कहिले विकास होला श्रमको सम्मान गर्ने संस्कृतिको ?

जहाँ श्रमको सम्मान गरिन्छ त्यहाँ नै विकास र सद्भावको राम्रो प्रभाव देखिन्छ । हामी आफ्नो जन्मभूमिमा पसिना बगाउन वा जुनसुकै श्रम गर्न पनि हुन्छ भन्ने सोचाइमा हुँदैनौँ । ज्यालामा काम गर्न खेती किसानीमा श्रम गर्न पनि हुन्छ भन्ने सोचाइमा हुँदैनौँ । ज्यालामा काम गर्नुृ खेती किसानीमा श्रम गर्नुजस्ता कार्यलाई निकृष्ट कार्य मा राखेर त्यस्ता कार्यवाट पर रहन्छौ । जुन देशमा श्रमको सम्मान हुन्छ त्यहाँ छिटो विकास र प्रगति भएको देखिन्छ । अमेरिका युरोप लगायत देशहरू आज विकसित हुनुका पछाडि श्रमको सम्मान गर्ने संस्कृति पनि प्रमुख कारण हो ।

आज हाम्रो समाजमा आफ्नै आमा–बाबुलाई अपहेलना गरी अस्पताल लैजाने बहानामा वृद्धाश्रम पुर्याइन्छ । आफ्नै छोराछोरीबाट तिरष्कृत भएर बिरानो अबला र बेसाहारा बनेर जीवनको उत्तराद्र्ध व्यतित गर्न बाध्य भएका दृष्टान्त प्रशस्तै पाइन्छ । स्वार्थी र जिम्मेवारीबाट भाग्ने प्रकृत्तिको विकास भएर गएको छ ।

यहाँ आमा–बाबुको सामान्य रेखदेख गर्न घृणा मान्ने हामीहरू नैै विदेशमा भने केयर गिभर भएर कार्य गरिरहेका छौँ । अर्काको देशमा जस्तोसुकै काम गर्न तयार हुने आफ्नो देशमा भने सामान्य श्रममा पनि लाज लाग्ने प्रवृतिले नै लाखौँका संख्यामा युवा जनशक्ति विदेशिएका हुन् । राज्यले रोजगारी सिर्जना गर्न नसक्ने अनि श्रमिकलाई पनि सानोतिनो श्रममा लाज लाग्ने र आँखा नलाग्ने संस्कृतिकै कारण चर्को ब्याजमा ऋण लिई घर खेत बन्दकी राखेर खाडी मुलुक जान विवश भएका छन् ।

दशनंग्रा खियाई पसिना बगाउने वास्तविक श्रमिकको दुरावस्था देख्दा लाग्छ उनीहरू नाम मात्रको मानव जीवन व्यतित गरिरहेका छन् । धनाढ्यका घरमा कुकुुरले पनि मासु नखाइरहेको अवस्था छ भने विपन्न श्रमिक दुई छाक टार्न नसकी भोकै बस्नुपरेको घटना सामान्य बनेका छन् । वास्तविक श्रमिकलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने जुन गलत दृष्टि छ त्यसमा परिवर्तन नआएसम्म देश विकासको मार्गमा अगाडि बढ्न कठिन हुन्छ

‘जहाँ इच्छा त्यहाँ उपाय भने’झैँ जाँगर भए आफ्नै घर आँगनमा अनेकौँ रोजगारीका अवसर छन् भन्ने सत्यतालाई बिर्सिएर अरबका खाडीमा अनेकौँ कष्टको सामना गर्न पुग्छन् । कृषि ऋण लिई सामान्य तरकारी खेती लगायतका अनेकौँ कार्यमा खट्ने हो भने मनग्ये आम्दानी गरी आफ्नै भूमिमा आरामसँग जीवनयापन गर्न सकिने उदाहरण गाँउगाँउमा जाँगरिला युवाहरूले प्रस्तुत पनि गरेका छन् । पसलमा चिया चुरोट पिएर विना काम समय व्यतित गर्ने तर स–साना श्रमका कार्यप्रति मन नलाग्ने गलत मनोवृत्तिकै कारण समाजमा विभिन्न आपराधिक घटनाहरू हुने गरेका छन्् । तास खेल्ने गाँजा चरेसको प्रयोग गर्ने, लुटपाट बलत्कार हिंसा हत्याका घटनाहरूसमेत बढेर गएका छन् ।

श्रमकै सन्दर्भमा भन्ने हो भने अन्र्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ)को प्रतिवेदनले अनुसार ६ महिनासम्म श्रम गरेपछि स्थायी गर्नुपर्ने मान्यता अगाडि सारेको छ । निजी संघ सस्ंथा तथा व्यावसायका त कुरा नै नगरौँ नेपाल सरकारका शिक्षा मन्त्रालय अन्तर्गगका शिक्षकहरू समेत २०÷२२ वर्षसम्म अस्थायी रूपमा कार्य गर्नुपर्ने बाध्यताको सिर्जना गराइएको छ ।

त्यसैगरी, मिडिया क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको अवस्था पनि दयनीय रहेको छ । न्यूनतम पारिश्रमिक्समेत नपाउने अवस्था विद्यमान नै छ । श्रम पनि दुई प्रकारका हुन्छन् । शारीरिक श्रम र मानसिक श्रम । शरीरलाई सक्रिय बनाई श्रम गर्नुलाई शारिरीक श्रम र दिमागलाई सक्रिय बनाउँदै गरिने श्रमलाई मानसिक श्रम भनिन्छ । दुवै खालका श्रमलाई संयोजन गरी अगाडि वढ्न सकेमा मात्र अपेक्षित विकास सम्भव हुन्छ ।

