घर निर्माणकार्य र शरीरमा ग्रहका प्रभाव

ग्रहमध्ये शृंगारिक ग्रह शुक्र कमजोर भएमा आर्थिक सम्पन्नता हुँदैन । घर बनिसकेपछि पनि आर्थिक व्ययभार, घाटा बन्दव्यापार, त्यस घरमा बस्नेहरूका लागि दूर्भिक्ष, अनिकाल जस्ता पीडाहरू सहिरहनुपर्ने हुन्छ

घर, भवनहरूको निर्माण थालनी कार्यमा वास्तुपुरुष एवं ग्रहहरूको प्रभाव बलवान् हुन्छ । रविदेखि शनिसम्म ग्रहहरूकै सातनामबाट सातबार र राहु एवं केतुसमेत गरी नौ ग्रहले हाम्रो जीवनपद्धतिमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गरिरहेको हुन्छ । घर निर्माणकार्यमा ग्रहहरूमध्ये सूर्य, चन्द्र, बृहस्पति र शुक्र बलवान् भए निर्माणकार्य निर्वाध सम्पन्न हुन्छ ।

घर निर्माण मात्रै होइन जीवनका प्रमुख चरण विवाह आदि कार्यमा पनि यी ग्रहको स्थान महत्वपूर्ण हुन्छ । शताब्दीकै ठूलो खग्रास सूर्यग्रहणको प्रभाव त हामीले हाम्रै जीवनमा पनि देख्यौंँ । बिहान झलमल्ल उज्यालो भएको केहीबेर पछि नै क्षणिक अध्यारो भयो । सौर्यमण्डलमा परिभ्रमण गर्ने ब्रह्माण्डका अनेकौँ ग्रह–उपग्रहहरूको कारण सूर्यग्रहण, चन्द्रग्रहणलगायत हाम्रो जनजीवनमा यिनका सकारात्मक र नकारात्मक प्रभावहरू परि नै रहन्छन् । ग्रहहरूको दृष्टि, उनीहरूको दृष्टिकोणले हाम्रो जनजिविका लगायत प्रगति, उन्नति, अधोगतिमा प्रभाव परिरहेको हुन्छ ।

ग्रहहरूकै चक्रअनुसार अश्विनीदेखि रेवतीसम्म २७ नक्षत्र हुन्छन् भने मेषदेखि मीनसम्म१२ राशिहरू हुन्छन् । समयचक्रअनुसार नै दिन रात एवं १५ तिथि तथा शुक्ल र कृष्ण गरी दुई पक्ष हुन्छन् । शुक्लपक्षमा चन्द्रमाको प्रभावले अन्तिमदिन पूर्णिमा हुन्छ भने कृष्णपक्षमा सूर्यको प्रभावले अन्तिम दिन औँसी हुन्छ ।

समयचक्र अनुसार औँसीका दिन वेलाबखत सूर्यग्रहण हुने गर्छ भने पूर्णिमाका दिन चन्द्रग्रहण हुने गर्छ । सूर्यका प्रभावले गते र महिनाको संकेत गर्छ भने चन्द्रमाको प्रभावले तिथिको संकेत गर्छ । सूर्य, चन्द्रको प्रभाव विश्लेषण पूर्वीयदर्शनको सिद्धान्त हो भने अन्य दर्शनमा यस्तो समन्वयात्मक र सजिलो विश्लेषण विरलै पाइन्छ ।

घरहरूको निर्माण आरम्भ गर्दा ग्रहहरूका राजा सूर्य कमजोर भएको वेला परेमा घरधनी निस्तेज हुन्छ । निर्माणकार्य ढिला हुन्छ । अनेकौँ समस्या, व्यवधान र चुनौतीहरूसँग सामना गर्नुपर्ने हुन्छ । साथै, सँधियारमा किचलो, मुद्दामामिला, त्रास, भय, पीडा, झन्झट आइलाग्छ । त्यस्तै, चन्द्रमा कमजोर रहेका छन् भने गृहिणीलाई चिन्ता हुन्छ । लक्ष्मी स्थिर हुन्नन् । निर्माणकार्यमा बढी खर्च हुन्छ । आर्थिक अभाव र ऋणसँग सामना गर्नुपर्ने हुन्छ ।

ग्रहमध्ये शृंगारिक ग्रह शुक्र कमजोर भएमा आर्थिक सम्पन्नता हुँदैन । घर बनिसकेपछि पनि आर्थिक व्ययभार, घाटा बन्दव्यापार, त्यस घरमा बस्नेहरूका लागि दूर्भिक्ष, अनिकाल जस्ता पीडाहरू सहिरहनुपर्ने हुन्छ । त्यस्तै बुधग्रह कमजोर छन् भने सन्ततिको उन्नतिमा अवरोध आउँछ । उनीहरूको अध्ययन, सीप, प्राविधिक ज्ञान आर्जनमा विभिन्न समस्याहरू देखापर्छन् । त्यस्तै, बृहस्पति ग्रह कमजोर भए अध्ययन, अध्यापनलगायत बौद्धिक निखारतामा कमी र जीवनका सुख सुविधामा कमजोरीहरू देखापर्छन् ।

