पुस्तक समीक्षा – विकृतिविरुद्धका धारिला कविता

नेपाली माटोमा जहाँसुकै फूले पनि त्यो फूलले सुगन्ध सबैतिर फैल्याउने रहेछ, त्यसैले फूल फुल्न दिनुपर्छ । एउटै माटो जस्तो लाग्छ तथापि, बीज फरक–फरक । कोही यही धरतीमा अश्लील कविता र उमेरले पनि नसुहाउने गजल लेखेर समाजलाई अश्लीलताको बाटोमा लैजान खोज्छन् त कुनै स्रष्टा सारा विकृति तथा विसंगतिविरुद्ध जुझारु ढंगले लागेकै छन् ।

विचारका कवि राजेन्द्र पौडेलको जन्म ०३३ सालमा कास्कीमा भयो । ०५० को दशकबाट काव्य यात्रामा अत्यन्त उत्साहित बन्दै अगाडि बढेका पौडेल ०६५ सालमा मात्र थोक कृति ‘हिमालयतिर हेर’ (कवितासंग्रह) लिएर देखा परेका हुन् । कवि पौडेल जनयुद्धको पाश्र्व पुष्टताका निम्ति जनतालाई विचारले बचाउँदै र सकारात्मक गति प्रदान गर्न तल्लीन युवाकवि हुन् । उनको परिचयलाई कवितासँग मात्र वा कोरा कवितामा तौल मिल्दैन । मानिस जे देख्छ, त्यही पृष्ठभूमिमा सोच निर्माण गर्छ, त्यसैगरी जुन सोच बनाउँछ कार्यरूपमा त्यसलाई उतार्ने चेष्टासमेत गर्दछ । विश्वमा चलेको प्रगतिवादी काव्यधारामा केही जल थप्ने कार्यमा इमान्दार भएर झन्डै डेढ दशकको यात्रा तय गर्ने कवि पौडेल जीवनका गोरेटोमा अविचलित यात्रीसमेत हुन् ।

अंग्रेजी साहित्यको पठन र प्राध्यापनसँग जोडिएका पौडेलले नेपाली समाजको गति र भावधारालाई राम्रोसँग समात्न पुगेको देखिन्छ । उनका कविता वाचनको कलाले प्रतिक्रान्तिकारीलाई डाह र छटपटीसमेत थपेको तथ्य पाठक तथा स्रोताका बीचबाट छिपेको छैन । ०६२÷६३ को आन्दोलनको क्रममा गुरुकूलमा वाचित कविताप्रति आफूलाई क्रान्तिकारी चिनाउने एक पूर्वमन्त्रीले प्रकट गरेको गणतन्त्रप्रतिको खिसी टिउरीलाई समेत काव्यिक लहरमा पस्कने पौडेल साँच्चै गणतन्त्र प्राप्तिपछि निर्वाचन हारेर पनि पदमा बसिरहनेसम्मका विरोधी र साँच्चै गणतन्त्रवादी हुन् ।

कवि पौडेलको हिमालयतिर हेर (कविता संग्रह ०६५) मा झन्डै चार दर्जन कविता संग्रहित रहेका छन् । झन्डै तीन दर्जन कविता विचार र विचारको यात्रासँगै सम्बन्धित छन् । कविले ०५१÷५२ सालदेखि आफ्नो काव्य यात्रालाई श्रमको सौन्दर्यसँग जोडेर परिवर्तनको बाहकको रूपमा उतारेका छन् । कवि जनयुद्धसँग पूर्णरूपमा सहमत हुँदै घुमाउरो ढंगले जनयुद्धप्रतिको आस्थालाई सबैमा सकारात्मक भाव सञ्चार गराउन सफल भएको देखिन्छ । कविता आफैँमा भाव वा विचारको संवाहन गर्ने सामल हो, जसले नवपाठक र स्रोताको मनमा समेत नयाँ सन्देश प्रवाहित गर्दछ । अझ समाजपरक विचारलाई पस्कने कविले त जीवनलाई सार्थक र सफा यात्रामा देखाउने प्रयत्नसमेत गरेको हुन्छ । तथापि, प्रत्येक प्रगतिवादी कवि जीवनीपरक विचार र व्यवहारमा खरो उत्रन नसक्लान् ।

गद्य कवितामार्फत कवि नेपाली समाज, नेपाली समाजका कुरूपता र विश्व इतिहास तथा परिघटनालाई नेपालको सन्दर्भमा जोड्न सफल छन् । सत्यलाई पनि प्रिय वा मीठो भाषा बोल्नुपर्दछ भन्ने कुरालाई गहन ढंगले बुझेका कविको केन्द्रीय भाव विचारमा परिवर्तन हो भने त्यसको व्यवहारवादी सच्याइको अपेक्षा पनि प्रमुख रहेको छ । कवि पौडेलले एउटै नामको शीर्षकलाई पनि चरणगत ढंगले प्रस्तुत गरेका छन् । कविले हिमालयतिर हेर– १, २ प्रेमपत्र– १, २, ३, ४ जस्ता शीर्षक प्रयोगात्मक ढंगले प्रस्तुत गरेका छन् ।

