केबी बस्नेत
साधारणतया आयातको वृद्धिदर बढ्नु र निर्यातको वृद्धिदर घट्नु नै व्यापार घाटाको अवस्था हो । उत्पादन कम र खपत अत्यधिक भएकोले हाम्रो मुलुकमा व्यापार घाटा बढिरहेको छ । नेपालले प्रत्येक वर्ष झण्डै एक आर्थिक वर्षको कुल बजेट बराबरको व्यापार घाटा व्यहोर्नुपरेको छ ।
विप्रेषणबाट दैनिक सरदर २ अर्ब रूपैयाँ भित्रिए पनि उक्त रकमले व्यापार घाटा थेग्न सकेको छैन । तीव्र गतिमा बढिरहेको आयातको कारण शोधनान्तर स्थिति पनि ऋणात्मक भएको छ । गएको आर्थिक वर्ष आयातको हिस्सा ९३ दशमालव ९ प्रतिशत र निर्यातको हिस्सा ६ दशमलव १ प्रतिशत रहेको तथ्यांक छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले बढेको छ । उक्त प्रतिवेदनअनुसार असोज मसान्तसम्म व्यापार घाटा बढेर ३ खर्ब ४९ अर्ब ८४ करोड रूपैयाँ पुगेको छ । यस अवधिमा कुल वस्तु आयात ४३ दशमलव ६ प्रतिशतले बढेर ३ खर्ब ७३ अर्ब ७९ करोड रूपैयाँ पुगेको छ । उक्त अवधिमा भारतबाट ४० दशमलव ८ प्रतिशत, चीनबाट ४५ दशमलव ९ प्रतिशत र अन्य मुलुकहरूबाट ५० दशमलव ५ प्रतिशतले आयात बढेको छ ।
चालु आवको तीन महिनामा कुल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले बढेर २३ खर्ब ८४ करोड पुगेको छ । जसमध्ये भारतमा २० दशमलव २ प्रतिशत, चीनमा १४ दशमलव ४ प्रतिशत र अन्य मुलुकहरूमा ११ दशमलव २ प्रतिशत छ । पाइप र आल्मुनियमका वस्तुहरूको निर्यात घटेको छ । यो तथ्यांकले आयात र निर्यातबीच निकै असमानता भएको इंगित गर्दछ ।
व्यापार घाटा न्यून गर्न निकासिका सम्भावना भएका वस्तुहरूको उत्पादन तथा बजार विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्छ । कृषि तथा वनजन्य वस्तुहरूको उत्पादन तथा प्रशोधनका लागि आवश्यक, औजार, कच्चापदार्थ तथा अन्य सामग्रीहरू पैठारी गर्न इच्छुक निकासीकर्ताहरूलाई सुविधा उपलब्ध गराएमा निकासी अभिवृद्धि गर्न सहयोग हुनेछ । यति मात्र होइन, निकासी गर्न तोकिएका कृषि तथा वनजन्य वस्तुहरूको उत्पादनका लागि जग्गा, बिउबिजन, मल र सिँचाइको व्यवस्था गर्न सहुलियतदरमा ऋण प्रदान गर्नुपर्छ ।
पछिल्लो समयमा धेरै मूल्य प्राप्त हुने तर चाँडै सड्ने कृषिजन्य वस्तुहरू पनि प्रचुर मात्रामा निकासी हुन थालेका छन् । यस्ता वस्तुहरूको निकासीकर्तालाई प्रोत्साहन दिन उचित स्थानमा अत्याधुनिक शीत गोदामको व्यवस्था गर्नु जरुरी छ । यसका लागि निजी क्षेत्रलाई विशेष सुविधा दिई प्रोत्साहन दिन उपयुक्त हुन्छ । निकासीकर्ताहरूलाई तोकिएका बाली भित्र्याइ तिनका सुरक्षा, प्रशोधन, प्याकिङ र ढुवानी आदि कार्यसम्बन्धी सूचना, जानकारी तालिम र विभिन्न देशमा आयोजना गरिने अन्तर्राष्ट्रिय कृषिसम्बन्धी भेलाहरूमा सहयोग गरेमा निकासी प्रवद्र्धन गर्न सकिन्छ ।
विगतमा नेपालले बाह्य कृषि मेलाहरूमा सक्रिय रूपले भाग लिएको पाइँदैन । त्यसैले, आउँदा वर्षहरूमा उक्त मेलाहरूमा निकासी योग्य वस्तुहरू प्रदर्शन गरेमा निकासी व्यापारमा सकारात्मक प्रभाव पर्न सक्छ । हस्तकला तथा घरेलु उद्योगका सामानहरूले नेपालको निकासी व्यापारमा महत्वपूर्ण स्थान ओगटेको छ ।
सुनचाँदीका गहना, ढाका कपडाका सामान, ऊनीका सामान, लोक्ताका कागज एवं सामान, काठ तथा माटाका सामानलाई प्राथमिकता दिई थप निकासीका लागि प्रवद्र्धन गर्नु जरुरी छ । वर्तमान सन्दर्भमा हस्तकला तथा घरेलु उद्योगको सामानहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन निकासी गर्दा लाग्ने ढुवानी भाडामा सहुलियत दिन जरुरी छ । जसरी यहाँबाट निकासी गरिने सुनचाँदीका गहनाका लागि गुणस्तर सुधारका लागि आधुनिक प्रविधिको आवश्यकता छ त्यसरी नै आवश्यक औजारको पैठारी एवं तालिम प्रदान गर्न उत्तिकै जरुरी छ ।
