परमाणु वार्ता आरम्भ

मस्को : विश्वका पाँच शक्तिराष्ट्र र इरानबीचको बहुप्रतिक्षित परमाणु वार्ता सोमबारदेखि रुसको राजधानी मस्कोमा आरम्भ भएको छ । वार्ता मंगलबारसम्म चल्नेछ ।
वार्तालाई परिणाममुखी बनाउन सक्दो प्रयास गरिने शक्ति राष्ट्रहरूले जनाएका छन् । इरानको पारमाणविक विवाद समाधानका लागि यसअघिका वार्तामा प्रस्ताव गरिएको पाँच बुँदे समाधानका उपायमा सहमति खोज्न प्रयास गरिने शक्तिराष्ट्रहरूले उल्लेख गरेका छन् । यसै महिनाको आरम्भमा इराकको राजधानी बगदादमा यस्तै वार्ता भएको थियो ।
अमेरिका र उसका साझेदार राष्ट्रले इरानमा जारी पारमाणविक गतिविधि आमविनाशकारी परमाणु हतियार उत्पादन गर्नेतर्फ लक्षित रहेको आरोप लगाउने गरेका छन् । तर, इरानले आरोपको खण्डन गर्दै ऊर्जा र उपचार प्रयोजनका लागि परमाणु भट्टी सञ्चालन गरिएको दाबी गर्दै आएको छ । इरानले परमाणु महत्वाकांक्षा नत्यागेको भन्दै पश्चिमी राष्ट्रहरूले इरानविरुद्ध नाकाबन्दी लगाएका छन् ।
यसैबीच, इरानका विदेशमन्त्री अली अकबर सलेहीले पारमाणविक अधिकारबाट वञ्चित हुने अवस्था आफूहरूका लागि स्वीकार्य नहुने प्रस्ट पारेका छन् । पारमाणविक विकासप्रति इरान प्रतिबद्ध रहेको उनले प्रस्ट पारेका छन् । (एजेन्सी)

प्रतिक्रिया