प्रायः शीर्षकहरू विचार तथा प्रतीकात्मक सन्देश दिने खालका रहेका छन् । कविले खुलेर जनताका पक्षमा सन्देशमूलक चिन्तनलाई कवितामार्फत राखेका छन् । कवि इच्छुकको विचारको कदर मात्र होइन त्यसका पछि हजारौँ कवि मनको लगाव भएको तथ्य उनले राखेका छन् । सतिसालको रूपमा इच्छुक प्रतीक मात्र बनेका छैनन् उनको विचारलाई विस्तार गर्ने काम पक्कै सहज छैन भन्ने चिन्तन पृष्ठभूमिमा राखिएको छ ।

हो त्यो जनकवि !
म उसलाई आस्थाको फूल चढाउँछु
जब उसले जोडजोडले सच्याई
आठ दिनसम्म
ठिमाहा जंगबहादुरका मुर्कट्टा दूतहरूले उसलाई
कुमालेको माटोजस्तै साह्रो साह्रो
ढुंगा जस्तै साह्रो नहुञ्जेलसम्म पिटिरहे

(एउटा शोक पुनः इच्छुकको सम्झनामा, पृ. ६५)
कवि पौडेलले जनकवि ‘इच्छुक’को हत्याको प्रक्रिया र त्यो बाधासँग पनि नझुक्ने इच्छुकको यथार्थ पाटोलाई आस्थाको पाखाभरि पोखेको सन्दर्भ उठाएका छन् । कविले इच्छुकले तय गरेका स्वाभिमानीहरूको बाटोमा लाग्ने प्रतिबद्धतासमेत प्रष्ट पारेका छन् । ‘आमालाई चिठी’ शीर्षकको कवितामा कवि पौडेलले एउटा क्रान्तिकारी योद्धाको युद्धप्रतिको लगावलाई अत्यन्त सहज ढंगले प्रस्तुत गरिदिएका छन् । कवि भोलिको आशाका उज्याला दिनका निम्ति निरन्तर रूपमा लागि पर्नेहरू नै सच्चा जनयोद्धा हुन् भन्छन् । कविले यथार्थको सन्दर्भलाई अत्यन्त उचाइमा राखेर काव्य यात्रा तय गरेका छन् । राजतन्त्रको अत्यन्त अत्यासलाग्दो अवस्थामा पनि कवि कहिले भोटाहिटीको चोकमा त कहिले पाँगाको दोबाटोमा ‘उसले ठीकै ग¥यो’ जस्ता बलशाली कविता सुनाएर जनतालाई जगाउँथे ।

तिम्रा बैगुनले आजित भएर उसले
तिमीलाई मुर्दावाद भन्यो त के बिरायो ?
रातका विरुद्ध जूनकीरीले
शरीरमा आगो सल्कायो त
के भयो ठीकै भयो (उसले ठीकै ग¥यो, पृ. २८)
कविको कलम निरंकुश शासकविरुद्ध सशक्त ढंगले सोझिएका छन् । बोल्न नसक्नेहरूको अगाडि बोल्नु र भन्डाफोर गर्नु त कता हो कता निकै फरक कुरा पो रहेछ त । कवि आफ्ना काव्यिक अभिव्यक्तिहरूलाई अत्यन्त सन्तुलित रूपमा प्रस्तुत गर्दै गाँस, वास, कपासका निम्ति छट्पटाएकाहरूमा विद्रोहको चेतना हालिदिन्छन् ।

मौरी बस्नुपर्ने घारमा अरिंगालले गोलो लगाएपछि
गोलोलाई आगोले पोल्यो त दुःखीरामले
के बिगा¥यो ?
तिम्रो विरुद्धमा अन्तिम युद्ध लड्न
टुँडिखेलको छेउमा उभिएर उसले

शंख बजायो त के विरायो ? (पूर्ववत पृ. २९)

साँच्चै कवि आफ्ना विचार र लक्ष्यप्रति अत्यन्त सजग र जुझारू देखिएका छन् । कविको विचारमा जीवनभन्दा आस्था, स्वार्थभन्दा समर्पण उँचो भएपछि सबै जुरुक्क उठ्छन् र जाग्छन् अनौठो नमाने हुन्छ भन्दछन् । सीधा–सीधा भनेका कुरा पनि कति काव्य रसमय छ कविका थुप्रै कविता आफैँ साक्षी बनेर बसेका छन् । छापामार शीर्षकको कविता त्यस्तै विचारले भरिपूर्ण रहेको छ ।
जनसमरको मट्टीमा तातेको
रातो तातो फलाम हो ऊ
पिट जति पिट्छौ पिट
अझैँ धारिलो बन्छ ऊ
रेट जति रेट्छौ रेट