ऊनीका सामानहरूको गुणस्तर सुधार गर्ने, ऊन पैठारी गर्ने र धागो बनाइ सम्बन्धित व्यक्तिहरूलाई बिक्री गर्ने उद्यमीहरूलाई कच्चा ऊन ढुवानी गर्दा लाग्ने भाडामा केही सहुलियत प्रदान गर्न आवश्यक छ । पछिल्लो समयमा लोक्ता कागजको माग विदेशमा निकै बढेको छ । लोक्ता उत्पादन गर्न इच्छुक व्यक्तिहरूलाई लिजमा जग्गा उपलब्ध गराइदिनु आवश्यक छ । निकासी योग्य सामानहरूको सूची तयार गरी वेबसाइटमा राखेमा पनि निर्यात प्रवद्र्धनमा केही योगदान पुग्न सक्छ । निर्यातजन्य वस्तुको पहिचान, प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि व्यापार घाटा बढेको सरोकारवालाहरूको भनाइ छ । त्यसैले, यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।
प्रत्येकवर्ष बढिरहेको व्यापार घाटा न्यून गर्न रणनीतिक योजनाको आवश्यकता छ । निर्यात व्यापार अभिवृद्धि गर्न वस्तुको उत्पादन बढाउन जरुरी छ जसका लागि वर्तमान करको दर न्यून गर्न आवश्यक छ । एकातर्फ उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी कानुनी व्यवस्थाको सुनिश्चितता कायम गर्न आवश्यक छ भने अर्काेतर्फ आन्तरिक व्यापार स्वच्छ, प्रतिस्पर्धी र नियमित गर्न पनि उत्तिकै जरुरी छ । सुख्खा बन्दरगाहको विस्तार एवं स्तरीय सामानहरूको उत्पादनका लागि गुणस्तर विकास कार्यक्रमहरू सञ्चालन गर्न उचित देखिन्छ । यथेष्ट मात्रामा निकासीयोग्य सामानहरूको उत्पादन गर्न नसक्दा व्यापार घाटा प्रत्येकवर्ष बढ्दै गएको हो । केही वर्ष यता यहाँबाट निकासी गरिँदै आएका फलाम र फलामका वस्तुहरू, धागो, ऊनी, गलैँचा, तयारी पोसाक, जुटका सामान, पश्मिनाका सामान, तामाका सामान, चिया, मन्जन र छाला आदिको निकासी अभिवृद्धिको क्रमजारी गर्न निकासीकर्ताहरूलाई विना धितो ऋण दिने व्यवस्था गर्नुपर्छ ।
विदेशमा प्रशस्त माग भएका र सहज तरिकाबाट बजार पाउन सकिने भनी पहिचान गरिएका कृषिजन्य वस्तुहरूका लागि सम्बन्धित जिल्लाहरूलाई उक्त वस्तुहरूको निकासी योग्य जिल्ला भनी घोषणा गर्न उचित हुन्छ । विभिन्न निकासी योग्य वस्तुहरूको उत्पादन तथा प्रशोधनमा योगदान पु¥याएका अन्य जिल्लाहरूलाई निकासी जिल्लाको रूपमा घोषणा गरी निकासी प्रवद्र्धनमा विशेष जोड दिन जरुरी छ । निर्यात कर्ताहरूले आआफ्ना कार्यालयहरू विदेशमा खोल्न चाहेमा अनुमति र कार्यालय सञ्चालनका लागि निर्यातबाट आर्जन गरेको रकमबाट केही प्रतिशत विदेशी विनिमय सटही सुविधा प्राप्त गरी कार्यालय सञ्चालन गर्ने स्वीकृति दिनु उचित हुन्छ ।
नेपाल औद्योगिक क्षेत्रमा निकै पछाडि भए पनि यहाँका हस्तकलाका सामानहरूको विदेशमा निकै माग छ । यी सामानहरूमध्ये धातुबाट बनेका मूर्ति तथा गहनाहरू अग्र स्थानमा छन् भने अल्लो, सिस्नो र बाँसबाट बनेका कपडाको निकै माग छ । परन्तु, केही वर्ष यता यहाँका युवाहरू रोजगारीका लागि खाडी मुलकहरूमा जाने प्रवृत्ति बढेकोले हस्तकलाका सामानहरू उत्पादन गर्न कठिन भएको छ । केही ठाउँमा त उक्त सामानहरू उत्पादन गर्न विदेशी कालीगढहरू बोलाउने अवस्था पनि सिर्जना भएको छ । जबसम्म आन्तरिक उत्पादन वृद्धि गरी निर्यात बढाइँदैन, तबसम्म व्यापार घाटा कम हुँदैन । त्यसैले, सरकारले वित्तीय सन्तुलनसम्बन्धी नीतिनियमहरू बनाइ कार्यान्वयन गर्नुपर्छ ।
प्रतिक्रिया