशनरसिंह केसीले भने, ‘जिल्ला सभापतिहरूसँगको सहमति पार्टी नेतृत्वले नभुलोस, हेटौँडा हुँदै ककनी भेलाले दिएको सुझाव पार्टीले पालना गर्नुपर्छ, महासमिति बैठक समापनअघिको सहमति त्यही हो ।’ उनीहरूले सो सहमति उल्टिए असहज स्थिति पैदा हुन सक्ने चेतावनी पनि नेतृत्वलाई दिएका छन् ।
जिल्ला सभापतिहरूसहित महासमिति सदस्यले केन्द्रीय समितिमा रहेका नेताहरू महाधिवेशनमा प्रतिनिधि बन्नका लागि बुथ तहबाट नै निर्वाचनमार्फत चुनिएर आउनुपर्ने व्यवस्था गरिएको भन्दै सो विषयलाई नेतृत्वले उल्टाउन खोजेको बताएका हुन् । यस्तै, केन्द्रीय समितिमा एकपटक आरक्षण वा समावेशी कोटाबाट उम्मेदवार भइसकेको व्यक्ति अर्कोपटक पुनः उम्मेदवार बन्न नपाउने गरी महासमितिले विधान पारित गरेको उनीहरूको दाबी छ ।
कांग्रेसको केन्द्रीय समिति बैठकमा यसविषयमा छलफल शुरु भए पनि निर्णय भइसकेको छैन । तर, २८ गते बस्ने बैठकमा सो सहमति उल्टाउँदै केन्द्रीय सदस्यलाई स्वतः महासमिति प्रतिनिधि बनाउने निर्णय हुने संस्थापन उच्चस्रोतले जानकारी दिएको छ । निर्वाचनमा जाने अवस्थामा आए सभापति कमजोर हुने देउवाको आकंलन रहेको छ ।
प्रतिक्रिया