झन्झन् छुरा बन्छ ऊ । (छापामार, पृ. ५७)
जति दमन हुन्छ त्यति नै प्रतिरोध हुन्छ । जनसमरको यात्रामा छापामार जीवनको बाजी लगाएर लडे र कसैलाई अनुनय र विनय नगरी जीवन त्यागे । त्यस्तो व्यक्ति त्यस्तो शक्तिका कारण नै जनसमर विजययात्रामा पुगेको तथ्यलाई कविको ओजपूर्ण अभिव्यक्तिबाट प्रष्ट पारेको छ ।
सतिसाल हो सतिसाल
कमजोर सिमलको रुख हैन
ऊ वर्षात्, ऊ बिजुली, ऊ झञ्जावात्
कतै फूल कोमल छ, ऊ कतै कठोर चट्टान
जनसमरको मट्टीमा तातेको
रातो रातो फलाम हो ऊ
जनमुक्तिका लागि लडिरहेको
यस शदीको एउटा छापामार हो ऊ ।

(पूर्ववत, पृ. ६८)
आजको परिवर्तनको संवाहक छापामार जसले एक्काइसौँ शताब्दीको व्यवस्था निर्माण ग¥यो । साँच्चै जनमुक्तिको समरमा जनताका प्रियपात्रहरू नियमित रूपमा अघि बढेको आगो खान तयार भएको तथ्य प्रस्तुत भएको छ । गीतको फूल, जनताको अभिन्न मित्रको कीर्तिमानीलाई कविताले चौतर्फी प्रस्तुत गर्न सक्रिय रहेका छन् । कवि आफ्ना कवितालाई सपनाको झल्कोसरी प्रस्तुत गर्न पुग्दछन् । ‘पर्खाल ढल्दै छ’ शीर्षकको कविताले ढल्न लागेको राजतन्त्रको तथा सामन्ती चिन्तनको आसपास नबस्न त्यति वेला नै सम्झाएका छन् ।
यत्रो घामपानी सहनुभयो
अब त कवित छ र !
साँच्ची दाइ,
मायाले भन्दै छु
यो ढल्न आँटेको पर्खालको ओत नलाग्नुस्
पर्खालसँगै जीन नढलोस् है ।

(पर्खाल ढल्दै छ, पृ. ५७)
कवि नेपाली क्रान्तिको आधार बलियो बन्दै गएको, जनताले न्याय र समानताको बाटो खोज्न थालेको र एकदुई पिछलग्गुहरू सामन्ती चिन्तनको पछि लागि जुठो पुरो खान खोज्नेहरूलाई अनुरोधात्मक भाषामा सचेत र शिक्षित गराइएको छ । ‘मेचीदपारिको आवाज’ शीर्षकको कविता जो ०५७ सालमा लेखिएको भए पनि आजको अवस्थामा समेत उत्तिकै मिल्दोजुल्दो झ्याउरे लयमा लेखिएको यो कविता अत्यन्त मार्मिक छ ।
यस्तो वेला नेपाल सरकार केही गर्ने हैन
कैल्यै पनि हामीलाई हुने भैनचैन
देश जोगाउन नसक्नेले केको राज गर्नु ?
हुतिहारा धेरै जाति बाँच्नुभन्दा मर्नु ।

(मेचीपारिको आवाज, पृ. ४७)
कविको राष्ट्रप्रतिको चिन्ता अत्यन्त गहिरो ढंगले अभिव्यक्त भएको छ । कवि भारतको विस्तारवादविरूद्ध सबै तयार हुनुपर्ने कुरा बताएका छन् । कति मार्मिक छन् कविका काव्यात्मक गीति भनाइहरू । कवि राजेन्द्र पौडेल नेपाली माटोको सुरक्षाको निम्ति युवावर्ग जाग्नुपर्ने कुरामा अत्यन्त सक्रिय छन् ।

समग्रमा काव्यात्मक तत्वका हिसाबले हेर्दा कवि राजेन्द्रका कविताहरू विषयगत हिसाबले सामाजिक विकास हिसाबले समाधानमुखी, प्रगतिमुखी तथा शैलीका हिसाबले आकर्षक रहेका छन् । कतै अत्यानुप्रासीयता त कतै अन्तरअनुप्रासीयताले प्रत्येक कविता गुणवत्तायुक्त बनेका छन् । केही कविताका विषय र शीर्षकसमेत उही भएर पनि संख्या बढाउनु ठीक छैन । कविको समग्र प्रवृत्ति छिनोफानो गर्न सहज हुने यस कविता संग्रह प्रगतिवादी कवितायात्राको महत्वपूर्ण प्राप्ति हो । कलाकारिताले भरिएका यी कविताहरू माझिएका देखिन्छन् । जनताका आवाजलाई ठाडो शीर गरेर पहिचान दिने हिमालयतिर हेर भन्नु आस्थाको सगरमाथाप्रतिको झुकाव र समर्पण पनि हो । आस्थासँग जीवन वास्नामय बन्नुपर्छ र त्यसका लागि हरेक हिसाबले तयार हुनुपर्ने कुराको आह्वानसमेत गरिएको छ ।

प्रतिक्रिया