श्रमले शारीरिक तथा मानसिक स्वस्थता कायम गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । श्रमकै अभावले अचेल नाना प्रकारका रोगले सताउन थालेको छ । परिश्रम गर्ने बानी नहुनाले उच्च रक्तचाप, कोलेष्ट्रोल, मधुमेह, मुटुरोगजस्ता विभिन्न रोगबाट पीडित हुनेको संख्या पनि बढ्दै गएको देखिन्छ । आजको विश्व जगतमा स्वार्थ भ्रष्टाचार अपराध बढ्दै जानुको कारणमा श्रमको अभाव मुख्य कारक तत्व बनेको पाइन्छ ।

आफ्नो श्रमको कमाइमा नै मानवले सन्तुष्टि प्राप्त गर्न सक्छ । अवैध ढंगले कमाएको धनले आत्म शान्ति र सुखको वास्तविक अनुभूति पनि गर्न सकिँदैन हाम्रो वास्तविकता पनि कम्ती हृदयविधारक देखिन्न किनभने सच्चा श्रमिक भोकै बस्नुपर्ने अवस्था छ भने मुख मात्र चलाउने टाठाबाठाहरू बिना श्रम धनाढ्य हुने जुन परिपाटीको विकास भएको छ त्यसले वास्तविक विकास हुन सक्तैन ।

रातो दिन श्रम गर्ने किसान आफ्नो श्रमको मूल्य प्राप्त गर्न सक्तैन दिन रात नभनी काम गर्ने मजदुरले उचित पारिश्रमिक र सामान्य हक हितबाट समेत वञ्चित हुनु परिरहेको तीतो यथार्थ छँदैछ । कामचोर ढंग राजनितिक पहुँच भएका छलछाम गर्न खप्पीस वर्ग नै आज ऐश आरामको जीवन बिताउँदैछन् ।

दशनंग्रा खियाई पसिना बगाउने वास्तविक श्रमिकको दुरवस्था देख्दा लाग्छ उनीहरू नाम मात्रको मानव जीवन व्यतित गरिरहेका छन् । धनाढ्यका घरमा कुकुुरले पनि मासु नखाइरहेको अवस्था छ भने विपन्न श्रमिक दुई छाक टार्न नसकी भोकै बस्नुपरेको घटना सामान्य बनेका छन् । वास्तविक श्रमिकलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने जुन गलत दृष्टि छ त्यसमा परिवर्तन नआएसम्म देश विकासको मार्गमा अगाडि बढ्न कठिन हुन्छ ।

श्रम नै त्यस्तो महत्वपूर्ण कडी हो त्यसले नै व्यक्तिको जीवन सुखी र समृद्ध बन्छ भने राष्ट्रको आर्थिक विकास अनि भौतिक पूर्वाधारको निर्माण भै राष्ट्रको समग्र विकास हुन्छ । राज्यले बर्सेनि श्रम बजारमा आउने झण्डै पाँच लाख युवाजन शक्तिलाई श्रम उपलब्ध गराउनका लागि उद्योगहरूको स्थापनामा जोड दिने, रुघ्ण उद्योगलाई पुनः सञ्चालन नगर्ने कार्य गम्भीरता पूर्वक गर्नुपर्छ ।

त्यसैगरी, युवा जनशक्तिलाई कृषि प्रतिआकर्षित गर्न स्पष्ट कृषि नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । सहज रूपमा कृषि ऋण प्राप्त गर्न सक्ने वातावरण बनाई कृषिको विकासमा ध्यानदिनु जरुरी देखिन्छ । तीन दशक अगाडिसम्म हामीले धान चामल निर्यात गथ्यौँ भने अहिले अरबौं रकम बराबरको खाद्यान्न आयात गरिरहेका छौँ । कृषिलाई व्यावसायिक र वैज्ञानिक बनाउन सकेमा ठूलो संख्यामा रोजगारी पनि प्राप्त हुने निश्चित छ ।

श्रम नै सर्वश्रेष्ठ देवता हुन् त्यसलाई नै पुज्नुपर्छ भन्ने सोचका साथ यसलाई नै हामीले व्यावहारमा परिणत गर्न सक्यौँ भने बेरोजगारी भई बस्नु पनि पर्दैन र आर्थिक रूपले विपन्नभएर चिनिनु पनि पर्दैन । अहिले वास्तविक किसानको हातमा जमिन छैन जमिन्दारहरू निमुखा श्रमिकलाई नगन्य ज्याला दिएर काममा लगाई बसेका छन् ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम वढ्को देखिन्छ । कृषि कार्य प्रति आकर्षण घट्दै गएकोले उर्भर भूमि बाँझै छन् । त्यसैगरी, जथाभावी सहरीकरण तथा अव्यवस्थित बसोवासका कारण उब्जाउ युक्त जमिन घरहरूले ढाकेका छन् । राज्यले स्पष्ट नीति अवलम्बन गरी कृषिलाई आकर्षक पेशामा परिणत गर्नेतर्फ ध्यान पु¥याउने हो भने कृषि प्रधान देशको पहिचान राख्नसमेत सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया