ट्रम्पका कारण माफी माग्न बाध्य

वासिंगटन । केही समयअगाडि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका युद्धग्रस्त क्षेत्रबाट अमेरिकी सेनालाई फिर्ता बोलाउने निर्णय सुनाएपछि सैन्य प्रमुखहरूले बाध्य भएर बारम्बार माफी माग्नु परिरहेको बताइएको छ । उनको सो निर्णयको डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीले कडा आलोचना गरेका थिए ।

यसरी ट्रम्पले आफूहरूले आइएसआईएसलाई पराजित गरिसकेको दाबी गर्दै सेनालाई त्यहाँ राख्नुको कुनै अर्थ नभएको बताएका थिए । तर त्यस लगत्तै गत जनवरी १६ मा भएको आत्मघाती हमलाका लागि आईएसआईएसले जिम्मा लिएको हो । मानबिजमा भएको सो घटनामा चार अमेरिकीसहित १६ जनाले ज्यान गुमाएका थिए । यसरी ट्रम्पको बयान पुनः विवादित बनेपछि अमेरिकी सेना लज्जित हुनु परेको बताइएको छ ।

सिरियास्थित डेमोक्रेटिक फोर्सेस गठबन्धनका प्रमुख, जर्नेल माज्लुम कोबेनका अनुसार अमेरिकी सेना प्रमुखहरू ट्रम्पको सो निर्णयले शर्मनाक भएकै कारण बारम्बार माफी मागिरहेका छन् । एनबीसी न्युजसँग कुरा गर्दै कोबेनले भनेका छन्, ‘उनीहरूले पनि त्यस प्रकारको निर्णयको अपेक्षा गरेका थिएनन् त्यसैले आफ्नो हातमा केही नभएको हुँदा उनीहरू बारम्बार माफी मागिरहेका छन् ।’

अमेरिकी सेना र कुर्दिस लडाकूहरूले सिरियामा आईएसआईएस विरुद्ध लामो लडाईँ लड्दै आएका छन् । यसबीचमा दुवैमा एकअर्काप्रतिको विश्वास र आत्मीयता बढ्दै गएको कोबेन बताउँछन् । तर अचानक लडाईँ नसकिँदै अमेरिकी सेना फिर्ता बोलाइनु वाचा तोडे अनुरूप भएको र यसलाई ठूलो अपमानका रूपमा लिइएको उनको भनाइ छ । सिरियाली डेमोक्रेटिक फोर्सेसमा करिब ६५ हजार अमेरिकी सेना रहेका छन् ।

अमेरिकी सेनाको अनुपस्थितिमा टर्की सरकारले कुर्दिश लडाकूमाथि हमला गर्ने सम्भावना बढेको बताउँदै कोभेनले चिन्ता समेत व्यक्त गरेका छन् । वास्तवमा टर्कीका राष्ट्रपति एड्रोगेनले कुर्दिश लडाकूलाई विखण्डन पार्टी ‘पिकेके’ का सहयोगीका रूपमा लिन्छन् । उनीहरूलाई टर्कीका लागि खतराका रुमिा मान्ने गर्दछन् । यसैकारण गत जनवरी ६ मा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले, टर्कीले सिरियाली कुर्दिश लडाकूहरूमाथि हमला नगर्ने प्रीतबद्धता नजनाउन्जेल अमेरिकी सेना फिर्ता नल्याइने वचन दिएका हुन् ।

प्रतिक्रिया