संसारभर महिलाहरूको औसत आयु पुरुषहरूको भन्दा लामो रहेको देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए । उक्त तथ्यांक लिंगका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो । यसले पनि महिला र पुरुषको आयुका बारेमा भिन्नता देखिन्छ ।
सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३ हजार ३ सय ६४ जना थिए । उनीहरूमध्ये ९ हजार १ एक ६२ जना पुरुष र ४४ हजार २ सय २ जना महिला थिए । आखिर पुरुषभन्दा महिला किन बढी बाँच्छन् त ? उनीहरूलाई केले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ ? यो मान्छेमा एक प्रकारको कौतुहल्ता छ ।
यस्ता छ पुरुष भन्दा महिला बढी बाँच्नका प्रमुख तीन कारणः
१.जीनः मानव मृत्युदरका बारेमा ४० देशका तथ्यांक उपलब्ध छन् । तीमध्ये स्वीडेन र फ्रान्सका क्रमशः सन् १ हजार ७ सय ५१ र १ हजार ८ सय १६ देखिका तथ्यांक छन् । तर जापान र रुसमा बिसौँ शताब्दीको मध्यपछिको मात्रै तथ्यांक उपलब्ध छ ।
तथ्यांक भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औसत उमेर पुरुषहरूको भन्दा बढी छ । त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ । युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिड जेम्स भन्छन्, ‘पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन् ।’ यसको एउटा कारणचाहिँ लिंग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ ।
महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन् । क्रोमोजोमा जीन हुन्छ । एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ ।
बिबिसीसँग कुरा गर्दै जेम्सले भने, ‘यदि तपाईँको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईँ महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ । तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न ।’ ‘पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ,’ एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले भनिन् ।
भाले चराहरूमा भने दुई एक्स क्रोमोजोम हुन्छ र उनीहरू पोथी चराभन्दा बढी बाँच्छन् ।
२. हर्मोनः किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ । धोक्रो आवाज र छातीमा रौँजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ । यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ ।
विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन् । केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौँ शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए ।
तीमध्ये किशोरावस्थामा पुग्नुअगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको औसत उमेर ७० वर्ष पाइएको थियो । त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो । धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन् । महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ । महिलाहरूको हर्मोन एस्ट्रोजिन हानीकारक कोलोस्ट्रोलविरुद्ध लडेर मुटु रोगबाट बच्न मद्दत गर्छ ।
३. पेसा र आचरणः द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ । तर, स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने वेलामा धेरै महिलाहरूको ज्यान जान्छ । धूमपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ ।
रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन् । महिलाको आयु लामो भए पनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ । यस्तै गरी महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन् । सायद पुरुषभन्दा महिला स्वास्थ्यका मामलामा बढी सचेत हुने गर्छन् । त्यसले पनि उनीहरू पुरुषभन्दा बढी बाच्ने गरेको हुन सक्ने विज्ञहरूको भनाइ छ ।
हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन् । ब्रिटेनमा महिला र पुरुषको आयु दुई दशकमा बराबर आउने बताइएको छ । इम्पेरियल कलेज लण्डनको एक अध्ययनअनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ । अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्यांक छ । प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ । (बिबिसीको सहयोगमा)
प्रतिक्रिया