नेपालीको विदेश भ्रमण ५ महिनामा १४ अर्व खर्च

काठमाडौं । नेपालीले प्रत्येक वर्ष विभिन्न देश घुमेर वार्षिक अर्बौं रकम खर्चिने गरेका छन् । नेपाली विदेश घुम्न जानेलाई आउटबाउण्ड टुर भन्ने गरिएको छ । नेपालीहरू पछिल्लो समय थाइल्यान्ड, युएई, मलेसिया, सिंगापुरलगायत युरोप र अमेरिका एवं अस्ट्रेलियासम्म पुग्ने गरेका छन् । जसका कारण नेपालीले पर्यटक बनेर अर्बौं रकम बाहिरिने गरेको छ ।

पछिल्ला वर्षको तुलनामा यो वर्षको सुरुवाती ५ महिनामा मात्रै नेपालीले विदेश यात्रामा ४१ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको वैदेशिक मुद्रा मुलुक बाहिर लिएर गएका छन् । यो रकम नेपालीले विदेश घुम्न जाँदा नेपाल राष्ट्र बैंकबाट लिएको डलरसटहीको सुविधा मात्रै हो । वार्षिक रूपमा ५० हजारभन्दा बढी नेपालीहरू घुम्न गएको पाइएको छ । यो संख्या वर्ष नै पिच्छे बढ्दै जान थालेको छ ।

उसो त नेपाल आउने पर्यटकले भने यो पाँच महिनामा ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा ल्याएका छन् । नेपालमा आउने विदेशी वायुसेवा, नेपालबाट हुने विभिन्न देशको अन्तर्राष्ट्रिय उडान तथा भिसा प्रक्रियामा सहजता हुनुले नेपालीको बाहिर घुम्ने संस्कृति बढाएको ट्राभल एजेन्सीको भनाइ छ । ट्राभल एजेन्सीले दसैँको लागि विदेश घुम्न विभिन्न छुटमा आकर्षक प्याकेज नै दिँदैसमेत आएका छन् । उनीहरूले हवाई टिकटसहित खाने बस्ने प्याकेज तयार पारेपछि नेपालीको आकर्षण बढ्दै गाएको ट्राभल एजेन्सीहरूको भनाइ छ । हुन त बढ्दै गएको रेमिट्यान्सका कारण नेपालीको जीवनस्तर पहिलाको भन्दा केही उकासिएको छ ।

नेपालमा अहिले ठूलो तप्का मध्यम वर्गमा स्तरोन्नति भएको तथ्यांकले पनि देखाउँछ । यसले गर्दा नेपालीहरू विदेशका विकास र प्रविधि हेर्न रुचाउने गरेको र घुम्न जान थालेपछि खर्च बढी भएको देखिने गरेको विज्ञहरू बताउँछन् । विशेषगरी वित्तीय क्षेत्रमा काम गर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने, ठूला कर्पोरेट हाउसमा कार्यरतहरूलाई कम्पनीकै तर्फबाट पनि विदेश घुम्ने अवसर दिइरहेका छन् ।

नेता, सरकारी कर्मचारी र सहकारीमा काम गर्नेको विदेश भ्रमण पनि बाक्लिएको छ । नेपालीको आयस्रोत बढ्दै गएको र ट्राभल एजेन्सीले आकर्षक प्याकेजका कारण आउट बाउण्डमा नेपालीको आकर्षण बढ्ने गरेको छ । नेपालीले विदेशीलाई नेपाल आउन उत्प्रेरित गर्ने र नेपालको प्रवद्र्धन गर्न आउटबाउण्डले सहयोग पु¥याउने पर्यटन व्यवसायीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नेपालीको विदेश भ्रमणलाई अस्वाभाविक मान्दैनन् । ‘कामदार भिसा बाहेकका सबैलाई वैदेशिक मुद्रा सटही गर्दा भ्रमण प्रायोजन भनेर गणना हुन्छ यसमा सभा समारोह लगायतका कार्यक्रममा जाँदा लिएको डलर खर्च नभएर फिर्ता आउँदा त्यसको हिसाब हुँदैन’ उनले भने, ‘घुम्नकै लागि भनेर जानेहरूको खर्च त्यो नहुन पनि सक्छ ।’ तर, विदेशी मुद्रा बाहिरिएको कुरा भने सत्य भएको उनको भनाइ छ ।

पढाइमा खर्चिए २२ अर्ब

नेपालीले पढाइका लागि भन्दै करिब सबा २२ अर्ब रुपैयाँ खर्च गरेका छन् । आर्थिक वर्षको सुरुवाती ५ महिनामा नेपालीले पढ्नका लागि अर्थात् अध्ययनका लागि २२ अर्ब १३ करोड रुपैयाँ विदेशी मुद्रा सटही गरेर लगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपालीहरू अस्ट्रेलिया, अमेरिका, जापान, क्यानाडा लगायतका मुलुकमा पढ्न जानेका गरेका छन् । उनीहरूको अध्ययनका लागि नेपालबाट अभिभावकले यति ठूलो रकम खर्च गरेका हुन् । अन्य शीर्षकमा १५ अर्ब ४३ करोड बाहिरिएको छ भने त्यसमा २ अर्ब २८ करोड सरकारले खर्च गरेको छ । विदेशी नियोगको खर्च तथा सरकारी भ्रमणमा यो रकम खर्च भएको हो । वस्तु व्यापारमा यसै पनि घाटामा रहेको नेपाल पछिल्लो समय सेवा व्यापारमा पनि घाटामा गएको छ । चालु वर्षको पाँच महिनामा यस्तो घाटा ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया