उदयपुर । चौदण्डी गढी नगरपालिकामा बृहत् रूपमा आलुखेती सञ्चालन भएको छ । नगरपालिकाका विभिन्न वडाका झण्डै ५ सय भन्दा बढी कृषकले चौदण्डी नगरपालिकाको सहयोगमा यसपटक ९० टन आलुको बिउ प्रयोग गरेर बृहत् आलु खेती सुरु गरेको चौदण्डी नगरपालिकाले बताएको छ । चौदण्डीको वडा नम्बर ३ को हँडिया क्षेत्र, सुन्दरपुर, वडा नम्बर ५ को बसाहा तथा सुधारे, शरिबारे, बेल्टार रानीवास, भिमाहा र ज्यामिरे क्षेत्रमा नगरपालिकाले आलु खेतीको लागि यसपटक २० लाख लगानी गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए ।
कृषकले नगरमा हजार टनसम्म आलु उत्पादन गर्ने लक्ष्य रहेको समेत प्रमुख राईले बताए । नगरका कृषक र जनतालाई बाहिरी तरकारी आयात कम गरेर नगरलाई तरकारी आत्मनिर्भर बनाउन नगरपालिकाले ५० प्रतिशत आर्थिक अनुदान र ५० प्रतिशत कृषकको लगानीका बृहत् आलुखेती सुरु गरेको नगरपालिकाले बताएको छ । चौदण्डी–३ हँडियाका एक आलु उत्पादक कृषक दुर्गानन्द चौधरी भने, ‘नगरपालिकाले ५० प्रतिशत आलु उत्पादनको लागि आर्थिक अनुुदान दिएको र कृषकलाई आलु उत्पादन गर्न प्रोत्साहन गरेपछि यस क्षेत्रका सबै कृषक आलु खेतीमा लागेका छौँ, आलु उत्पादन राम्रो हुने अपेक्षा छ ।’
उत्पादित आलु खरिद तथा बिक्रीको लागि पनि नगरपालिकाले सहयोग तथा पहल गर्ने भएपछि यस क्षेत्रका कृषक बृहत् आलुखेतीतर्फ आकर्षित भएका हुन् । नगर अधिकृत तारामणि राईका अनुसार नगरपालिकालाई आलु क्षेत्र तथा तरकारी क्षेत्र बनाएर अब तरकारीमा आत्मनिर्भर बनाउन यो अभियान चलाएको अधिकृत राईले बताए ।
प्रतिक्रिया