चितवनको भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने भएको छ । यसका लागि गत बुधबार राजधानी काठमाडौंमा आयोजित एक समारोहबीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’बीच सम्झौतामा हस्ताक्षर भएको छ । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो भाषण गरे । मुलुकको विकास निर्माणमा धुर्मुस–सुन्तली फाउन्डेसनले धेरै ठूलो योगदान पुर्याएको भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले धुर्मुस– सुन्तलीको मुक्तकण्ठले प्रशंसा गरे । उक्त समारोहमा दिइएको जानकारीअनुसार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकारले धुर्मस सुन्तली फाउन्डेसनलाई रामपुर कृषि क्याम्पसको २० बिघा जग्गा उपलब्ध गराएको छ । रंगशाला निर्माणका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने फाउन्डेसनले जनाएको छ । केही रकम भरतपुर महानगरपालिकाले योगदान गरे पनि अधिकांश रकम सर्वसाधारणबाटै चन्दा उठाएर जुटाउने प्रतिबद्धता फाउन्डेसनका अध्यक्ष कट्टेलले जाहेर गरेका छन् । सरसरर्ती सुन्दा यो समाचार निकै कर्णप्रिय छ । सरसर्ती पढ्दा यो समाचारले आ“खा र दिमागलाई निकै आनन्दित तुल्याउँछ । क्रिकेट रंगशालको स्केच हेर्दा नेपालमै हो र ? भन्ने जस्तो पनि लाग्छ । तर, निर्माण सम्पन्न नहुँदासम्म आनन्दित हुने अवस्था छैन । दुई वर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता कट्टेलले जनाएका कारण धेरै समय प्रतिक्षा गर्नुपर्ने अवस्था पनि छैन । दुई वर्ष भनेको निकै छोटो हो ।
चितवनको भरतपुर जाज्वल्यमान सहर मात्रै होइन नेपालको बीच भागमा पर्छ । सबै जिल्लालाई पायक पर्ने भएकोले राष्ट्रिय स्तरका धेरै कार्यक्रम भरतपुरमा हुन थालेका छन् । तर, कार्यक्रमस्थलको अभाव खड्कििँदै आएको छ । यो अभावलाई पूर्ति गर्न केही महिनाअघि भरतपुर महानगरपालिकाले क्यान्सर अस्पतालको जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारेको थियो । तर, क्यान्सर अस्पतालको जग्गा अन्य प्रयोजनमा लगाउन नपाइने भन्दै व्यापक विरोध सुरु भयो । जसका कारण सभागृह निर्माणको योजना अन्योलमा परेको छ । अब बनाउने भनिएको क्रिकेट रंगशाला पनि रामपुर कृषि क्याम्पसको २० बिघा जग्गामा हो । कृषि अनुसन्धानका लागि थप जग्गाको आवश्यकता हुँदाहुँदै भएको जग्गा पनि अन्य प्रयोजनका लागि दिँदा विवाद उत्पन्न हुन सक्छ । राजधानी काठमाडौंको गोठाटारमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणाधीन छ । भरतपुरका लागि आवश्यकता भनेको अन्तर्राष्टिय स्तरको क्रिकेट मैदान हो कि ? अन्तर्राष्ट्रिय स्तरको सभागृह हो ? भरतपुरको मेयरसमेत रहेकी नेकपाकी अध्यक्ष पुत्री रेणु दाहालले यो प्रश्नको उत्तर दिनु जरुरी छ ।
यसै गरी ३ अर्ब रुपैयाँ रकम भनेको सानो कुरा होइन । सर्वसाधारणको चन्दाबाटै यति ठूलो रकम संकलन होला भनेर विश्वास गर्न सकिन्न । अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अवधारणा ल्याएका थिए । धरहरा निर्माणका लागि आवश्यक पर्ने करिब चार अर्ब रुपैंया सर्वसाधारणको चन्दाबाटै संकलन होला भन्ने कुरामा प्रधानमन्त्री ओली ढुक्क थिए । तर, चार करोड रुपैया“ पनि संकलन भएन । यदि, धुर्मुस–सुन्तली फाउण्डेशनले तीन अर्ब रुपैयाँ चन्दा उठाउन सक्यो भने सरकारप्रति जनताको विश्वास रहेनछ भन्ने पुष्टि हुन्छ । केही वर्ष अघि धुर्मस–सुन्तली फाउन्डेसनले चन्दा उठाएरै नमुना नेपाल निर्माण गर्ने भन्दै करिब ३ अर्ब रुपैयाँको परियोजना अघि सारेको थियो । तर, त्यो परियोजनाका लागि कति रकम संकलन भयो ? निर्माण कार्य कहाँ पुगेको छ ? भन्ने प्रश्न अनुत्तरित छ । यो प्रश्न अनुत्तरित हुँदाहुँदै फेरि तीन अर्ब रुपैयाँ लागतको परियोजनाका लागि चन्दा संकलन गर्ने लाइसेन्स धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिँदा थप जोखिम उत्पन्न हुने त होइन ? भन्नेतर्फ सरकार सचेत हुनुपथ्र्यो । कुनै दैव प्रकोप तथा काबुबाहिरको परिस्थिति उत्पन्न भएको अवस्थामा बाहेक राज्यले नै चन्दा उठाउने लाइसेन्स दिनु या कसैलाई चन्दा उठाउने वातावरण बनाइदिनु निश्चय नै राम्रो होइन । अत्यावश्यकीय सेवाको काममा बेग्लै कुरा हो । विकास निर्माणका काम निजी क्षेत्रले गर्नै नहुने भन्ने होइन । तर, चन्दा उठाउने लाइसेन्स दि“दा राज्यले पर्याप्त ध्यान दिनु पर्छ । राज्यको आफ्नै भौतिक योजना मन्त्रालय छ । खेलकुद मन्त्रालय छ । अब भौतिक योजना मन्त्रालय तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सकिएकै हो त ? भन्ने प्रश्न पनि भोलि उठ्न सक्छ ।
प्रतिक्रिया