सौर्यमण्डलमा नवऊर्जा लिएर बिहानै हाम्रा सामु देखापर्ने सूर्य हाम्रो आत्माको कारक तत्व हो । यसलाई तेजतत्व भनिन्छ । हाम्रो अग्नितत्व कति बलवान् छ भन्ने कुराको निक्र्यौल यसैबाट हुने गर्छ । आत्मतत्व, भित्री चुरो दरिलो भए जीवन सफल र सार्थक हुन्छ । उन्नति प्रगतिपथमा निर्बाध अगाडि बढ्न सकिन्छ । त्यस्तै, चन्द्रमा हाम्रो मनको कारकग्रह हो । मन सदैव चञ्चल हुन्छ । मनमाथि विजय प्राप्त गर्नु सर्वथा असम्भव हुन्छ ।

समुद्रका तरंगहरू, छालहरूभैmँ यो चञ्चल हुन्छ । समुद्रका ज्वारभाटाहरूलाई कला घट्बढ् भइरहन्छ ठीक त्यस्तै हाम्रो मनले पनि उतारचढाव व्यहोरिरहेको हुन्छ । हाम्रो जीवनको जलतत्वसंग यसको निकट सम्वन्ध छ । जल र अग्नितत्व अर्थात् चन्द्र र सूर्यको यो प्रभाव समिश्रणले नै हाम्रो जीवन सन्तुलित हुन्छ । तापक्रम सन्तुलित नभए शरीर स्वस्थ हँुदैन । ग्रहहरूको समष्टि भन्नु शरीर हो ।

सूर्यले उष्णता, चन्द्रमाले शीतलता, मंगलले रक्तसन्तुलन, बुधले व्यापार एवं बौद्धिक निखारता, बृहस्पतिले शैक्षिक जागरण, शुक्रले शृंगार, काब्य विनोद, कलाकारिता, शनिले आफ्नो गति प्रवाह आयु र कालको निर्धारण, राहुले रोग र शत्रु अनि केतुले कलह, अशान्ति र वैरभाव गराउँछ ।

धातुमा सुवर्णले तेजतत्व सूर्यको प्रतिनिधित्व गर्ने हुँदा शरीरमा सुन आदि धातु शरीरका माथिल्ला अंगहरूमा प्रयोग हुन्छ भने चन्द्रमाको प्रतिनिधित्व गर्ने जलतत्वको प्रतिक चाँदीका गरगहनाहरू हामी शरीरका अधोभागमा प्रयोग गर्छौँ, जस्तै शिरविन्दी शिरमा, पाउजु गोडामा ग्रह अनुसार शरीरमा, हाम्रा घरहरूमा धातुजन्य प्रभाव परेको हुन्छ राम्रो नराम्रो दुवै !

घर निर्माणकार्यमा ग्रहले मात्रै होइन तिथिले पनि प्रभाव पारेको हुन्छ । शुक्लपक्ष र कृष्णपक्षका १५-१५ तिथिमध्ये दुवैको चौथी, नवमी, चतुर्दशी अर्थात् रिक्तातिथिमा निर्माण आरम्भ गरिएको घरमा आर्थिक विपन्नता हुन्छ । धेरै मेहेनत गरेको छ, प्रशस्त धन पनि आर्जन गरेको छ तर समृद्धि हुन्न, सुख हुन्न स्थीरलक्ष्मीले त्यस घरमा वास गर्दिनन् । त्यस्तै, प्रतिपदा तिथि पनि घर निर्माण आरम्भ राम्रो हुन्न, अष्टमीतिथि पनि शुभ हुँदैन । औँसी तिथि पनि ग्राह्य छैन ।

नक्षत्र, बार, तिथि, समय नमिलाई आरम्भ गरिेएको घर, महलहरू सुखदायी हुँदैनन् । सायंकालको निर्माण आरम्भ शुभ हुँदैन भने आइतबार, मंगलबार पनि निर्माणकार्य आरम्भ गर्नु हुँदैन । घरनिर्माण कार्य गर्दा घरधनीको नाम राशिको तेश्रो स्थानमा सूर्य रहेको भए निर्वाध कार्य सम्पन्न हुन्छ । सरसामग्रीहरूको आपूर्तिमा कठिनाई हुँदैन । भाडामा लगाउने घर, महल भए तुरुन्तै भाडा लाग्छ भने भाडाप्राप्तिमा समस्या आउँदैन । आफैँ बस्ने भए पनि कुनै ब्यवधान देखापर्दैन । त्यस्तै, घरनिर्माणकार्यको आरम्भ गर्दा छैठौँ स्थानमा सूर्य भए बिघ्नबाधाहरू आफैँ हटेर जान्छन्, शत्रुहरूको तेज कमजोर भई शरीरमा रोग, ब्याधि पनि केही हुँदैन ।

दशौँस्थानमा सूर्य बसेको भए त्यसघरबाट आरम्भ भएका कार्यहरू सधैँ सफल हुन्छन् । पढाइ, पसल, बन्दव्यापार एवं आर्थिक, बौद्धिक, व्यापारिक सबै कार्यहरू सफल हुन्छन् । नयाँ नयाँ सिर्जनात्मक कार्यक्रम, रोजगारीका ढोकाहरू खुल्दै जान्छन् । आठौँ स्थानमा पापग्रह रहेमा त दुर्घटना, मुद्दामामिलादेखि मृत्युसम्म कष्ट हुने गर्छ । एघारौँ स्थान अत्यन्त लाभकारी स्थान हो । एघारौँ स्थानमा सूर्य बलवान् भएको समय पारी घरनिर्माण आरम्भ भए प्रशस्त आर्थिक लाभ र जीवनको उत्कर्ष सुख र समृद्धिसमेत प्राप्त हुन्छ ।

प्रतिक्रिया