भारतद्वारा अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई तालिम

काठमाडौं । भारत सरकारले नेपालको अर्थ मन्त्रालयका कर्मचारीलाई सार्वजनिक वित्तीय व्यवस्थापनमा विश्वव्यापी परिप्रेक्ष्य विषयमा विशेष तालिम दिएको छ । अर्थ मन्त्रालयको अनुरोधमा भारतले नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत मन्त्रालयका ६२ कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरेको हो ।

अर्थ मन्त्रालयको आवश्यकता अनुरूप तयार पारिएको यो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्टस् एन्ड फाइनान्स (आइएनजिएफ) मा भइरहेको छ । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण-अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरूमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरूको क्षमता अभिवृद्धि गरिने भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो तालिम ३ ब्याचमा सञ्चालन गरिने बताइएको छ । प्रथम ब्याचका २० नेपाली कर्मचारीहरूले सोमबारदेखि नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्टस् एन्ड फाइनान्समा तालिम लिइरहेका छन् ।

आइएनजिएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाइ सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत मित्र राष्ट्रहरूका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने साझेदार संस्था पनि हो । विश्वव्यापी कार्यक्रमका अतिरिक्त उसले छिमेकी राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंकाका कर्मचारीहरूलाई पनि विशेष तालिम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया